नेपालको धार्मिक सांस्कृतिक नगरी जनकपुरधाम र भारतको धार्मिक नगरी अयोध्याधामसम्म रेल सेवा सञ्चालन हुने भएको छ ।
जनकपुरधामदेखि अयोध्याधाम क्यान्टसम्म साप्ताहिक एक्सप्रेस रेल सेवा सञ्चालनका लागि भारतीय रेल मन्त्रालयले स्वीकृति प्रदान गरेसंगै रेल सञ्चालन हुने भएको छ । भारतको रेल मन्त्रालयले नोभेम्बर १४ मा सार्वजनिक गरेको जानकारी अनुसार रेल सेवा सातामा एक दिन सञ्चालन हुने बताइएको छ ।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने सो रेल सेवाले माता जानकीको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रेलमार्गबाट जोड्ने भएको छ । स्वीकृत समयतालिका अनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८ बजेर १० मिनेटमा अयोध्याधामको क्यान्ट पुग्नेछ । त्यसैगरी, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्या क्यान्टबाट प्रस्थान गरी मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा जनकपुरधाम आइपुग्ने जनाइएको छ ।
रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख शहर तथा स्टेसन हुँदै यात्रा गर्नेछ । यस क्रममा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहने भारतीय रेल मन्त्रालयले जनाएको छ । जनकपुरधामलाई माता सीताको जन्मभूमि तथा अयोध्यालाई भगवान् श्रीरामको जन्मभूमिका रूपमा लिइन्छ । यी दुई धार्मिक नगरीबीच सिधा रेल सम्पर्क स्थापित हुनुले रामायण सर्किट अन्तर्गत धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

