२०८३ मंसिर ४, शुक्रवार ०७:२६

प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि जनकपुरधाममा शुरु भएको छ ।

सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्यान मधेश प्रदेशका अध्यक्ष संजयकुमार झाले जानकारी दिएका छन् । जनकपुरधाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झाले शिक्षा क्षेत्रको नीतिगत सुधार, विद्यालय नेतृत्व विकास तथा नवप्रवर्तनलाई केन्द्रमा राखेर सम्मेलन आयोजना गरिएको बताए ।

सम्मेलनमा देशभरका विद्यालय प्रमुख, शिक्षाविद्, नीति निर्माता, सांसद तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । ‘हामी सबै मिलेर उत्कृष्ट विद्यालय निर्माण गरौँ’ भन्ने मूल नारासहित आयोजना गरिएको सम्मेलनले नेपालको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक नेतृत्व सुदृढीकरण र प्रविधिमैत्री शिक्षण प्रणालीको विकासका विषयमा छलफल गर्ने लक्ष्य लिएको छ । सो सम्मेलनको दोस्रो दिन शनिबार नीतिगत सुधार, नेतृत्व विकास र नवप्रवर्तनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।

कार्यक्रममा ‘नीतिगत सुधारमार्फत उत्कृष्ट विद्यालय निर्माणÚ विषयमा राष्ट्रिय संसदीय गोलमेच छलफल आयोजना गरिनेछ । छलफलमा विभिन्न राजनीतिक दलका सांसद तथा शिक्षाविद्हरू सहभागी हुनेछन् । डा. विद्यानाथ कोइराला, डा. महाश्रम शर्मा र डा. प्रीति मण्डलले छलफलको सहजीकरण गर्नेछन् । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झाले ‘उत्कृष्ट विद्यालयका लागि राष्ट्रिय दृष्टिकोण’ विषयमा प्रस्तुति दिनेछन् ।

यस सत्रमा विद्यालय शिक्षाको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे विमर्श हुनेछ । त्यसपछि आठवटा विषयगत समानान्तर सत्र सञ्चालन गरिनेछन् । विद्यालय सुरक्षा, जलवायुमैत्री शिक्षा, नेतृत्व विकास, कृत्रिम बुद्धिमत्ताको प्रयोग, आधारभूत गणित तथा साक्षरता सुधार, विद्यार्थी सहभागिता, डिजिटल कक्षाकोठा, रोबोटिक्स र विपद् व्यवस्थापनलगायत विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । सत्रहरूमा युनेस्को, जाइका, अमेरिकी दूतावासको क्षेत्रीय अंग्रेजी भाषा कार्यालयलगायत संस्थाका प्रतिनिधि तथा विभिन्न शिक्षाविद् र प्राविधिक विज्ञहरूको सहभागिता रहने उनले जनाए ।

सार्वजनिक र निजी विद्यालयबीच सहकार्य तथा अनुभव आदानप्रदानका लागि विशेष गोलमेच छलफलसमेत आयोजना गरिनेछ । शनिबार दिउँसो सम्मेलनको समापन सत्रपछि प्यानको राष्ट्रिय परिषद् बैठक बस्नेछ। बैठकमा संगठनको भावी रणनीति, नीतिगत प्राथमिकता, कार्ययोजना तथा संस्थागत सुदृढीकरणबारे छलफल हुनेछ । सम्मेलनको अन्तिम दिन आइतबार ‘जनकपुर घोषणापत्र’ सार्वजनिक गरिनेछ। घोषणापत्रमा विद्यालय शिक्षा सुधारका लागि सामूहिक प्रतिबद्धता, नीतिगत सुझाव र कार्यान्वयनयोग्य प्राथमिकता समेटिने प्यान मधेश प्रदेशका अध्यक्षका झाले बताए ।

Comment

Related News

Latest News

Trending News