मिथिला–मधेशका गाउँबस्तीमा छठ पर्वसँगै सामा–चकेवाको रौनक अहिले देख्न सकिन्छ । साँझ पर्नासाथ हातमा रंगीचंगी माटोको विभिन्न आकृति राखिएको बाँसको डाला र त्यसमा बलिरहेको दियो बोकेर महिला तथा किशोरीहरू समूहमा भेला हुन्छन् । उनीहरूको सामूहिक स्वरमा गुञ्जिने मैथिली लोकगीतले गाउँबस्तीलाई उल्लासमय बनाउँछ । दाजुभाइप्रतिको माया, दिदीबहिनीबीचको आत्मीयता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मिथिलाको सांस्कृतिक परम्पराको जीवन्त अभिव्यक्ति हो, सामा–चकेवा ।
मिथिलाञ्चलमा कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने यो पर्व धार्मिक अनुष्ठान मात्र नभइ प्रेम, समर्पण, त्याग र पारिवारिक सम्बन्धमा आधारित विशिष्ट लोक परम्परा हो । यस अवधिमा दिदीबहिनी, छोरीबुहारी तथा किशोरीहरू राति समूहमा भेला भएर दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै परम्परागत गीत गाउँछन् । पर्वको पहिलो दिन दाजुभाइको हातबाट माटो खनेर ल्याउने परम्परा रहिआएको छ । त्यही माटोबाट सामा, चकेवा, चुगला, सतभइया, वनतितर, झाँझी कुकुर, ढोलिया, भरिया, खजंचिडैया, मलिनियाँ र वृन्दावनलगायत पात्रका आकृति बनाइन्छन् । ती आकृति सुकाएर रङरोगन गरेपछि बाँसको डालामा सजाइएको छ ।
राति दियो बालेर गाउँका चौक, चौराहा र सार्वजनिक स्थानमा लगिन्छ । त्यसपछि गीत, संगीत, नृत्य र संवादमार्फत माटाका पात्रलाई जीवन्त बनाइन्छ । यस पर्वको विशेषता मानिसले अभिनय गर्नुको सट्टा माटाका आकृतिलाई पात्र बनाएर कथा प्रस्तुत गर्नु हो । सामा स्त्री पात्र र चकेवा पुरुष पात्र हुन् । मिथिला–मधेशको समाजमा चुग्ली गरेर सम्बन्ध बिगार्ने प्रवृत्तिलाई चुगलाले प्रतिनिधित्व गर्छ भने वृन्दावनले प्रकृति र वनसँगको सम्बन्ध उजागर गर्छ । महिलाहरूले गीतको भाव अनुसार पात्रलाई चलायमान बनाउँदै कथा प्रस्तुत गर्छन् । कतिपय प्रसंगमा चुगलाको मुख पोल्ने र वृन्दावनमा आगो लगाउने अभिनयसमेत गरिन्छ ।
‘गामके अधिकारी तोहे बरका भैया हो’ र ‘सामचको सामचको अइहा हो’ जस्ता लोकगीतमा पारिवारिक सम्बन्ध, सामाजिक जीवन र प्रकृतिप्रतिको आत्मीयता अभिव्यक्त हुन्छ । पर्वको अन्तिम दिन विसर्जनका क्रममा गाइने ‘समदाउनी’ गीत विशेष भावुक मानिन्छ । यसमा सामालाई अर्को वर्ष पुनः आउने निम्तोसहित बिदाइ गरिन्छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का धार्मिक अगुवा सुमित मिश्रले जनाए अनुसार पूर्णिमाको दिन बिहान माटाका आकृतिलाई पुनः रङरोगन गरिन्छ ।
साँझ दहीचिउरा खुवाएर दाजुभाइबाट सामा– चकेवाका आकृति फुटाउन लगाइन्छ । त्यसपछि बाजागाजा र गीतसहित गाउँबाहिर खेत वा जलाशयमा लगेर विसर्जन गरिन्छ । दाजुभाइलाई दहीचिउरा तथा पकवान खुवाएर उनीहरूको दीर्घायु र समृद्धिको कामना गरिन्छ । मैथिली संस्कृतिका जानकार प्राध्यापक श्यामसुन्दर शशिका अनुसार प्रचलित पौराणिक कथामा सामा अर्थात् श्यामा भगवान् कृष्णकी छोरी थिइन् । चुगलाको गलत सूचनाका कारण कृष्णले उनलाई चराको रूप धारण गर्ने श्राप दिएका थिए । बहिनीको उद्धारका लागि दाजु साम्बले कठोर तपस्या गरेपछि कार्तिक पूर्णिमाका दिन उनले पुनः मानव रूप प्राप्त गरेको लोक विश्वास छ । यस कथाले दाजुभाइको सहयोग, दिदीबहिनीप्रतिको माया र पति–पत्नीबीचको समर्पणलाई जोडेको छ ।
सामाजिक अगुवा वीरन्ेद्र कर्णका अनुसार सामा–चकेवाका गीतमा मिथिलाको सामाजिक जीवन, पारिवारिक सम्बन्ध, प्रकृति, प्रेम र मानवीय संवेदना प्रतिबिम्बित हुन्छन् । मौखिक परम्परामार्फत पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका यी गीतले मिथिलाको भाषा र सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेका छन् । मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायत तराई–मधेश–मिथिलासंगै भारतीय सीमावर्ती क्षेत्रको भारत बिहारको सीतामढी, मधुबनी, दरभंगा र मुजफ्फरपुर समेतमा पनि सामाचकेवा पर्व परापूर्वकालदेखि नै मनाइँदै आएको छ । यसले महिला तथा किशोरीलाई सामूहिक सहभागिता, सिर्जनशीलता र सांस्कृतिक अभिव्यक्तिको माध्यमबाट आ–आफ्नो दाजुभाईको दीर्घायू, सुख, समृद्धसंगै स्वास्थ्य लाभको कामना गर्ने धार्मिक परम्परा रहिआएको छ ।
आधुनिकताको प्रभावले मौलिक लोकगीत र परम्परागत अभ्यास ओझेलमा पर्न सक्ने अवस्थामा यसको संरक्षण आवश्यक देखिएको छ । यही उद्देश्यले मैथिली विकास कोषले पछिल्ला वर्षदेखि सामा–चकेवा महोत्सव आयोजना गर्दै आएको छ । यस वर्ष मङ्सिर ५ गतेदेखि जानकी मन्दिर प्रांगणमा सामा–चकेवा प्रतियोगिता आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिएका छन् । सामा–चकेवा केवल माटाका आकृति सजाउने पर्व नभइ मिथिलाको मौलिक लोककला, महिला सिर्जनशीलता र पारिवारिक एकताको जीवन्त दस्तावेज हो । नयाँ पुस्तालाई यसको मौलिकता र महत्वबारे परिचित गराउँदै संरक्षण गर्न सके मिथिलाको यो अमूल्य सांस्कृतिक सम्पदा आगामी पुस्तासम्म हस्तान्तरण गर्न सकिनेछ ।

