२०८३ मंसिर ५, शनिवार ०७:३५

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा समाप्त भए पनि कुनै पनि राजनीतिक दलले मुख्यमन्त्री पदमा दाबी पेस गर्न नसकेपछि सरकार गठन प्रक्रिया अन्योलमा परेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले प्रदेश प्रमुखको कार्यालय पुगेर सरकार गठनका लागि थप समय उपलब्ध गराउन आग्रह गरेका छन् । त्यसलगत्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले भने संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनको प्रक्रिया समाप्त भइसकेकाले उपधारा (३) अनुसार अघि बढ्न दबाब दिएका छन् ।

दुवै पक्षका फरक–फरक मागपछि प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमेत निर्णयमा पुग्न सकेका छैनन् । संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर सरकार गठनका लागि प्रदेश प्रमुख कर्णले दिएको सात दिनको समय शुक्रबार अपराह्न ४ बजे समाप्त भएको छ । निर्धारित समयभित्र दलहरूबीच सत्ता समीकरणमा सहमति जुट्न नसकेपछि नयाँ सरकार गठन प्रक्रिया थप जटिल बनेको छ ।

आवश्यक बहुमत जुटाउने प्रयास जारी रहे पनि अन्तिम समयसम्म कुनै पनि दलले मुख्यमन्त्रीमा दाबी पेश गर्न सकेनन् । समयसीमा समाप्त भएपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । उनीहरूले सरकार गठनका लागि आवश्यक राजनीतिक सहमति जुटाउन थप केही दिन समय उपलब्ध गराउन आग्रह गर्दै संयुक्त निवेदन दिएका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता युवराज भट्टराईसहितका नेताहरूले राजनीतिक सहमतिका लागि थप समय आवश्यक रहेको बताएका छन् । कांग्रेस संसदीय दलका नेता यादवले जनाए अनुसार प्रदेश प्रमुखले दिएको सात दिनको समयमध्ये चाडपर्व र एमालेको महाधिवेशनका कारण दलहरूबीच पर्याप्त छलफल हुन सकेन । तीन दलका करिब ६१ जना प्रदेशसभा सदस्यको प्रतिनिधित्व गर्ने नेताहरूले सहमति जुटाउन केही दिन समय थप गर्न आग्रह गरेका छन् ।

विभिन्न राजनीतिक पक्षसँग छलफल भइरहे पनि सरकार गठनबारे ठोस निष्कर्षमा पुग्न नसकिएको यादवले बताए । थप समय दिने वा नदिने निर्णय प्रदेश प्रमुखको अधिकारक्षेत्रमा रहेको उनको भनाइ छ । तीन दलका नेताहरू प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएलगत्तै जसपा नेपालका नेताहरू पनि प्रदेश प्रमुख कर्णलाई भेट्न पुगेका थिए । भेटका क्रममा मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालले थप समय दिनुभन्दा संविधानको धारा १६८ को उपधारा (३) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका जसपा नेपालका वरिष्ठ उपाध्यक्ष लालबाबु राउतले उपधारा (२) अनुसार सरकार गठनका लागि दिइएको समय समाप्त भइसकेकाले अब स्वतः उपधारा (३) अनुसार प्रक्रिया अघि बढ्नुपर्ने दाबी गरे । उनले प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका रूपमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग आग्रह गरेका छन् । समयसीमा समाप्त भइसकेपछि पुनः उपधारा (२) अनुसार समय थप गर्नु उपयुक्त नहुने जिकिर गर्दै राउतले संविधानको व्यवस्थाअनुसार नै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताए । कांग्रेस, एमाले र नेकपाले थप समय माग्नु तथा जसपा नेपालले उपधारा (३) अनुसार प्रक्रिया अघि बढाउन दबाब दिनुले प्रदेश प्रमुख डा. कर्णमाथि निर्णय लिन थप चुनौती थपिएको छ । दुबै पक्षका आ–आफ्नै अडानका कारण प्रदेश प्रमुखको कार्यालयसमेत तत्काल के गर्ने भन्ने विषयमा अनिर्णित बनेको छ ।

Comment

Related News

Latest News

Trending News