२०८३ मंसिर ५, शनिवार ०७:४५

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पुनः सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । मधेशका नेताहरूको चौतर्फी दबाबपछि आफूले सभापतिमा उम्मेदवारी दिन तयारी गरेको उनले बताएका छन् ।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले आफूहरू नै वास्तविक कांग्रेस र पार्टीको विधानअनुसार चल्ने पक्षधर रहेको दाबी गर्दै उनले कथित महाधिवेशन पार्टी विधानविपरीत रहेको टिप्पणी गर्दै आफूहरू विधानसम्मत प्रक्रियाबाटै महाधिवेशन गर्ने तयारीमा रहेको स्पष्ट पारे । वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशन सम्पन्न गरेर मात्रै पार्टीको महाधिवेशनमा सहभागी हुने उनको भनाइ थियो । मधेश प्रदेशको अधिवेशन तयारीका लागि आठवटै जिल्लाका नेता तथा कार्यकर्ताहरूको सहभागितामा बर्दिवासमा बैठक गर्न लागिएको समेत उनले बताए ।

निधिले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना हुने जानकारी दिए । महाधिवेशनको उद्घाटन काठमाडौंको टुँडिखेलमा र निर्वाचनसम्बन्धी कार्यक्रम राष्ट्रिय सभागृहमा सञ्चालन हुने बताए । तीन दिनसम्म चल्ने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको उनको भनाइ छ ।

महाधिवेशनलाई लक्षित गर्दै पार्टीले वडा, क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गरी प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाएको छ । निधिका अनुसार देशका १६५ निर्वाचन क्षेत्रमध्ये १४४ क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ भने ७७ जिल्लामध्ये ५२ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । बाँकी क्षेत्रमा पनि अधिवेशनको प्रक्रिया जारी रहेको उनले बताए ।

पत्रकार सम्मेलनमार्फत निधिले सातै प्रदेशको अधिवेशन तालिकासमेत सार्वजनिक गरेका छन् । जसअनुसार गण्डकी प्रदेशको मंसिर ५ गते पोखरा, लुम्बिनीको ७ गते दाङको भालुवाङ, कर्णालीको १३ गते सुर्खेत र मधेश प्रदेशको १४ गते जनकपुरधाममा अधिवेशन हुनेछ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको मंसिर १५ गते धनगढी, कोशी प्रदेशको १७ गते विराटनगर र बागमती प्रदेशको १९ गते काठमाडौंमा अधिवेशन आयोजना गरिनेछ । मधेश प्रदेश अधिवेशनको तयारीलाई व्यवस्थित बनाउन बर्दिबासमा प्रदेशका आठै जिल्लाका जिल्ला सभापति, ३२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधि तथा केन्द्रीय पदाधिकारी र सदस्यहरूको बैठक बस्ने उनले बताए ।

मधेश प्रदेशका संयोजक पद्मनारायण चौधरीसहित नेताहरूको सहभागितामा हुने बैठकले अधिवेशनको तयारी र व्यवस्थापनबारे समीक्षा गर्नेछ । निधिले पार्टीको विधान, देशको कानुन र संगठनात्मक परम्पराअनुसार वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशन सम्पन्न गरेर मात्रै राष्ट्रिय महाधिवेशनमा सहभागी हुने स्पष्ट पारे ।

यसैबीच, नेता निधिले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप प्रगाढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै भ्रमणका क्रममा तय गरिएका सबै उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे । जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने पहललाई सकारात्मक र महत्त् वपूर्ण कदमको संज्ञा दिँदै निधिले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

Comment

Related News

Latest News

Trending News