२०८३ मंसिर ५, शनिवार ०८:११

पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको शैक्षिक अवस्था बहुदल आएपछि बिग्रेको बताएका छन् । उनले अब खस्किँदो शैक्षिक अवस्था सुधार गर्न स्थानीय तह, विद्यालय र समुदायले अभिभावकीय जिम्मेवारी लिनुपर्ने बताए ।

शुक्रबार जनकपुरधाममा आयोजित प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) को केन्द्रीय अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् । उनले विगतमा शिक्षा समुदायको स्वामित्व र प्रत्यक्ष निगरानीमा रहेकाले विद्यालयप्रति स्थानीय समुदायको अपनत्व र जिम्मेवारी बढी हुने गरेको स्मरण गर्दै भने देशमा बहुदल आएदेखि जिम्मेवारी सरकारको नियन्त्रणमा गएपछि शिक्षाको गुणस्तर क्रमशः खस्किँदै गएको हो ।

‘पहिले समुदायको हातमा शिक्षा थियो । जबदेखि शिक्षालाई सरकारले आफ्नो हातमा लियो, त्यही बेलादेखि शिक्षा बरबाद हुन सुरु भयो,’ उनले भने, ‘अब शिक्षाको बागडोर सम्बन्धित स्थानीय सरकारले लिनुपर्छ । विद्यालयका प्रधानाध्यापकले पनि आफ्नो जिम्मेवारी पूरा गरे मात्र मधेशको शिक्षाको अवस्था सुधार गर्न सकिन्छ ।’ पूर्वराष्ट्रपति यादवले शिक्षा सुधारको प्रमुख आधार समुदायको सक्रिय सहभागिता भएको उल्लेख गर्दै स्थानीय समुदायलाई तीनै तहका सरकारले आवश्यक सहयोग र सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शिक्षण प्रणालीलाई प्रभावकारी बनाउन समुदायको प्रत्यक्ष भूमिका आवश्यक रहेको उनको भनाइ थियो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले आपसी समन्वय र सहकार्यका साथ विद्यालयलाई समुदायसँग जोड्न सके मात्रै विगतको गुणस्तरीय शिक्षा प्रणाली पुनःस्थापित गर्न सकिने उनले बताए । मधेशको समग्र सामाजिक तथा आर्थिक विकासका लागि शिक्षा क्षेत्रको सुधार अपरिहार्य रहेको उल्लेख गर्दै यादवले विद्यालय, शिक्षक, प्रधानाध्यापक र समुदाय सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सभामुख रामआशिष यादवले प्रदेशको खस्किएको शैक्षिक अवस्था सुधारका लागि सबैले संकल्प लिएर अघि बढनुपर्नेमा जोड दिए । उनले भने आफू एउटा सांसद भएपछि आफ्नो निर्वाचन क्षेत्रमा शैक्षिक सुधारका लागि केही प्रयास गरे । अब सभामुख भएपछि समन्वयको प्रयास गरिरहेछु । सभामुख यादवले नेपाल बाहेक अन्य राष्ट्रमा सबै सरकारी कर्मचारीभन्दा बढी तलब शिक्षकको रहेको छ । तर यहाँ त बढी तलब के शिक्षकलाई समयमा तलब पनि दिइदैन । आफू कहाँ यस्ता गुनासासहितका शिक्षकहरुको पीडा दिनहुँ आउने गरेको बताए । अष्टावक्र र राजर्षि जनक जस्ता विदुषीको यस भूमिमा खस्किदैँ गएको शिक्षाको गुणस्तर बढाउन स्थानीय तहले आफ्नो जिम्मा सम्पूर्ण जिम्मेवारी लिएर अघि बढनुपर्ने भन्दै शैक्षिक अवस्था सुधारका लागि केही टिप्सहरु उल्लेख गरे ।

Comment

Related News

Latest News

Trending News