नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।
नेकपा भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा प्रचण्डले हजारौँ घाइते–अपाङ्ग र लाखौँ जनताको तपस्याबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने कोसिस भइरहेको तथा देशलाई अर्को दुर्घटनातिर लैजाने षड्यन्त्रको गन्ध आइरहेको बताउनुभयो । यसका बिरुद्ध नयाँ सङ्कल्प र प्रतिबद्धतासहित फेरि आन्दोलित हुनुपर्ने अवस्था आएको उहाले बताउनुभयो ।
उहाले शान्ति सम्झौता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्नेहरूविरुद्ध जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको र ”राष्ट्रिय जागरण अभियान’ त्यसैको तयारी भएको उल्लेख गर्नुभयो ।
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राज्य संरचनालाई भ्रष्टाचारमुक्त बनाउने नयाँ अभियान सुरु गरेपनि अहिले खुलेआम भ्रष्टाचार गर्नेहरूलाई राज्यले पक्षपोषण र संरक्षण गर्ने काम गरेको आरोप लगाउनुभयो । भ्रष्टाचारविरुद्ध लड्नेहरूलाई अनेक बहाना बनाएर थुनछेक गर्ने विचित्रको प्रचलन देखा परिरहेकोप्रति उहाले चिन्ता व्यक्त गर्नुभयो ।
उहाले संवैधानिक व्यवस्था अनुसार नै स्थानीय र प्रदेश तहको निर्वाचन गर्नुपर्नै भन्दै संविधान र कानुनमा छेडखानी गरिए नेपालमा फेरि दुर्घटना हुने धारणा राख्नुभयो ।
उहाले स्थानीय निर्वाचनमा मूलभूत रूपमा विचार तथा मुद्दा मिल्ने शक्तिहरू—विशेषतः वामपन्थीहरूसँग सहकार्य गर्ने बिषयमा छलफल भइएरहेको जानकारी दिनुभयो । आगामी निर्वाचनमा माथिबाट टिका लगाएर टिकट दिनेभन्दा तल स्थानीय पालिकालाई नै निर्णय गर्न दिनुपर्ने उहाको भनाइ छ ।

