मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपाल दलका नेता यादव -बारा)लाई मुख्यमन्त्रीमा नियुक्त गरेको उल्लेख गरिएको हो । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले गत कार्तिक २९ गते प्रदेश सभामा विश्वासको मत प्राप्त गर्ने सम्भावना नदेखेपछि राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख डा.सुरेन्द्र कर्ण लाभले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आव्हान गरेका थिए । मंसिर ४ गते दिउँसो ४ बजे सम्म उनले दलहरुलाई सरकार बनाउन समय सीमा तोकेको थियो । तर निर्धारित समय भित्र कुनै दलले १६८ को उपधारा(२) बमोजिम सरकार बनाउने दावी पेश गर्न सकेनन् ।
प्रदेश प्रमुखले निर्धारण गरेको समयभित्र कुनै पनि दलले मुख्यमन्त्रीमा दाबी पेश नगरेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा -३) बमोजिम जसपा नेपाल दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश सभाको सबैभन्दा ठूलो दल रहेको हैसियतले संविधानको धारा १६८ को उपधारा(३ )बमोजिम सरकार बनाउन दावी गरेका थिए । उपधारा २ अनुसार सरकार बनाउन निर्धारित समय भित्र कुनै पनि दलले दाबी पेश गर्न नसके पनि नेपाली कांग्रेस दलका नेता कृष्ण प्रसाद यादव, एमाले दलका नेता सरोज कुमार यादव र नेपाल कम्युनिष्ट पार्टी-नेकपा) दलका नेता युवराज भट्टराईले उपधारा २ अनुसार नै सरकार बनाउन थप समय माग गरेका थिए । तर प्रदेश प्रमुखले बिभिन्न विज्ञहरुसित छलफलपछि उपधारा ३ अनुसार मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री यादवले आइतबार बिहान ११ बजे सपथग्रहण गर्ने भएका छन् । उनले आप्mनो नेतृत्वको सरकारलाई साझा स्वरुप दिने बताएका छन् । नवनियुक्त मुख्यमन्त्री यादव प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए । २०७९ साल पुस २९ गते मुख्यमन्त्री बनेका यादवले २०८१ साल जेठ २३ गते सम्म कार्यकाल चलाएका थिए । पहिलो कार्यकालमा उनी सफलतापूर्वक चार पटक विश्वासको मत लिएका थिए । तर पाँचौ पटक उनी ४ सदस्य कम भएपछि पदमुक्त भएका थिए । मधेश प्रदेशमा दुई पटक मुख्यमन्त्री बन्ने उनी एकमात्र प्रदेश सभा सदस्य हुन् । जसपा नेपालले प्रदेशमा तेस्रो पटक मुख्यमन्त्री बनाएको छ । मुख्यमन्त्री यादव बारा जिल्लाको संसदीय निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’बाट निर्वाचित भएका हुन् । उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी(राजपा) को टिकटबाट प्रदेश सभामा जितेका थिए ।
मधेश प्रदेशको उनी पहिलो पाँच वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरे । प्रदेशको नामाकारण मधेश प्रदेश र जनकपुरधाम राजधानी घोषणा गराउन उनको निर्णायक भूमिका रहेको थियो । उनी मुख्यमन्त्रीबाट हटेपछि ४ जना मुख्यमन्त्री फेरिएका छन् । प्रदेश सभाको दोस्रो कार्यकालमा उनी छैटौँ मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् । २०२८ माघ १० गते बाराको सिम्रौनगढ नगरपालिका– ३ मा जन्मेका मुख्यमन्त्री यादवका पिता परमानन्द प्रसाद यादव मधेशको अधिकारका लागि लामो समय लडेका थिए । तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिंहको नेतृत्वमा मधेश अधिकारका लागि सक्रिय थिए ।
तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा २०५४ सालमा उनी पहिलो पटक निर्वाचित भएका थिए । बारा १ बाट २०६६ सालमा उनी संविधान सभासदस्यमा निर्वाचित भएका थिए । तत्कालीन एमाले नेतृत्वको सरकारमा उनी उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका थिए । २०६८ सालमा डा.बाबुराम भटटराई नेतृत्वको सरकारमा उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए । उनले पनि राजनीतिको सुरुवात सद्भावना पार्टीबाट नै गरेका थिए ।
साझा सरकार बन्छ : जसपा नेपाल
जनता समाजवादी पार्टी(जसपा) नेपालले संविधानको धारा १६८ को उपधारा ‘३’ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा बनाएको सरकारलाई साझा स्वरुप दिने तयारी थालेको छ । जसपा नेपालका प्रवक्ता समेत रहेका प्रदेशका पूर्व मन्त्री मनिष सुमनले सरकारमा सबै दलको सहभागिता गराउने तयारी भइरहेको बताएका छन् । ‘दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउने स्थिति उत्पन्न नभएपछि जसपा नेपालले सरकार बनाउने अवसर मिलेको छ’ उनले भने, त्यसकारण सरकारमा सबै दललाई सहभागी गराएर अगाडि बढिनेछ । अर्को वर्ष प्रदेशसभाको कार्यावधि नै समाप्त हुने भएकाले सबै दललाई सरकारमा सहभागी गराउन लागिएको उनले बताए । ‘मधेश प्रदेशमा ४ वर्षमै छैठौ पटक मुख्यमन्त्री नियुक्त हुनुभएको छ’ उनले भने, अब त्यो अवस्था आउने छैन ।

