त्रेतायुगमा भगवान् श्रीराम र माता सीताबीच भएको पवित्र विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा आयोजना हुँदै आएको सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको तयारी तीव्र पारिएको छ ।
आगामी मङ्सिर २३ गतेदेखि २९ गतेसम्म आयोजना हुने यस वर्षको विवाह पञ्चमी महोत्सवलाई भव्य, सभ्य, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्ने उद्देश्यले जानकी मन्दिरले आवश्यक तयारी अघि बढाएको छ । सो महोत्सवको तयारी तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जानकी मन्दिर परिसरमा पटक–पटक सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरिएको छ । बैठकले महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नुका साथै सम्बन्धित निकायलाई जिम्मेवारी बाँडफाँट गरेको छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको संयोजनमा बिहीबार सम्पन्न बैठकमा स्थानीय नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रतिनिधि, धार्मिक संघसंस्था, व्यवसायी, साधुसन्त, स्थानीय प्रशासन तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो बैठकमा महोत्सवका क्रममा आवश्यक पर्ने शान्ति सुरक्षा, सरसफाइ, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि मैदान तथा प्रवेशद्वार व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक व्यवस्थापन, खानेपानी र विद्युत् आपूर्तिलगायतका विषयमा छलफल गरिएको थियो।
सोही छलफलका आधारमा विभिन्न समिति गठन गरी जिम्मेवारीसमेत तोकिएको छ । यस वर्षको महोत्सवमा विगतका वर्षभन्दा बढी श्रद्धालु भक्तजन तथा साधुसन्तको सहभागिता हुने अपेक्षा गरिएको छ । नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका स्थानबाट हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, आवास, भोजन, सुरक्षा तथा आवागमनलाई सहज बनाउने विषयलाई विशेष प्राथमिकता दिइएको छ । त्यस्तै सोही अनुसार जानकी मन्दि रमा शनिबार भएको सर्वपक्षीय बैठकमा उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले महोत्सवलाई सभ्य, भव्य र धुमधामका साथ सम्पन्न गर्न सबै पक्षसँग समन्वय गरेर तयारी अघि बढाइएको बताए ।
उनले बदलिँदो परिस्थितिअनुसार महोत्सवको व्यवस्थापनलाई नयाँ ढंगले अघि बढाउन सरकारसमक्ष प्रस्ताव पेस गर्ने तयारी भइरहेको जानकारी दिए । साथै विवाह पञ्चमी महोत्सवको व्यवस्थापन र आवश्यक पूर्वाधारका लागि संघीय सरकारसँग समेत पहल गरिने उनको भनाइ छ । उनले स्थानीय प्रशासन, सुरक्षा निकाय, प्रदेश तथा स्थानीय सरकार र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । त्यस्तै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का बोर्ड सदस्य अजितकुमार मिश्रले विवाह पञ्चमी महोत्सवलाई सफल बनाउन परिषद्ले यस वर्ष पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
उनले जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई अन्तर्र ाष्ट्रियस्तरमा स्थापित गर्न महोत्सवसँग सम्बन्धित परम्परा र गतिविधिको डिजिटल अभिलेखीकरण तथा प्रचारप्रसार आवश्यक रहेको उल्लेख गरे। यसका लागि विभिन्न योजना बनाएर अघि बढ्ने उनको भनाइ थियो ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले महोत्सवको व्यवस्थापनका लागि स्थानीय तहसँगै प्रदेश र संघीय सरकारले पनि विशेष चासो दिनुपर्ने बताए । उनले विवाह पञ्चमी जनकपुरधामको मात्र नभइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेको धार्मिक उत्सव भएकाले यसको व्यवस्थापनमा तीनै तहका सरकारको सहयोग आवश्यक रहेको धारणा राखे । तर जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले भने विवाहपञ्चमी महोत्सवमा के गर्ने भन्ने बारे बोलेनन् ।
सात दिनसम्म विभिन्न धार्मिक विधि
विवाह पञ्चमी महोत्सवअन्तर्गत सात दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । महन्त रामतपेश्वर दास वैष्णवले जनाए अनुसार महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर तथा छैटौँ दिन सीताराम स्वयम्बर र विवाह कार्यक्रम हुनेछ । त्यसैगरी , महोत्सवको अन्तिम अर्थात् सातौँ दिन रामकलेवा कार्यक्रम गरी अयोध्याबाट आएका जन्तीलाई विधिपूर्वक बिदाइ गरिनेछ । यससँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव औपचारिक रूपमा सम्पन्न हुनेछ । सीताराम विवाह पञ्चमी महोत्सव जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महत्त् वपूर्ण उत्सव हो ।
यस महोत्सवले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आएको छ । त्यसैले महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सरसफाइ, सुरक्षा, यातायात, आवास तथा अन्य आधारभूत सुविधाको उचित प्रबन्ध गर्नुपर्ने आवश्यकता रहेको युवा अभियन्ता सुशील कर्णले सो बैठकमा जोड दिए । उनले विवाहपञ्चमीको क्रममा जनकपुरधाममा सात दिनसम्म मेला नै लाग्ने गरेकाले सो मेलालाई व्यवस्थित बनाउनका लागि र मेलाको क्रममा सडकपेटिकालाई अतिक्रमणमूक्तका लागि नगर प्रहरी र ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले सशक्त रुपमा आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे । यस वर्षको महोत्सवलाई विगतभन्दा थप व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने लक्ष्यसहित तयारी अघि बढाइएको उत्तराधिकारी महन्त दासले बताए ।

