२०८३ मंसिर ७, सोमवार ०७:२१

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई समेटेर सर्वदलीय सरकार गठन गर्ने बताएका छन् ।

जनकपुरधाममा आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि मुख्यमन्त्री यादवले सबै दलको सहभागितामा सरकार सञ्चालन गर्ने आफ्नो चाहना रहेको बताए । यसका लागि सोमबारदेखि नै राजनीतिक दलहरूसँग छलफल अघि बढाउने उनको भनाइ छ । उनले निर्धारित समयभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यसअघि पहिलोपटक विश्वासको मत लिँदा पनि सबै दलको समर्थन पाएको स्मरण गरे । उनको शपथग्रहण समारोहमा भने जनमत पार्टी बाहेक नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी-नेकपा) का कुनै पनि नेता सहभागी भएनन् ।

मुख्यमन्त्री यादवले सुस्त गतिमा रहेका विकास निर्माणका कामलाई तीव्रता दिने, भ्रष्टाचार नियन्त्रण गर्ने र सबै दललाई समेटेर सरकार सञ्चालन गर्ने आफ्नो प्राथमिकता रहेको बताए । यसैबीच, पदभार ग्रहणलगत्तै मुख्यमन्त्री यादवले रोजगारी सिर्जना र वातावरण संरक्षणसम्बन्धी दुई निर्णय गरेका छन् । रोजगारीसम्बन्धी निर्णय अन्तर्गत मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम तथा सार्वजनिक रोजगार सेवा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

त्यस्तै, एआई, ई–कमर्स र कम्प्युटरसम्बन्धी तालिममार्फत युवाहरू, श्रमिक तथा महिलाको सीप विकास गरी आत्मनिर्भर बनाउने योजना अघि सारिएको छ । एकीकृत रोजगार कार्यक्रम प्रदेशका पाँच जिल्लामा नौ महिनासम्म सञ्चालन गर्ने प्रस्तावसमेत गरिएको छ । त्यस्तै अर्को निर्णयमा वन तथा वातावरण संरक्षण र जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

शपथ ग्रहणपछि दोश्रो कार्यकालका लागि नवनियुक्त भएका मुख्यमन्त्री यादवले मुजेलीयास्थित शहीद स्मारकमा माल्यार्पण गरेका थिए ।

Comment

Related News

Latest News

Trending News