प्रधानाध्यापक संघ नेपाल (पान) ले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि तथा समग्र विद्यालय रूपान्तरणका लागि १२ बुँदे राष्ट्रिय विद्यालय रूपान्तरण प्रतिबद्धता–पत्र, २०८३ जारी गरेको छ ।
जनकपुरधाममा मंसिर ४ देखि ६ गतेसम्म सम्पन्न तीन दिने तेस्रो राष्ट्रिय प्रधानाध्यापक राष्ट्रिय सम्मेलनबाट संघले उक्त प्रतिबद्धता जारी गरेको हो । ‘लेट्स बिल्ड बेटर स्कुल्स टुगेदर’ (सँगै मिलेर उत्कृष्ट विद्यालय निर्माण गरौँ) भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा देशभरका करिब एक हजार प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक, विद्यालय कर्मचारी तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
तीन दिनसम्म चलेको सम्मेलनमा विद्यालय शिक्षाका विद्यमान चुनौती, संघीय शिक्षा ऐन, पाठ्यक्रम सुधार, विद्यालय नेतृत्व, शिक्षक तथा कर्मचारी व्यवस्थापन, शैक्षिक गुणस्तर, प्रविधिको प्रयोग र विद्यालय रूपान्तरणका विषयमा व्यापक छलफल भएको थियो । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका विज्ञ, नीति निर्माता, शिक्षाविद् तथा अभ्यासकर्ताहरूको सहभागितामा विषयगत सत्र, मुख्य प्रस्तुतिकरण, प्यानल छलफल, सांसदहरूसँग गोलमेच छलफल, अनुभव आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया आयोजना गरिएको थियो ।
सम्मेलनबाट जारी प्रतिबद्धतापत्रमा समयानुकूल संघीय शिक्षा ऐन निर्माण र कार्यान्वयनका लागि नीतिगत पैरवी गर्ने, विद्यालयको स्वायत्तता तथा प्रधानाध्यापकको नेतृत्व सशक्त बनाउने र शिक्षक तथा कर्मचारीको पेशागत सम्मान सुनिश्चित गर्न पहल गर्ने उल्लेख छ । त्यस्तै, प्रधानाध्यापकको नेतृत्व तथा व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि ‘प्रिन्सिपल्स लिडर्स एकेडेमी’ स्थापना तथा सञ्चालन गर्ने र प्रधानाध्यापकहरूलाई विद्यालय सञ्चालनमा सहयोग पु¥याउन पान एलएमएस सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने विषयलाई पनि प्रतिबद्धतापत्रमा विशेष प्राथमिकता दिइएको छ ।
शिक्षक, कर्मचारी तथा विद्यार्थीको एआई र डिजिटल साक्षरता अभिवृद्धि गर्ने, जिम्मेवार प्रविधि प्रयोग, साइबर सुरक्षा र डिजिटल गोपनीयताबारे सचेतना फैलाउने संघले जनाएको छ । यसैगरी, विद्यालयलाई सुरक्षित, हरित तथा विपद् उत्थानशील बनाउने, भूकम्प, आगलागी, बाढी र पहिरोजस्ता विपद्को पूर्वतयारी गर्ने, वातावरण संरक्षण, वृक्षरोपण, फोहोर व्यवस्थापन तथा जलवायु शिक्षालाई विद्यालय तहमा विस्तार गर्ने प्रतिबद्धता गरिएको छ । संघले शिक्षक, प्रधानाध्यापक तथा विद्यालय कर्मचारीको मनोबल र पेशागत प्रतिष्ठा अभिवृद्धि गर्न सम्मान, पुरस्कार, प्रोत्साहन तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
विद्यार्थीलाई नैतिक, प्राविधिक, व्यावसायिक, उद्यमशीलता तथा जीवनोपयोगी सीप प्रदान गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ । प्रतिबद्धतापत्रमा गुणस्तरीय तथा नतिजामुखी सिकाइ, शैक्षिक अनुसन्धान, नियमित मूल्याङ्कन, विद्यार्थीको सिर्जनशीलता र आलोचनात्मक सोच विकासमा जोड दिइएको छ । विद्यालयको शैक्षिक सुधार प्रक्रियामा विद्यार्थी, अभिभावक र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने लक्ष्यसमेत राखिएको छ । त्यस्तै, नेपाल सरकार, शिक्षा मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, विश्वविद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्था र विकास साझेदारहरूसँग समन्वय तथा साझेदारी विस्तार गरी विद्यालय रूपान्तरणका कार्यक्रम अघि बढाउने प्रतिबद्धता संघले व्यक्त गरेको छ ।
प्रतिबद्धतापत्रमा मधेश प्रदेशको शैक्षिक गुणस्तर तथा साक्षरता अभिवृद्धिका लागि विशेष पहल गर्ने विषयसमेत समेटिएको छ । विद्यालय रूपान्तरण कुनै एक व्यक्ति, संस्था वा सरकारको प्रयासबाट मात्र सम्भव नहुने निष्कर्ष निकाल्दै सम्मेलनले प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी, अभिभावक, समुदाय र सरकारबीचको साझा प्रयास आवश्यक रहेको औँल्याएको छ । प्रतिबद्धतापत्रमा उल्लेखित कार्यक्रम कार्यान्वयनका लागि संघले तीनै तहका सरकारसँग निरन्तर नीतिगत संवाद र सहकार्य गर्ने, विद्यालयका असल अभ्यास अभिलेखीकरण तथा आदानप्रदान गर्ने र प्रतिबद्धताको कार्यान्वयन प्रगतिको नियमित समीक्षा तथा अनुगमन गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।
प्रधानाध्यापक संघ नेपालका महासचिव लक्ष्मण श्रेष्ठ र अध्यक्ष सुदाम प्रसाद गौतमद्वारा हस्ताक्षरित प्रतिबद्धतापत्रमा …सहकार्यबाट रूपान्तरण, नेतृत्वबाट नवप्रवर्तन र शिक्षाबाट समृद्धिÚ भन्ने मूल मन्त्रसहित नेपालको विद्यालय शिक्षालाई गुणस्तरीय, समावेशी, प्रविधिमैत्री र जीवनोपयोगी बनाउने संकल्प व्यक्त गरिएको छ ।

