२०८३ मंसिर ७, सोमवार ०८:५७

सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य दुई जना फरार रहेका छन्।

अस्पतालमा उपचारका क्रममा ९ महिनाकी गर्भवती महिलाको मृत्यु भएपछि चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै आफन्तले अस्पतालको इमरजेन्सी कक्षमा आगजनी तथा तोडफोड गरेका हुन्।

प्रहरीका अनुसार हिजो आईतवार राति करिब ८स्३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोलकी २१ वर्षीया सिमा राम देवी उपचारका क्रममा अस्पतालमा बेहोस भएकी थिइन्। उनको अवस्था बिग्रिएपछि चिकित्सकको लापरबाहीका कारण यस्तो भएको भन्दै आफन्त आक्रोशित भएका थिए।

आक्रोशित आफन्तले अस्पतालको इमरजेन्सी कक्षमा आगजनी तथा तोडफोड गरेपछि अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएको जनाएको छ।

गर्भवती सिमा राम देवीलाई थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित प्रा।ली। अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा राति १०स्५३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–५ निवासी ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा रहेका छन्।

त्यस्तै, रौतहटको गजुरा नगरपालिका–९ सिमरा निवासी ४२ वर्षीय भुसेनि महरा र २० वर्षीय राजन राम पनि पक्राउ परेका छन्।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोप लागेका अस्पतालमा करारमा कार्यरत धिरज महरा र सुरेश महरा भने फरार छन्। उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

अस्पतालको इमरजेन्सी कक्षमा आगजनी तथा तोडफोड हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

घटनापछि अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रहरीका अनुसार आज बिहान ६स्१५ बजेसम्म अस्पताल क्षेत्रको अवस्था सामान्य रहेको थियो।

गर्भवती महिलाको मृत्यु र त्यसपछि अस्पतालमा भएको आगजनी तथा तोडफोडको घटनाले बरहथवामा स्वास्थ्य सेवा, अस्पतालको सुरक्षा र उपचारका क्रममा हुने सम्भावित लापरबाहीको छानबिनबारे गम्भीर प्रश्न उठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comment

Related News

Latest News

Trending News