स्मार्ट क्यारियर एकेडेमी, काठमाडौंका संस्थापक मनोहर झालाई विद्यापति स्मृति पर्व–२०८३ को अवसरमा सम्मान गरिएको छ।
जनकपुरधाम विद्यापति स्मृति पर्व समारोह समितिद्वारा आयोजित कार्यक्रममा उनलाई मिथिलाको सान पाग लगाई तथा गम्छा ओढाएर सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले उनलाई सम्मान प्रदान गरेका थिए।
लोकसेवा प्रशिक्षणको क्षेत्रमा नयाँ आयाम थप्दै देशभरिका प्रतिस्पर्धीहरूलाई लक्षित गरी अनलाइन माध्यमबाट सस्तो, सहज र सुलभ दरमा प्रशिक्षण उपलब्ध गराएको भन्दै उनलाई सम्मान गरिएको समितिका संयोजक कौशल किशोर मिश्रले जनाएका छ्न । देशमै पहिलोपटक अनलाइन कक्षामार्फत लोकसेवा तयारीलाई सहज बनाउने अभियान सञ्चालन गरी लाखौँ लोकसेवा प्रतिस्पर्धीलाई लाभ पुर्याएको आयोजकको भनाइ छ।
सम्मान ग्रहण गर्दै झा ले आफूलाई समाजसेवीका रूपमा स्थापित गर्दै लैजाने प्रयास गरिरहेको बताए। महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकाको मेयर पदका सम्भावित उम्मेदवारका रूपमा समेत उनको चर्चा हुँदै आएको छ।
यसै अवसरमा झाले कविद्वय सुमित कुमार झा र आस्था झालाई लोकसेवा तयारीका लागि एकेडेमीका जुनसुकै कोर्समा निःशुल्क प्रशिक्षण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी आर्थिक रूपमा विपन्न व्यक्तिहरू उचित सिफारिससहित आएमा उनीहरूलाई समेत निःशुल्क अध्ययन तथा प्रशिक्षणको व्यवस्था गर्ने घोषणा गरे।
करिब डेढ दशकदेखि काठमाडौंलाई केन्द्र बनाएर समग्र देशका लोकसेवा प्रतिस्पर्धीहरूका लागि काम गर्दै आएका झाले आफ्नै गाउँठाउँमा आएर सेवा गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए।
विद्यापति स्मृति पर्वमा सम्मान प्राप्त गरेपछि उनले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आफूले सक्दो योगदान गर्ने र यस क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
समितिका संयोजक कौशल किशोर मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मनोज साहसहित वडा नम्बर ४ का वडा सदस्य प्रशन्न झा, करण ठाकुर, करण मिश्र, अभिनाश चौधरी, उग्रनाथ चौधरी, राजु पाठकलगायत एक दर्जनभन्दा बढी युवाहरूलाई समेत सम्मान गरिएको थियो।

