२०८३ मंसिर ८, मंगलवार ०७:०१

जनकपुरधामका सुनचाँदी व्यवसायी पक्राउ परेको विरोधामा सुनचाँदी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । सुनचाँदी बजारमा व्यवसायीहरुले प्रहरीविरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरु विनाको आधारको व्यवसायी साहलाई पक्राउ गरिएको आरोप लगाएका छन । व्यवसायीहरुले सोमवार सुनचाँदी बजार समेत गरेका छन् । यता प्रहरीले अनुचित लेनदेन सम्बन्धी परेको मुद्दाको आधारमा पक्राउ गरिएको बताएका छन । धनुषा प्रहरीले जनाए अनुसार अनुचित लेनदेन सम्बन्धी परेको जारेहीको आधारमा अदालतबाट आदेश भई आएकोमा पक्राउ गरिएको हो ।

अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान प्रक्रिया बढाइएको प्रहरीले जनाएको छ ।

घटना के हो ?

पिडीत भनिएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ६ महेन्द्रनगर निवासी सुरेन्द्र कुमार यादवले ऋण वापत धितो राखिएको जग्गा बिक्री गरिदिएको भनी साह ज्वेलर्सका सञ्चालक शिवशंकर साहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो ।

पीडित यादवले दिएको जाहेरीका आधारमा प्रहरीले शिवशंकर प्रसाद साहलाई आइतवार उनको पसलबाट नियन्त्रणमा लिएको थियो । यादवले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने ‘मैले एक करोड रुपैयाँको कारोबार गर्दा दुई ठाउँको जग्गा धितो दिएको थिएँ । एउटा जग्गा हिसाब चुक्ता भएपछि फिर्ता भयो, तर महेन्द्रनगरको जग्गा अझै फिर्ता भएको छैन । म सँग कारोबारको लिखित प्रमाण र सम्पूर्ण हिसाबकिताब सुरक्षित छन् । मेरो जग्गा फिर्ता होस् र मैले न्याय पाऊँ ।’ यसै विषयमा पीडित सुरेन्द्र कुमार यादवले आइतवार नै पत्रकार सम्मेलन गर्दै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।

उनले आर्थिक चलखेल वा अन्य कुनै प्रभावका कारण घटनालाई कमजोर बनाउने तथा आफूले न्याय नपाउने अवस्था सिर्जना नहोस् भन्दै सञ्चारमाध्यममार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । यादवले शिवशंकर प्रसाद साहमाथि कानुनी प्रक्रिया पूरा गरी विवादको अन्तिम फैसला नआएसम्म उनलाई बाहिर नछाड् नसमेत आग्रह गरेका छन् । अनुसन्धान तथा न्यायिक प्रक्रियामा कुनै किसिमको आर्थिक चलखेल हुन नहुने उनको भनाइ छ । यद्यपि, जग्गा बिक्री भएको विषय र ऋण कारोबारसम्बन्धी आरोपको स्पष्ट पुष्टि हुन बाँकी छ ।

यस विषयमा शिवशंकर प्रसाद साहको प्रतिक्रिया प्राप्त भएको छैन । यादवका अनुसार धितोस्वरूप दिएको उक्त जग्गा एक साताभित्रै उनको जानकारी तथा सहमतिबिना अन्य व्यक्तिलाई बिक्री गरिएको हो । यस विषयमा पटक–पटक छलफल गरी जग्गा फिर्ताका लागि आग्रह गर्दा पनि समस्या समाधान नभएपछि आफू प्रहरीसमक्ष पुगेको उनले बताए ।

Comment

Related News

Latest News

Trending News