भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरधाम—अयोध्या रेल सेवा संञ्चालनले अयोध्या र मिथिलाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन ।
अयोध्याबाट जनकपुरधामसम्म चल्ने सरयू– कमला एक्सप्रेस रेल सेवा सञ्चालनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आदित्यनाथले अयोध्या र मिथिला दुई संस्कृतिको पवित्र पौराणिक मिलन भएको उल्लेख गरे । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई रेल सेवा सञ्चालनका लागि धन्यवाद दिँदै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिलाई स्वागतयोग्य ऐतिहासिक क्षणका रूपमा व्याख्या गरे । ‘सरयूको पवित्र जलले सिञ्चित अयोध्या र कमलाको पवित्र जलले सिञ्चित माता जानकीको भूमि जनकपुरलाई जोड्ने यो रेल सेवा विरासत र विकासको अद्भुत सङ्गम हो,’उनले भने । सो रेल सेवाबाट नेपालका श्रद्धालुलाई अयोध्या पुगेर रामललाको दर्शन गर्न तथा भारतका श्रद्धालुलाई जनकपुरधाम पुगेर माता जानकीको दर्शन गर्न सहज हुने उनले विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री योगीले भारत र नेपालबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको उल्लेख गर्दै यसलाई आस्था, आत्मीयता र पारिवारिक सम्बन्धले जोडिएको ‘रोटी–बेटी’को सम्बन्धका रूपमा चित्रण गरे । राम–लक्ष्मण महर्षि विश्वामित्रसँग मिथिला पुगेको र त्यसपछि राजा दशरथ जन्ती लिएर जनकपुर आएको पौराणिक प्रसंग स्मरण गर्दै उनले विवाहपञ्चमीजस्ता पर्वले आज पनि दुई देशको सांस्कृतिक सम्बन्धलाई जीवन्त राखेको बताए । ‘अयोध्याका मानिस आज पनि जनकपुरलाई ससुराली भन्छन् भने मिथिलाका मानिस भगवान् श्रीरामलाई पाहुन भनेर सम्मान गर्छन्,’ उनले भने । उनले राममन्दिरको प्राणप्रतिष्ठाका बेला जनकपुरधामबाट सयौँ श्रद्धालु उपहारसहित अयोध्या पुगेको प्रसंग स्मरण गर्दै रामजन्मभूमि आन्दोलनदेखि मन्दिर निर्माणसम्म नेपाली सन्त, युवा, महिला तथा श्रद्धालुको योगदान स्मरणीय रहेको भने ।
मुख्यमन्त्री योगीले भारत–नेपाल सम्बन्ध धार्मिक तथा सांस्कृतिक क्षेत्रमा मात्रै सीमित नरहेको भन्दै व्यापार, शिक्षा, स्वास्थ्य, रोजगारी र यातायातमा समेत दुवै देशबीच गहिरो सम्बन्ध रहेको बताए । नेपालसँग उत्तर प्रदेशका सात जिल्ला— पीलीभीत, लखीमपुर खीरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्धार्थनगर र महाराजगञ्जले करिब ६०० किलोमिटर सीमा साझा गर्ने उल्लेख गर्दै उनले सीमावर्ती क्षेत्रमा सडक, रेल तथा व्यापारिक पूर्वाधार विस्तार भइरहेको जानकारी दिए । उनका अनुसार रुपैडिहा क्षेत्रमा ल्यान्ड पोर्ट निर्माण, लखनउ–रुपैडिहा करिडोरअन्तर्गत सडक विस्तार तथा सोनौली–भैरहवा एकीकृत जाँच चौकी निर्माणजस्ता योजनाले दुई देशबीचको आवागमन र व्यापारलाई सहज बनाउनेछन् । उनले अयोध्याबाट सीतामढी हुँदै जनकपुरतर्फ जाने श्रीराम–जानकी मार्ग निर्माणको कामले पनि दुई देशबीचको सम्पर्कलाई थप विस्तार गर्ने बताए ।
भगवान् बुद्धको जन्मस्थल लुम्बिनीदेखि उत्तर प्रदेशका सारनाथ, श्रावस्ती र कुशीनगरसम्मको बौद्ध सम्पदाले पनि भारत र नेपाललाई आध्यात्मिक रूपमा जोडेको उनले भने । मुख्यमन्त्री योगीले अयोध्यामा पछिल्लो समय सडक, रेल तथा हवाई पूर्वाधारमा व्यापक विकास भएको उल्लेख गर्दै महर्षि वाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थल र आधुनिक रेल सेवाले अयोध्यालाई देश तथा विश्वसँग जोडिरहेको बताए । उनले अयोध्या–जनकपुर रेल सेवा केवल यातायातको माध्यम नभई दुई देशका नागरिकबीचको धार्मिक, सांस्कृतिक र पारिवारिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने माध्यम बन्ने विश्वास व्यक्त गरे ।

