२०८३ मंसिर ९, बुधवार ०७:२९

जनकपुरधाम र भारतको अयोध्याधामबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवा आगामी सोमबारदेखि नियमित सञ्चालन गर्ने तयारी गरिएको छ ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले अर्को सातादेखि नियमित रेल सेवा शुरु हुने जानकारी दिँदै यसले जनकपुरधामलाई भारतको धार्मिक पर्यटन सञ्जालसँग जोड्ने बताए । उनका अनुसार नियमित सेवा सुरु भएपछि अयोध्याबाट जनकपुरधाम आउने तथा जनकपुरधामबाट अयोध्या जाने तीर्थयात्री र सर्वसाधारणलाई रेलमार्गबाट यात्रा गर्न सहज हुनेछ । प्रधानमन्त्री बालेन्द्र साह -बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए ।

उद्घाटनपछि सोमबार अयोध्याधामबाट प्रस्थान गरेको रेल विभिन्न स्टेसन हुँदै मंगलबार बिहान जनकपुरधाम आइपुगेको थियो । करिब ६०४ किलोमिटर लामो यात्राका क्रममा रेल भारतको उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै नेपाल प्रवेश गरेको थियो । मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसन हुँदै रेल जनकपुरधाम आइपुगेको थियो । १७ वटा डिब्बा रहेको रेलमा स्लिपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन् । अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालनले धार्मिक पर्यटन विस्तारको सम्भावना बढाए पनि त्यसबाट स्थानीय अर्थतन्त्रलाई लाभ पु¥याउनु चुनौतीपूर्ण रहेको सरोकारवालाको भनाइ छ ।

जनकपुरधाम–४ का स्थानीय व्यवसायी पुरुषोत्तम साहले अयोध्याबाट आउने पर्यटकलाई जानकी मन्दिरको दर्शन गराएर केही घण्टामै फर्काउनेभन्दा जनकपुरधाम तथा आसपासका धार्मिक र पर्यटकीय स्थलको भ्रमण गराउने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार तीर्थयात्रीको बसाइ अवधि बढाउन सके स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला तथा अन्य व्यवसायले प्रत्यक्ष लाभ लिन सक्छन् । त्यसका लागि धार्मिक स्थलको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार विकास र व्यवस्थित भ्रमण प्याकेज निर्माणमा ध्यान दिन आवश्यक छ ।

Comment

Related News

Latest News

Trending News