प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन र समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको बताएका छन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै उनले बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसा पनि थप चुनौतीका रूपमा देखिएको बताएका छन्।
संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न सबै प्रकारका हिंसा रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।
प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढ गर्ने, महिलाको सशक्तीकरण गर्ने, बालिका शिक्षालाई प्रवर्द्धन गर्ने तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकता दिएको बताएका छन्।
यी प्रयासलाई प्रभावकारी बनाउन कानुन कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
यसै वर्ष भदौमा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्याएको क्षतिको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का बेला लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहन आग्रह गरेका छन्।
अभियान सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई सक्रिय सहभागिता र ऐक्यबद्धताका लागि उनले आह्वान गरेका छन्।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु भएको हो।
संयुक्त राष्ट्रसंघले यस वर्ष ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्यका लागि एकजुट होऔँ: न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारासहित अभियान सञ्चालन गर्न आह्वान गरेको छ।
नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन भइरहेको छ।
प्रधानमन्त्री शाहले अभियानअन्तर्गत सञ्चालन हुने विभिन्न कार्यक्रमले लैङ्गिक हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै अभियानको सफलताको कामना गरेका छन्।

