२०८३ मंसिर १०, बिहिवार ०७:२१

नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन कुमार थापा पक्षबीचको विवाद चर्किँदै गएको छ । शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशन गतिविधि अघि बढाएपछि सभापति थापाले त्यसमा सहभागी हुने पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिएका छन् । तर, पार्टीभित्रको यो विवादमा भने मधेश प्रदेशका कांग्रेस सांसद देउवा पक्षको गतिविधिमा सहभागी नभएको पाएको बताइएको छ ।

प्रदेशसभा सदस्यहरूको सहभागितालाई हेर्दा मधेश प्रदेश देउवा पक्षको प्रभावबाट बाहिर देखिएको एकजना पदाधिकारीले बैठकमा ब्रिफिंग गरेको जनाएको छ । अन्य प्रदेशमा प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म देउवा पक्षको महाधिवेशनमा सहभागी भइरहँदा मधेशमा भने कांग्रेसका कुनै पनि प्रदेशसभा सदस्य खुलेर देउवा पक्षमा उभिएका छैनन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखसमेत सक्रिय रूपमा देउवा पक्षमा देखिएका छैनन् । जसले गर्दा कांग्रेसभित्रको शक्ति संघर्षमा मधेश प्रदेशका जनप्रतिनिधिहरू तत्कालका लागि संयमित र तटस्थ देखिएको संकेत गरेको छ ।

यद्यपि, उनीहरू संस्थापन पक्षमै पूर्ण रूपमा खुलेर लागेको वा कुनै पक्षलाई समर्थन नगरेको भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक भएको छैन । मंगलबारदेखि शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले देउवा समूहको महाधिवेशनलाई अर्को पार्टीको गतिविधिका रूपमा व्याख्या गर्दै त्यसमा सहभागी हुने जनप्रतिनिधिलाई विधानअनुसार कारबाही गरिने बताएका थिए । उनले राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएका जनप्रतिनिधिले अर्को पार्टीमा आबद्ध हुने निर्णय गरे सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

पार्टी छाडेर अर्को दलमा लाग्ने तर निर्वाचित पद नछाड्नेहरूलाई विधानअनुसार कारबाही गरिने उनको चेतावनी छ । सभापति थापाले पार्टी सभापतिको हैसियतले सबैलाई मिलाएर लैजान चाहेको भए पनि विधान कार्यान्वयन गर्नु आफ्नो जिम्मेवारी भएको बताएका छन् । देउवा समूहको महाधिवेशनमा सहभागी हुने प्रदेशसभा र राष्ट्रियसभाका सांसदको संख्या करिब ३५ रहेको समाचारमा उल्लेख छ। कोसी प्रदेशमा केदार कार्की, भुपेन्द्र राई, रामकुमार खत्री, इन्दिरा थापा, सुनिता गच्छदार र खगेश्वरी पौड्याल देउवा पक्षमा देखिएका छन् ।

बागमती प्रदेशमा १५ जना सांसद देउवा पक्षमा रहेको बताइएको छ । गण्डकीमा जीतबहादुर शेरचन, सरस्वती गुरुङ र दिपेन्द्रबहादुर थापा तथा लुम्बिनीमा सरोज थापा -रोज राणा), माया पुनलगायत चार जना सांसद देउवा पक्षमा देखिएका छन् । सुदूरपश्चिममा भने देउवा पक्षको प्रभाव अझ बलियो देखिएको छ । त्यहाँ संसदीय दलका नेता कमलबहादुर शाहसहित नौ जना प्रदेशसभा सदस्य देउवा पक्षमा उभिएका छन् । कांग्रेसका १७ सांसदमध्ये आठ जना मात्रै सभापति थापा पक्षमा रहेको विवरणमा उल्लेख छ । राष्ट्रियसभाका कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, जीतजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्बबहादुर खाती र जगत तिमिल्सिना पनि देउवा समूहमा छन् ।

यता, देउवा समूहमा सहभागी भएको विषयलाई लिएर सभापति थापाको चेतावनीप्रति केही नेताले आपत्ति जनाएका छन् । कोशी प्रदेशसभा सदस्य केदार कार्कीले थापाको अभिव्यक्तिलाई तनावको उपज भन्दै कारबाहीको चेतावनीबाट आफूहरू नतर्सिने प्रतिक्रिया दिएका छन् । कार्कीले जनाए अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन छ । निर्वाचन आयोगमा पार्टीको विवरणसमेत अद्यावधिक नभएको अवस्थामा कारबाहीको चेतावनी दिनु उचित नभएको उनको तर्क छ । कांग्रेसभित्रको आधिकारिकता विवाद र दुई पक्षबीचको शक्ति संघर्षले पार्टीको संगठनात्मक एकतामाथि चुनौती थपेको छ ।

यस्तो अवस्थामा मधेश प्रदेशका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले कुन पक्षलाई साथ दिन्छन् भन्ने चासो बढेको छ । अहिलेसम्म देउवा समूहको महाधिवेशनमा मधेशका सांसदको सहभागिता नदेखिनुले यस प्रदेशको राजनीतिक समीकरण अन्य प्रदेशभन्दा फरक रहेको देखिन्छ । तर, पार्टीको विवादले थप राजनीतिक रूप लिँदै जाँदा मधेशका जनप्रतिनिधिको भूमिका र उनीहरूको आगामी निर्णयले कांग्रेसभित्रको शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने लगायतको विषयमा पनि छलफल भएको बताइन्छ ।

Comment

Related News

Latest News

Trending News