रौतहटको कटहरिया नगरपालिकामा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण सुरु गरिएको १५ शैयाको प्राथमिक अस्पताल भवन लामो समयदेखि अझै अधुरै छ । नगरपालिकाले समयमा बजेट उपलब्ध नगराउँदा अस्पताल निर्माणको काम झण्डै एक वर्षदेखि ठप्प रहेको निर्माण व्यवसायीले बताएका छन् । २०७७ साल मंसिर १५ गते विधिपूर्वक पूजापाठ गरी अस्पताल भवनको शिलान्यास गरिएको थियो।
स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तार गर्ने सरकारको योजनाअन्तर्गत देशभर एकैसाथ अस्पताल भवन निर्माणको कार्यक्रम अघि बढाइएको थियो । स्वास्थ्य मन्त्रालयको प्रारम्भिक योजनाअनुसार करिब १८ करोड रुपैयाँ लागतमा टेन्डर आह्वान गरिएको थियो। महालक्ष्मी–जय धनञ्जय चौधरी जेबीले निर्माणको ठेक्का पाएको थियो। सुरुमा मन्त्रालयबाट नक्सा पास नभई टेन्डर प्रक्रिया अघि बढाइएको र मन्त्रालयको डिजाइनअनुसार नक्सा पास गराउन करिब दुई वर्ष लागेको निर्माण कम्पनीका प्रमुख उपेन्द्र जयसवालले बताएका छन् ।
नयाँ नक्साअनुसार अस्पताल भवनको कुल लागत १६ करोड रुपैयाँ पुगेको थियो। त्यसअनुसार नेपाल सरकारले ११ करोड रुपैयाँ र कटहरिया नगरपालिकाले ५ करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको थियो । २०७९ सालको स्थानीय तह निर्वाचनमा अजय प्रकाश जैसवाल नगरप्रमुख निर्वाचित भएपछि उनको सल्लाह तथा नक्साअनुसार भवन निर्माणको काम अघि बढाइएको थियो। निर्माण कार्य निरन्तर चलिरहेको अवस्थामा नगरपालिकाले आफ्नो हिस्साको रकम भुक्तानी नगरेपछि समस्या उत्पन्न भएको निर्माण व्यवसायीको भनाइ छ ।
भुक्तानी अभावमा निर्माण अवरुद्ध
निर्माण व्यवसायी उपेन्द्र जयसवालका अनुसार अस्पताल भवनको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। निर्माणको मूल्यांकनका आधारमा नेपाल सरकारबाट झण्डै ९ करोड रुपैयाँ भुक्तानी प्राप्त भएको उनले बताए । तर नगरपालिकाले सम्झौताअनुसार उपलब्ध गराउनुपर्ने ५ करोड रुपैयाँमध्ये हालसम्म एक रुपैयाँ पनि भुक्तानी नगरेको उनको दाबी छ ।
नगरपालिकाबाट किस्ताको रकम माग गर्दा मेयर अजय प्रकाश जैसवालले रकम उपलब्ध गराउने आश्वासन दिए पनि व्यवहारमा भुक्तानी नभएको निर्माण व्यवसायीको भनाइ छ । उनका अनुसार नगरपालिकाले समयमै रकम उपलब्ध गराएको भए २०८२ साल असारमै अस्पताल भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न सकिने थियो। तर बजेट अभावका कारण काम रोकिएको र अब नयाँ जनप्रतिनिधि आएपछि मात्रै निर्माणले गति लिने अवस्था बनेको उनले बताए ।
कमीशनको आरोप
कटहरिया नगरपालिका वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाले नगरप्रमुख जैसवालमाथि ठोस भौतिक विकासका योजनामा पर्याप्त बजेट विनियोजन नगरेको आरोप लगाएका छन्। उनले मेयर निर्वाचित भएदेखि नै अस्पतालजस्ता महत्वपूर्ण विकास योजनामा बजेट अभाव देखिएको तर कागजमा सम्पन्न हुने काम, सवारीसाधनको इन्धन तथा ज्यालादारी कर्मचारीको तलबलगायतका शीर्षकमा करोडौँ रुपैयाँ खर्च भएको दाबी गरेका छन् । वडा अध्यक्ष कुशवाहाले नगरपालिकाको बजेट व्यवस्थापनमा अनियमितता र भ्रष्टाचार भएको आरोपसमेत लगाएका छन्।
यद्यपि, उक्त आरोपबारे सम्बन्धित निकायबाट छानबिन तथा पुष्टि भएको विवरण सार्वजनिक भएको छैन । कटहरियाको १५ शैयाको अस्पताल भवन निर्माणमा भएको ढिलाइले स्थानीय सरकारको विकास प्राथमिकता र सार्वजनिक बजेट व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । २०७७ सालमा शिलान्यास गरिएको अस्पताल भवन वर्षौँ बितिसक्दा पनि अधुरै रहनु र निर्माण व्यवसायीले भुक्तानी नपाएको दाबी गर्नुले स्थानीय नागरिकको स्वास्थ्य सेवासँग जोडिएको महत्वपूर्ण आयोजना अलपत्र परेको देखिन्छ । यस बारे प्रतिक्रिया लिन मेयर जैसवाल संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

