२०८३ मंसिर ११, शुक्रवार ०७:१३

जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको सरयू–कमला एक्सप्रेस रेल सेवाको भाडादर निर्धारण गरिएको छ ।

नेपालका प्रधानमन्त्री बालेन्द्र साह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको उक्त रेल सेवा व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय रेल्वेले टिकट बुकिङ खुला गरिसकेको छ भने नेपालतर्फ बिहीबारदेखि टिकट बिक्री शुरु गर्ने तयारी गरिएको छ ।

भारतीय रेल्वे मन्त्रालयले यात्रुको सुविधा अनुसार चार श्रेणीमा भाडादर निर्धारण गरेको छ । जसअनुसार शयनयान श्रेणीको भाडा ३६५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय इकोनोमीको ८८५ रुपैयाँ, वातानुकूलित तृतीय श्रेणीको ९६५ रुपैयाँ र वातानुकूलित द्वितीय श्रेणीको १ हजार ३६० रुपैयाँ तोकिएको छ । रेलमा यात्रा गर्न नेपाली नागरिकले नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमध्ये कुनै एक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । कुल १७ डिब्बा रहने रेलमा वातानुकूलित द्वितीय श्रेणीका दुई, तृतीय श्रेणीका तीन, तृतीय इकोनोमीका तीन, शयनयानका सात र एसएलआरका दुई डिब्बा रहनेछ ।

रेल्वे सेवा शनिबार देखि नियमित रुपमा सुचारु हुने भएपछि विवाह पञ्चमी, रामनवमीजस्ता धार्मिक पर्वमा तीर्थयात्रीको आवागमन बढाउनुका साथै जानकी मन्दिर, राममन्दिर र मिथिला संस्कृतिको प्रचारप्रसारमा समेत योगदान पु¥याउने जनकपुरधामवासीको कथन छ ।

Comment

Related News