२०८३ मंसिर ११, शुक्रवार ०७:३०

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा वन क्षेत्रको संरक्षण, प्रदेशमा वन क्षेत्रको संरक्षण, वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन र उत्पादन वृद्धि गर्दै वनलाई प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र वातावरणीय संरक्षणसँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रदेशका वन अधिकारीहरूलाई बिहीबार निर्देशन दिँदै मुख्यमन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । देशका अन्य प्रदेशको तुलनामा वन क्षेत्र सीमित र जनघनत्व उच्च रहेको मधेश प्रदेशमा वनको संरक्षणसँगै उपलब्ध वनस्रोतको दिगो र वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको उहाँले बताउनुभयो । वन क्षेत्रको संरक्षण नगरी विकास सम्भव नहुने भन्दै मुख्यमन्त्री यादवले वन व्यवस्थापनलाई वातावरणीय संरक्षण, स्थानीय अर्थतन्त्र र समुदायको जीविकोपार्जनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री यादवले दिगो वन व्यवस्थापन सम्बन्धी कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । दिगो वन व्यवस्थापनमार्फत वनको उत्पादनशीलता बढाउँदै काठ तथा दाउराको अधिकतम उत्पादन गर्ने र त्यसबाट प्रदेशको आर्थिक समृद्धिमा योगदान पु¥याउने सरकारको उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार वन व्यवस्थापनलाई काठ उत्पादनसँग मात्र सीमित नगरी यसको पारिस्थितिकीय तथा वातावरणीय पक्षलाई समान प्राथमिकतामा राखिनुपर्छ । वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनबाट वनको स्वास्थ्य र गुणस्तरमा सुधार ल्याउँदै वनस्पति, वन्यजन्तु तथा जडीबुटीलगायत जैविक विविधताको संरक्षण र विस्तार गर्न सकिने उहाँको भनाइ छ ।

वन क्षेत्रको संरक्षण र व्यवस्थापनले जलस्रोतको संरक्षणमा समेत महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै मुख्यमन्त्री यादवले वन विनाश तथा अतिक्रमण नियन्त्रणसँगै चोरी–निकासी नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । वनको नियमित निगरानी, गस्ती र संरक्षण प्रणालीलाई थप सुदृढ बनाउँदै वन अपराध नियन्त्रणमा कडाइ गर्न उहाँले वनकर्मीहरूलाई निर्देशन दिनुभयो ।

काठको उत्पादन बढाई आयात प्रतिस्थापन गर्ने लक्ष्य

मुख्यमन्त्री यादवले वन क्षेत्रबाट प्रदेशको राजस्व वृद्धि गर्न सकिने भए पनि राजस्व संकलनको नाममा वनको वातावरणीय तथा पारिस्थितिकीय सन्तुलनमा असर पार्ने काम हुन नहुने स्पष्ट पार्नुभयो ।
वन पैदावारको उत्पादन, संकलन र उपयोगलाई वैज्ञानिक मापदण्डमा आधारित बनाउँदै वनको पुनरुत्पादन क्षमता कायम राख्नुपर्ने उहाँले बताउनुभयो । वनबाट प्राप्त हुने आम्दानीको केही हिस्सा वन संरक्षण, पुनस्र्थापना, जैविक विविधता संरक्षण तथा स्थानीय समुदायको क्षमता विकासमा समेत परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यविधि बनाएर तत्काल कार्यान्वयनमा लैजान निर्देशन

वन व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा आवश्यक कार्यविधि, मापदण्ड तथा कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजान मुख्यमन्त्री यादवले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
वन संरक्षण, उत्पादन वृद्धि, काठदाउरा व्यवस्थापन, वन पैदावार संकलन तथा उपयोग, वन गस्ती, चोरी–निकासी नियन्त्रण, स्थानीय सहभागिता र राजस्व व्यवस्थापनलगायतका विषयमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पुरा गरी कामलाई अनावश्यक रूपमा रोकिराख्न नहुने उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालयको बजेट र कार्यक्रम कार्यान्वयनयोग्य बनाउनुपर्ने

मुख्यमन्त्री यादवले डिभिजन वन कार्यालयहरूको वार्षिक कार्यक्रम तथा बजेट विनियोजनमा देखिएका प्राविधिक तथा कानुनी जटिलता तत्काल समाधान गर्नुपर्नेमा समेत जोड दिनुभएको छ ।
कार्यालयको वास्तविक कामको प्रकृति, भौगोलिक अवस्था, वनको प्रकार, उपलब्ध जनशक्ति तथा स्थानीय आवश्यकता नबुझी कार्यक्रम र बजेट विनियोजन गर्दा कार्यान्वयनमा समस्या आएको आफूले जानकारी प्राप्त गरेको भन्दै मुख्यमन्त्री यादवले डिभिजन वन कार्यालयको जिम्मेवारी र कार्यक्षेत्रअनुसार व्यावहारिक, स्पष्ट र कार्यान्वयनयोग्य कार्यक्रम तथा बजेटको खाँका सुनिश्चित गरिने उहाँले बताउनुभयो ।
उहाँले वन कार्यालयलाई जिम्मेवारी दिने तर आवश्यक स्रोत, बजेट र प्राविधिक आधार उपलब्ध नगराउने अवस्था अन्त्य गर्नुपर्ने बताउँदै कार्यक्रम कार्यान्वयनका क्रममा देखिने कानुनी तथा प्राविधिक समस्या सम्बन्धित मन्त्रालय र निकायबीच समन्वय गरी समाधान गर्न निर्देशन दिनुभयो ।

वन गस्तीलाई सघन र द्रुत बनाउन निर्देशन

वन क्षेत्रमा हुने चोरी–निकासी, अवैध कटानी, अतिक्रमण तथा अन्य वन अपराध नियन्त्रणका लागि वन गस्तीलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री यादवले निर्देशन दिनुभएको छ । उहाँले वन कर्मचारीलाई नियमित मात्र नभई जोखिमयुक्त तथा संवेदनशील क्षेत्रमा सघन र द्रुत गस्ती गर्न निर्देशन दिँदै वन अपराधको सूचना प्राप्त हुनेबित्तिकै तत्काल परिचालन हुने संयन्त्र विकास गर्नुपर्ने बताउनुभयो । वन क्षेत्रको संरक्षणमा कर्मचारीको सक्रियता, स्थानीय समुदायको सहभागिता र सुरक्षा निकायसँगको समन्वयलाई प्रभावकारी बनाउँदै वन अपराध नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

संरक्षण, उत्पादन र समृद्धिबीच सन्तुलन कायम गर्ने सरकारको नीति

मुख्यमन्त्री यादवले वनलाई संरक्षण गर्नुपर्ने प्राकृतिक स्रोतका रूपमा मात्र नभई वातावरणीय सुरक्षा, जैविक विविधता, स्थानीय रोजगारी, अर्थतन्त्र र राजस्वको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
वनको संरक्षण र उत्पादनबीच सन्तुलन कायम गर्दै वर्तमान पुस्ताको आवश्यकता पुरा गर्ने र भावी पुस्ताका लागि समेत वनस्रोत सुरक्षित राख्ने गरी दिगो वन व्यवस्थापनको अवधारणालाई व्यवहारमा उतार्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “वन संरक्षण र उत्पादन एक–अर्काका विरोधी होइनन् । वैज्ञानिक र दिगो व्यवस्थापनमार्फत वनको संरक्षण गर्दै उत्पादन बढाउन, स्थानीय रोजगारी सिर्जना गर्न र प्रदेशको अर्थतन्त्रमा योगदान पु¥याउन सकिन्छ । त्यसका लागि देखिएका कानुनी, प्राविधिक र प्रशासनिक जटिलता समाधान गरेर कामलाई परिणाममुखी बनाउनुपर्छ ।” मुख्यमन्त्री यादवले वनसम्बन्धी कार्यक्रमलाई नतिजामुखी, पारदर्शी र कार्यान्वयनयोग्य बनाउन सम्बन्धित मन्त्रालय, वन निर्देशनालय, डिभिजन वन कार्यालय तथा स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले वन व्यवस्थापनका लागि आवश्यक नीति, कार्यविधि र संस्थागत सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउँदै मधेश प्रदेशको सीमित वन क्षेत्रलाई थप उत्पादनशील, जैविक रूपमा समृद्ध र वातावरणीय रूपमा सुरक्षित बनाउनेतर्फ प्रदेश सरकार केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Comment

Related News

Latest News

Trending News