साउदी अरबको जजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा एक नेपाली श्रमिकको मृत्यु भएको छ भने केही अन्य घाइते भएका छन्।
साउदी अरबको ऊर्जा मन्त्रालयले प्रारम्भिक जानकारीका आधारमा नेपाली श्रमिकको मृत्यु भएको पुष्टि गरेको छ ।
बिहीबार जजान तेल प्रशोधन केन्द्रमा आकाशबाट प्रहार गरिएको विस्फोटक वस्तु खसेको थियो। त्यसबाट आगलागी हुनुका साथै प्रशोधन केन्द्रका केही काम अस्थायी रूपमा रोकिएका थिए।
आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइएको मन्त्रालयका अधिकारीले बताएका छन्। घाइतेहरूको उपचार भइरहेको पनि उनले जानकारी दिएका छन्।
घटनालगत्तै आपत्कालीन उद्धार टोली र प्राविधिक टोली परिचालन गरिएको थियो। उनीहरूले सम्बन्धित निकायसँग समन्वय गरी आक्रमणबाट भएको क्षतिको मूल्यांकन तथा प्रशोधन केन्द्रका संरचनाको सुरक्षाबारे जाँच गरिरहेका छन्।

