मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको छ दिन बितिसक्दा पनि नयाँ सरकारको राजनीतिक भविष्य अन्योलमै छ । दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादवले सर्वपक्षीय सरकार गठन गर्ने दाबी गरे पनि अहिलेसम्म कुनै पनि दलले उनको सरकारलाई सार्वजनिक रूपमा समर्थन जनाएका छैनन् । यसले मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावनासमेत कमजोर देखिएको छ ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनमत पार्टीसँग सकारात्मक छलफल भइरहेको दाबी गर्दै आएका छन् । तर सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रै मुख्यमन्त्रीलाई लिएर विवाद देखिएको छ भने अन्य दलहरू पनि सरकारमा सहभागी हुने विषयमा स्पष्ट निर्णयमा पुग्न सकेका छैनन् ।
वर्तमान सरकार गठनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र समेत मतभेद देखिएको छ । निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवले कांग्रेस, एमाले र नेकपाको गठबन्धनलाई पुनः निरन्तरता दिँदै तीन दलीय सरकार गठन गर्ने प्रयास गरेका थिए । यी तीन दलसँग सरकार गठनका लागि आवश्यक बहुमत प्रदेशसभा सदस्य रहे पनि प्रदेश प्रमुखको कार्यालयले दिएको समयसीमाभित्र सरकार गठन गर्न उनीहरू असफल भएका थिए । त्यसपछि समय थप गर्न माग गर्दै निवेदनसमेत दिएका थिए । तर संविधानअनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा जसपा नेपालले मुख्यमन्त्रीमा दाबी गरेपछि तीन दलीय गठबन्धनको प्रयास सफल हुन सकेन ।
यता कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रकुमार सिंहले भने सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र र संसदीय दलमा अहिलेसम्म कुनै औपचारिक छलफल नभएको बताएका छन् । उनले जनाए अनुसार कांग्रेसले कसको नेतृत्वमा सरकारमा जाने, आफ्नै नेतृत्वमा सरकार गठन गर्ने वा अन्य दललाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन । यसबारे केही दिनभित्र संसदीय दलको बैठक बसेर आवश्यक निर्णय गरिने उनले बताए । जसपा नेपालसंगै अग्रगामी मोर्चामा आबद्ध रहेका जनमत पार्टीले पनि मुख्यमन्त्री सरोकुमार यादवलाई अहिलेसम्म समर्थन गरिसकेको छैन ।
स्रोतका अनुसार मन्त्रालय बाँडफाँटबारे छलफल जारी रहे पनि जनमत पार्टीले चाहेको मन्त्रालय पाउने सम्भावना तत्कालका लागि न्यून देखिएको छ । मन्त्रालयको बाँडफाँट र सत्ता साझेदारीमा सहमति जुट्न नसक्दा मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप चुनौती देखिएको छ । सर्वपक्षीय सरकार गठनको प्रतिबद्धता जनाए पनि त्यसलाई व्यवहारमा उतार्न उनले अझै राजनीतिक सहमति जुटाउनुपर्ने देखिन्छ । उच्चस्तरीय स्रोतका अनुसार जसपा नेपाल नेतृत्वको वर्तमान सरकारलाई विस्थापित गरी पुनः कांग्रेस, एमाले र नेकपाको गठबन्धनमा सरकार गठन गर्ने प्रयास शुरु भएको छ ।
स्रोतको दाबी अनुसार सम्भावित सहमतिमा एमाले र नेकपाले तीन/तीन महिना तथा कांग्रेसले पाँच महिना सरकारको नेतृत्व गर्ने गरी प्याकेजमा सहमति जुटाउने प्रयास भइरहेको छ । यद्यपि यसबारे सम्बन्धित दलहरूले औपचारिक रूपमा कुनै निर्णय सार्वजनिक गरेका छैनन् । निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव पनि वर्तमान सरकारलाई निरन्तरता दिनुभन्दा पुरानै तीन दलीय गठबन्धन ब्युँताउने पक्षमा देखिएका छन् । तर कांग्रेसभित्रै सरकारको नेतृत्व र सहभागिताबारे स्पष्ट सहमति नबन्दा गठबन्धनको सम्भावना पनि निश्चित भइसकेको छैन ।
अस्थिरताले संघीयतामाथि प्रश्न
मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेशसभाका कुनै सदस्यले बहुमत जुटाउन सक्ने आधार प्रस्तुत गर्दै मुख्यमन्त्रीमा दाबी गर्न सक्ने संवैधानिक व्यवस्था छ । यदी यस्तो अवस्था आएमा दलभन्दा व्यक्ति केन्द्रित सरकार गठनको प्रक्रिया अघि बढ्न सक्नेछ ।
कांग्रेसका उपसभापति सिंहका अनुसार अहिलेको राजनीतिक अन्योलले दलहरूलाई नै गम्भीर संकटमा पार्न सक्छ । सरकार गठन र विघटनको निरन्तर खेलले प्रदेशमा थप अराजकता निम्त्याउने खतरा रहेको उनको भनाइ छ । राजनीतिक विश्लेषकहरू पनि सरकार निर्माण र नेतृत्व परिवर्तनको निरन्तर प्रतिस्पर्धाले मधेश प्रदेशमा राजनीतिक अस्थिरता बढाउने र त्यसले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न सक्ने बताउँछन् ।
मधेश प्रदेशमा पाँच वर्षे कार्यकालभित्रै यसअघि पाँच मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । अहिले सरोजकुमार यादव छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका छन् । तर उनको सरकारले निरन्तरता पाउने वा पुनः सत्ता समीकरण परिवर्तन हुने भन्ने अझै निश्चित छैन । प्रदेशमा पटक–पटक सरकार परिवर्तन हुने प्रवृत्तिले विकास निर्माण, सुशासन र जनताको अपेक्षामा प्रत्यक्ष असर पार्ने देखिन्छ ।

