२०८३ मंसिर १२, शनिवार ०७:३४

मधेशी शहीदहरुको बलिदानीलाई जीवन्त राख्ने उद्देश्यले निर्माण भइरहेको स्मारक बेवास्ताको शिकार बनेको छ । ३० लाख रुपैयाँ बजेट विनियोजन गरेर निर्माण थालिएको वीरगञ्जमा निर्माण भइरहेका सहिद स्तम्भ वर्षौदेखि अधुरै रहेका छन् । सहिदको स्मृतिमा बनाइनुपर्ने संरचना नै अलपत्र परेपछि सरकारी प्रतिबद्धता र बजेट खर्चको औचित्यमाथि प्रश्न उठ्न थालेको छ ।

करीब ८ वर्षदेखि सो स्तम्भ अलपत्र अवस्थामा रहेका छन् । २०७२ सालको मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर वीरगञ्जमा ज्यान गुमाएका पाँच जनाको सामूहिक अन्त्येष्टि गरिएको तिलावे नदी किनारमा तत्कालिन राजपाबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका जितेन्द्र सोनलले बजेट निकासा गरेको थिए । त्यसयता कयौं सरकार फेरिए तर शहीद स्तम्भको अधुरा निर्माण पुरा हुन सकेको छैन । २०७२ भदौ १९ गते कफ्र्यु र तनावपूर्ण अवस्थाबीच लाखौँ आन्दोलनकारीको सहभागितामा पाँचै जना सहिदको धार्मिक विधिअनुसार तिलावे नदी किनारमा सामूहिक अन्त्येष्टि गरिएको थियो ।

मधेश आन्दोलनको इतिहासमा विशेष महत्त्व राख्ने यही स्थानलाई स्मारकका रूपमा विकास गर्ने योजना तत्कालीन प्रदेश सरकारले अघि बढाएको थियो । मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत गद्दीले सहिद स्तम्भको शिलान्यास गरेका थिए । संघीयता कार्यान्वयनपछि मधेश आन्दोलनका सहिदको सम्मान र उनीहरूको योगदानको संस्थागत अभिलेखीकरण गर्ने उद्देश्यसहित अघि सारिएको यो योजनालाई त्यतिबेला महत्त् वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको थियो । तत्कालीन मुख्यमन्त्री राउत जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सरकारको नेतृत्वमा थिए । उनकै कार्यकालमा जसपासँग आबद्ध तथा वीरगञ्ज महानगरपालिका–१७ की तत्कालीन वडाध्यक्ष सुखरानी देवी निकट कृष्णदेव प्रसाद अहिरको अध्यक्षतामा निर्माण कार्य अघि बढाउन उपभोक्ता समिति गठन गरिएको थियो ।

तत्कालीन सहरी विकास तथा भवन कार्यालयमार्फत कार्यान्वयन गरिएको योजनाको नाम ‘वीरगञ्ज सहिद स्तम्भ निर्माण कार्य’ राखिएको थियो । पूर्वाधार विकास कार्यालय वीरगञ्जका अनुसार उक्त योजनाका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, सहिदको बलिदानलाई स्मरणीय बनाउने भनेर सुरु गरिएको निर्माणले अपेक्षित गति लिन सकेन। शिलान्यास र बजेट विनियोजनपछि पनि स्तम्भले पूर्णता नपाउँदा ऐतिहासिक महत्त्व बोकेको तिलावे नदी किनार व्यवस्थित स्मारक बन्न सकेको छैन।

बजेट खर्च भयो, संरचना अधुरै

सहिद स्तम्भ निर्माणका लागि विनियोजित ३० लाख रुपैयाँमध्ये कति रकम खर्च भयो भन्ने विषय अहिले महत्वपूर्ण प्रश्न बनेको छ । उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको योजनामा भएको खर्च, निर्माणको वास्तविक प्रगति विवरण सार्वजनिक हुन सकेको छैन भने बांँकी काम पनि पुरा हुन सकेको छैन ।

योजना कार्यान्वयन गर्ने निकाय र निर्माण उपभोक्ता समितिले बजेटको उपयोग, कामको गुणस्तर तथा अधुरो संरचनाको अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने देखिन्छ । निर्माण सम्पन्न भएको दाबी भए त्यसको प्राविधिक मूल्यांकन, भुक्तानी विवरण र हस्तान्तरणको अवस्था पनि सार्वजनिक हुनुपर्छ । यस्तै, निर्माणपछि स्तम्भको संरक्षण र व्यवस्थापन कसले गर्ने भन्ने विषयसमेत अन्योलमै देखिन्छ ।

सहिदको नाममा संरचना बनाउने योजना ल्याउने तर त्यसको दीर्घकालीन संरक्षणमा ध्यान नदिने प्रवृत्तिले यस्ता ऐतिहासिक स्थलको महत्त्व नै कमजोर बनाउने जोखिम छ ।

Comment

Related News

Latest News

Trending News