२०८३ मंसिर १२, शनिवार ०७:३८

त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी राराब) क्याम्पसमा २० करोडभन्दा बढी रकमको भ्रष्टाचार भएको भन्ने रहस्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी फाइल पुगेपछि रहस्य खुलेको हो । विद्यार्थीले बुझाएको शुल्कमा २० करोड रुपैयाँभन्दा बढीको संस्थागत भ्रष्टाचार भएको त्रिविविकै छानबिनबाट खुलेपछि उक्त प्रकरण अख्तियारसम्म पुगेको छ ।

त्रिभुवन विश्वविद्यालयले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा ठूलो परिमाणमा आर्थिक हिनामिना भएको पुष्टि भएपछि थप अनुसन्धान र दोषीमाथि कडा कारबाहीका लागि फाइल अख्तियार पठाइएको हो । त्रिवि इतिहासकै सबैभन्दा ठूलो मानिएको यो शुल्क घोटाला प्रकरणले विश्वविद्यालयको आन्तरिक प्रशासन र लेखा प्रणालीको चरम लापरबाहीलाई उदाङ्गो पारिदिएको छ । त्रिविको दोस्रो छानबिन समितिले ७५ दिन लगाएर तयार पारेको प्रतिवेदनले राराब क्याम्पसमा कानुनको धज्जी उडाउँदै संगठित रूपमै लुट मच्चाइएको ठहर गरेको छ ।

२०७७ साउन १ देखि २०८२ पुस मसान्तसम्मको अभिलेख अध्ययन गर्दा ६ करोड २४ लाख रुपैयाँ सोझै अनियमितता भएको किटान गरिएको छ भने करिब १४ करोड रुपैयाँ बराबरको रसिद नै गायब पारिएको छ । क्याम्पसको आन्तरिक कार्यक्रमतर्फ बीए, बीबीए, बीआईटी, सीएसआईटी र बीएससीका विद्यार्थीलाई बैंकमा शुल्क जम्मा गर्न निरुत्साहित गर्दै लेखा शाखाले सोझै नगद बुझ्ने र रसिदको पहिलो तथा दोस्रो (कार्यालय प्रति) पानामा फरक– फरक रकम उल्लेख गरी करोडौं अपचलन गरेको प्रतिवेदनमा उल्लेख छ

आन्दोलनको आडमा प्रमाण नष्ट छानबिनका क्रममा लेखा सहायक सञ्जय दासले काटेका रसिदहरूमा प्रत्यक्ष हिनामिना देखिए पनि यति ठूलो घोटालामा सिंगो गिरोह र शक्तिकेन्द्रको संरक्षण रहेको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ । अझ गम्भीर पक्ष त के छ भने, भ्रष्टाचारको प्रमाण मेटाउन २०८२ भदौ २४ गते भएको आन्दोलनको मौका छोपी क्याम्पसको लेखा शाखा र प्रमुखको कार्यकक्षमा आगजनीसमेत गराइएको थियो, जसबाट महत्वपूर्ण रसिदहरू जलेर नष्ट भएका छन् ।

जनकपुरमा सुरक्षा जोखिम बढेपछि काठमाडौं आएर प्रतिवेदन लेखेको समितिले तत्कालीन क्याम्पस प्रमुख, लेखा प्रमुखका साथै नियमित लेखापरीक्षणमा खटिने त्रिविको आन्तरिक टोली र महालेखापरीक्षकको कार्यालयका कर्मचारीलाई समेत गम्भीर शंकाको घेरामा तानेको छ । घोटालाको फाइल अख्तियार पुगेसँगै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै शुल्क हिनामिना गर्ने कसैलाई पनि नछाड्ने कडा चेतावनी दिएका छन् । छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको र त्रिविको नियमअनुसार दोषी कर्मचारीलाई बर्खास्त गर्नेदेखि प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही अघि बढाइने जनाएका छन् ।

Comment

Related News

Latest News

Trending News