मधेश प्रदेशमा जनता समाजवादी पार्टी-जसपा)नेपाल दलका नेता सरोज कुमार यादवको नेतृत्वमा गठन भएको सरकारले विश्वासको मत लिन दलहरुको समर्थनको प्रयास थालेको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन एमाले, नेपाली कम्युनिष्ट पार्टी-नेकपा) र नेपाली कांग्रेससित छलफल थालेका छन् ।नेकपा एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेस नेतृत्वको सरकारबाट अलग्गिएका थिए ।उनीहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने दिन राजिनामा दिएका थिए । तर संविधानको धारा १६८ को उपधारा ३ अनुसार जसपा नेपालको नेतृत्वमा सरकार गठन भएपछि एमाले र माओवादी बिच्केको छ ।
एमालेले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार बनाउन जसपा नेपाललाई म्याण्डेट दिएको थियो । तर जसपा नेपालका नेताहरुबीच उपधारा २ अनुसार सरकार बनाउने विषयमा सहमति हुन सकेन् ।जसपाका अध्यक्ष उपेन्द्र यादव कांग्रेसको समर्थन लिएर उपधारा ३ अनुसार सरकार बनाउने पक्षमा थिए ।तर अधिकांश नेता र सांसदहरु कांग्रेसले ठूलो घात गरेको भन्दै एमाले र नेकपाको समर्थनमै सरकार बनाउन जोड दिएका थिए ।
नेपाली कांग्रेस विभाजनको असर मधेश प्रदेशमा पर्ने देखिरहेका जसपाका नेताहरुले एमाले र नेकपालाई प्राथमिकतामा राखेका थिए ।तर पार्टी भित्रको खिँचातानीले एमाले र नेकपाको समर्थन गुमाउने उच्च जोखिम छ । एमाले निकट स्रोतका अनुसार शीर्ष नेताहरुले जसपा नेपालको सरकारलाई नै समर्थन दिने मनस्थिति बनाएका छन् ।एमालेको नेतृत्वमा सरकार बनाउन खोजिए कांग्रेसले बखेडा गर्ने र त्यस बाहेक आवश्यक संख्या नपुग्ने भएकोले जसपा नेपालकै नेतृत्वमा काम गर्ने मनशाय शीर्ष नेतृत्वको रहेको स्रोतले जनाएका छन् ।
तर प्रदेशका केहि नेताले जसपा नेपाललाई विश्वासको मत नदिएर आफ्नै नेतृत्वमा सरकार बनाउन संविधानको धारा १६८ को उपधारा २ मा फर्किने गृहकार्यमा लागेका छन् । नेपाली कांग्रेसले जसपा नेपालको सरकारमा सहभागि हुने संभावना कम देखेपछि एमालेको नेतृत्वलाई सरकार बनाउँदा सघाउने बताइरहेको छ ।कांग्रेस, एमाले र नेकपाबीच सरकार गठनको अनौपचारिक सहमति भएर प्रदेश प्रमुखलाई उपधारा २ अनुसार सरकार बनाउन समय समेत माग गरेको थियो ।
तर प्रदेश प्रमुखले उपधारा २ मा फर्किन नमिल्ने भन्दै उपधारा ३ अनुसारको सरकार गठन गर्न आव्हान गरेका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत लिन नसके प्रकृया धारा १६८ को उपधारा ५ तर्फ बढने छ ।उपधारा ५ मा प्रदेश सभा बिघटनको सिफारिस गर्ने अधिकार मुख्यमन्त्रीमा हुनेछ । ‘अर्लि एलेक्सन’ नभएपनि प्रदेश सभाको अगामी वर्षको मंसिर भित्र निर्वाचन हुनेछ । ‘अर्लि एलेक्सन’ भए समय झन कम हुनेछ ।प्रदेश सभा विघटनको पक्षमा कुनै दल छैन् ।
तर सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने स्थिति भए त्यस तर्फपनि जान सकिने संभावना छ । मुख्यमन्त्री यादवले भने मधेश प्रदेशमा अब सबै दलको सरकारमा सहभागिता हुने बताएका छन् ।‘सबै दललाई सरकारमा सहभागि गराएर सर्वदलिय स्वरुप दिनेमा लागेको छु’ उनले भने, सरकार खसाउने र बनाउने प्रकृया धेरै पटक भइसकेकोले बदनामी बढेको छ । कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई हटाउन अथवा सरकार जान हतारमा आफूहरु नरहेपनि परि स्थितिवस जसपाले सरकारको नेतृत्व गर्नु परेको उनले बताए ।
स्थानीय निकायको चुनाव नजिकिएको र त्यसपछि प्रदेशको चुनाव हुने भएकोले अब मधेश प्रदेशमा सरकारको नेतृत्व खिँचातानी उपयुक्त नरहेको उनले बताए ।‘सबै दल सहभागि भएर अब प्रदेशको काममा जुट्नु पर्ने भएकोछ’ उनले भने, पटक पटक सरकारको नेतृत्व परिवर्तन भइरहँदा संघियता बिरोधीहरुले खेल्ने अवसर पाउने छन् । मधेश प्रदेशमा जसपा नेपालको २८, एमालेको २३ नेपाली कांग्रेसको २२, नेकपाको १५ र जनमत पार्टीको १२ जना सांसद छन् ।
जसपालाई एमाले र नेकपा अथवा कांग्रेस र जनमतको समर्थन चाहिन्छ । प्रदेशमा नेताहरुले चलखेल गरेपनि सरकार सम्बन्धी निर्णय सबै दलका शीर्ष नेतृत्वबाट मात्र हुने गर्छ ।शीर्ष नेताहरुले दिने निर्देशन बमोजिम नै प्रदेशमा सरकार बन्ने र भत्किने खेल हुने गरेकोले प्रदेशका नेताहरुको भूमिका न्यून रहने गरेको छ ।

