२०७८ जेष्ठ ३०, आईतवार ०७:१६

जनकपुरधाम । प्रदेश २ सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा विपक्षी दलका मात्र नभएर सत्तारुढकै साँसदहरुले पनि व्यापक सुधारको आवश्यकता औल्याएका छन् ।

शनिवार बसेको प्रदेशसभा बैठकमा सरकारले गतवर्षकै अधिकांश योजनालाई प्राथमिकता दिएको गुनासो गरे । उनीहरुले केहि नयाँ योजना ल्याएपनि कार्यान्वयण गर्न चुनौती रहेको बताएका हुन् । कोरोनाको तेस्रो लहरसँग जुध्नसक्ने योजना समेत नीति तथा कार्यक्रममा नसमेटेको साँसदहरुको गुनासो छ । सत्तारुढ जसपाका साँसद उपेन्द्र महतोले कोरोनाको पूर्वतयारीमा ध्यान नदिएको भन्दै तेस्रो लहर आएमा जनताले झण्डावाल गाडी लखेटेर मन्त्रीहरुलाई कुट्ने बताए । उनले भने, ‘पहिलो र दोस्रो लहरमा बढी बृद्धबृद्धाले ज्यान गुमाउदा सबै चुप बसे । तर आउने तेस्रो लहरमा बढी बच्चाको मृत्यू हुन्छ । अनी को चुप लागेर बस्छन् ? सबै जनता झण्डावाल गाडी लखेटेर मन्त्री कुट्छन् ।’ उनले सरकारको नीति तथा कार्यक्रमलाई गीताको उपदेशको संज्ञा दिँदै झुठको पुलिन्दा नबाँड्न प्रदेश सरकारलाई सुझाव समेत दिए । महन्थ ठाकुर पक्षका साँसद महतोले बजेट ल्याउँदा प्रदेश सरकार नाङ्गो बन्ने चेतावनी समेत दिए । उनले भने, ‘जसरी मानसिकता बनाएको छ, त्यसरी बजेट ल्यायो भने तीन चारदिनभित्रै यही हाउसमा धज्जी उड्छ ।

’ सम्बोधनको अन्त्यमा उनले नीति तथा कार्यक्रम परिवर्तन गर्न माग गरे । जसपाकै अर्का साँसद रामअशिष यादवले पनि नीति तथा कार्यक्रममा सुधार गर्न सुझाव दिए । उनले भने, ‘तेस्रो लहरमा बढी बालबालिका प्रभावित हुन्छ । तर यसको पूर्व तयारी कसरी गर्ने कुरा नीति तथा कार्यक्रममा देखिएन ।’ उनले प्रदेश २ का तीन ठाउँमा कम्तिमा १० भेन्टिलेरसहितको कोभिड अस्पताल संचालन गर्न सुझाए । ‘कोरोनाको तेस्रो लहरमा बढी बालबालिका संक्रमित हुन्छन्’, साँसद यादवले भने, ‘तर प्रदेश २ का कुनै पनि अस्पतालमा बालबालिकाका लागि स्पेशल आइसियू र भेन्टिलेटर छैन । प्रदेश सरकारको यसतर्फ ध्यान पुगोस् ।’ मणिपालमा निर्माण हुन लागेको कोभिड अस्पतालमा पनि बच्चाको वार्ड छुट् याइयोस्– उनले थपे । यस्तै काँग्रेस साँसद शिवचन्द्र चौधरीले नीति तथा कार्यक्रम पढ्दा ६ पटक माननीय सभासदहरु भनेर सम्बोधन गरेको भन्दै सच्याउन माग गरे । उनले माननीय सभामुखलाई सम्बोधन गर्ने चलन रहेको पनि बताए । उनले नीति तथा कार्यक्रममा जताततै मधेस शब्द प्रयोग गरिएकोमा आपत्ति जनाए । साँसद चौधरीले भने, ‘धेरै गुलियो खाँदा पनि मुख तितो हुन्छ । त्यसैले जहाँ त्यही मधेस शब्द मात्र प्रयोग नगर्नुस् ।’ जहाँ मधेसी शहिद शब्द प्रयोग गरिएको छ, त्यहाँ सबै शहिद प्रयोग गर्नुस्– उनले थपे । स्वर्गिय गजेन्द्र नारायण सिंह, महेन्द्र नारायण निधी जस्ता पुराना त्यागी नेताहरुको नामबाट पनि योजना सञ्चालन गर्नुपर्ने उनले सुझाए । ‘गाउँ गाउँ त निर्मल जल पुर्याएन कठिन छ’, उनले भने, ‘तर नीति तथा कार्यक्रममा घर घरमा निर्मल जल पुर्याउने भनिएको छ । के यो सम्भव छ ? बढी गफ भयो ।’ उनले पहिले गाउँ–गाउँमा सफा खानेपानी पुर्याउने योजना ल्याउनुपर्नेमा जोड दिए ।

यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले सरकारी अस्पतालमा कार्यरत डाक्टरमाथि लगाम लगाउन जरुरी भएको बताए । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको योजना प्रदेश सरकारले ल्याउनुपर्छ । सरकारीमा काम गर्ने डाक्टर नीजि क्लिनिक चलाउँदा ठूलो समस्या देखिएको छ ।’ यस्तै नेकपा माओवादी केन्द्रकै साँसद सुन्दर बहादुर विश्वकर्माले अन्तरजातिय विवाह गर्ने जोडीलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने प्रदेश सरकारलाई सुझाव दिए । उनले दलित सुधार केन्द्र छुट्टै स्थापना गर्न पनि माग गरे । ‘विगतमा कुन कार्यक्रमले के प्रतिफल दियो भन्ने कुरा नै थाहा पाएनौं’, साँसद विश्वकर्माले भने, ‘गत वर्षको नीति तथा कार्यक्रममा पहिले समिक्षा गर्नुपर्थ्यो । त्यसपछि नयाँ नीति तथा कार्यक्रम ल्याउदा राम्रो हुनेथियो । तर त्यासो भएन । अहिले पनि विगतको समिक्षा गर्नुपर्यो ।’ यस्तै नेकपा एमालेका साँसद किशोरी साह ‘कमल’ले सरकारको नीति तथा कार्यक्रममा रहेको ‘जहाँ सडक, त्यहाँ विकास’ खोक्रो नारा मात्र भएको टिप्पणी गरे । उनले ५ किलोमिटर सडक बनाउन नसक्ने सरकार कसरी २५० किलोमिटर सडक बनाउन सक्छन् भन्ने प्रश्न गरे । भने, ‘कार्यकर्ता पाल्न र अगामी चुनाव जित्ने उदेश्यले मात्र नीति तथा कार्यक्रम ल्याइएको छ ।’ नेकपा एमालेकै साँसद मञ्जु यादवले मन्त्रीपरिषद्मा महिलाको सहभागीता नगराएको भन्दै आक्रोस पोखिन् ।

उनले मुख्यमन्त्री लालबाबु राउतलाई निर्लज भन्दै महिलालाई किन सहभागीता नगराएको जवाफ सदनमा दिन माग गरिन् । उनले संसदमा रहेको ७ समितिमध्ये कुनैमा पनि महिलाको नेतृत्व नदिएको र तीन समिति निष्कृय रहेको बताईन् । यस्तै नेकपा एमालेका साँसद लगनलाल चौधरीले सिरहामा कोरोनाका सबभन्दा बढी संक्रमित रहेको दावी गर्दै प्रदेश सरकार उनीहरुको उपचारमा ध्यान नदिएको गुनासो गरे । ‘प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय नहुँदा ठूलो समस्या सृजना भएको देखियो’, उनले भने, ‘अन्य रोगका विरामी पनि उपचार पाइरहेका छैन । अस्पतालले भन्छ कोरोना रिपोर्ट ल्याउनुस् । तर कोरोना परीक्षण गराउँदा ८÷१० दिनमा पनि रिपोर्ट आउँदैन ।’ साँसद चौधरीले सिरहामा कोरोना रोकथाम तथा नियन्त्रणमा धेरै लापरबाही भएको भन्दै ध्यान दिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । उनले भने, ‘धेरै लापरबाही भइरहेको छ । सम्भव छ भने फोन गरेर बुझ्नुस् ।’ सिरहाका केहि भाग उदयपुरले दावी गरिरहेको भन्दै त्यो विवाद सुल्झाउन प्रदेश सरकारसँग माग पनि गरे ।

Comment

Related News

Latest News

Trending News