२०७८ असार ३, बिहीबार ०७:४०

समाजवाद राज्य–कार्य सम्बन्धी एउटा महत्वपूर्ण सिद्धान्त हो । समाजवाद अहिले विश्वको एउटा लोकप्रीय शब्द वन्न आएको छ । यसलाई सबै देशले आ–आफ्ना तरिकाले लागू गर्न चाहन्छन् । यसले हाम्रो वर्तमान सामाजिक अवस्थामा रहेको गलत व्यवहारहरूलाई विरोध गर्दछ । समाजमा एउटा मौलिक परिवर्तन ल्याउने काम गर्दछ । समाजवादको सही अर्थसम्म पुग्न अनेक विकटता रहेपनि एउटा समाजवादी राज्यको स्थापन नहुने होइन । अहिले विश्वका कतिपय देशले यस सिद्धान्तलाई लागू गरेर सफलतापूर्वक शासनसता संचालन गरिरहेका छन् । समाजबाद आधुनिक असंतोष एवं हाहाकारकालागि रामवाणको काम गर्दछ । यसले व्यक्ति–व्यक्ति बीचमा समता र प्रेम स्थापना गराउँदछ । यसले आर्थिक विषमतालाई भगाएर सबैकालागि जीविकाका साधन प्रस्तुत गर्दछ । आज विश्वका प्रत्येक देशले आ–आफ्नो राज्यमा समाजवादी शासन लागू गरेर देशलाई अगाडि बढाउन चाहन्छ । यसमा समाजका सबै सदस्यहरूलाई आ–आफ्ना इच्छापूर्ति गर्न एवं उत्तम जीवन यापन व्यतीत गर्न अवसर प्रदान गर्दछ ।

समाजवादीहरूका अनुसार पूँजीबादको अन्त एवं वर्गहीन राज्यको स्थापनाले मानिसहरूमा काम गर्ने स्वभाविक इच्छा उत्पन्न हुन्छ र उसले अनुभव गरिरहेको हुन्छ कि म आफ्नै लागि केही गरिरहेको छु । समाजवादी व्यवस्थामा श्रमको सार्वजनिक महत्व हुन्छ र उसले जे गर्छ त्यो राज्यको लागि हुन्छ । यसले व्यक्तिगत स्वार्थको स्थानमा समाजिक सेवालाई प्रतिस्थापित गर्दछ । यसले मानिसहरूलाई मेलजोलका साथ काम गर्न प्रेरित गर्दछ । समाजबाद एउटा महत्वपूर्ण विचार लिएर अगाडि बढ्न चाहन्छ । यसले पूँजीपतिहरूका साथमा रहेका सम्पतिलाई समाजमा ल्याउँछ । यस्ता सम्पतिलाई समाजको आधिपत्यमा राख्छ । यसले गरिबलाई शोषणबाट मुक्ति दिलाउँछ । समाजबाद जीबिकाका समस्त स्रोतलाई समाजीकरण गर्न चाहन्छ । यो वर्गभेद, अधिनायकबादी राज्य, धोखेबाज धर्म र शोषकका दुश्मन छ । समाजबाद एउटा बिचारधारा हो, एउटा आन्दोलन हो र एउटा सामाजिक आर्दश व्यवस्था हो । यसले प्रत्येक व्यक्तिलाई आर्थिक, सामाजिक, बौद्धिकता आदि दृष्टिकोणबाट सम्पन्न बनाउँछ । यो यस्तो व्यवस्था हो जसलाई प्रत्येक देशले कुनै न कुनै रूपले स्वीकार गरेकै छ । व्यवहारतः जहाँ–जहाँ समाजबादको प्रयोग भै रहेछ त्यहाँ–त्याहाँ उसलाई सफलता भेटी रहेछ । शोषणको अन्त भै रहेछ । आर्थिक समानता स्थापित भै रहेछ । यसको मूल उद्देश्य सेबा र सहयोग हो । यो बास्तवमा गरीब, दुःखी तथा श्रमीकहरूको वाद हो । यसबारेमा बर्नाड शो का भनाइलाई उधृत गर्न चाहन्छु । समाजबादको अर्थ आयको समानता हो अन्य केही होइन । मार्कसबादी बिचारधाराले पनि यसै कुरालाई बिज्ञानका कडीमा राखेर अध्ययन गरेको छ ।

यसको भनाइमा समाजमा रहेको बिभेदको मूल जडो भनेको सम्पतिको असमान बितरण हो । समाजबाद एउटा यस्तो सुन्दर तथा आकर्षक शब्द हो जस्लाई प्रत्येक देशले आ–आफ्नै किसिमले लागु गर्न चाहन्छ । भारतीय समाजबादी आन्दोलनका प्रबर्तकमा जयप्रकाश नारायण, अशोक मेहता, अच्युत पटबर्धन आदि सर्वप्रमुख छन् । यिनीहरू भारतमा काँग्रेससँग अलग भएर सोशलिस्ट पार्टीको स्थापना गरेका थिए । हाल यो समाजबादी पार्टी बिभिन्न चिरामा बिभक्त छन् । यिनीहरू भारतमा दिन दिनै कमजोर हुँदै आएका छन् । नेपालतिर हेर्दा २००७ सालको जनआन्दोलन पश्चात समाजबादी पार्टीहरूको उदय भएको देखिन्छ । २०१५ सालको निर्वाचनमा समाजबादी पार्टिहरू नै बिजय हासिल गरेका थिए । नेपाली काँग्रेसले भारी बहुमत पाएको थियो । वि.पि. कोइरालाको नेतृत्वमा पहिलो प्रजातांत्रिक सरकार गठन भएको थियो । तर राजा महेन्द्रले भारतीय राष्ट्रिय काँग्रेसको सहयोगले प्रजातांत्रिक सरकारलाई बर्खास्त गरी २०१७ सालमा निर्दलीय पंचायती व्यवस्था लागु गरेर नेपालको शासनको बागडोर आफ्नो हातमा लिन सफल भए । यस निर्दलीय व्यवस्थाको बिरोधमा नेपाली काँग्रेस पार्टीको साथै केही कम्युनिष्ट पार्टिहरू समेत यसको बिरोधमा उतरिए । केही काँग्रेसी र कम्युनिष्ट नेताहरू राजा महेन्द्रलाई साथ दिन थाले । राजा महेन्द्र पनि काँग्रेस कम्युनिष्टको समाजबादी बिचारलाई उछिनेर देशमा जमीन्दारी प्रथा उन्मूलन, भुमिसुधार, गाँउपर्क अभियान, नयाँ शिक्षा योजना जस्ता व्रmान्तिकारी कदम अपनाएर अगाडि बढ्न खोजे । यस कदमले धेरै ऋणीहरू साहुको ऋणबाट मुक्ति पाए । जमीन जोत्नेलाई दिने निर्णय अनुसार मोहीयानी हक ठहर्ने व्यवस्था कायम गरियो । ग्रामीण भेगका भुमिहीन किसानहरू समेत जमीन्का मालिक बन्न पाए ।

यस्ता व्रmान्तिकारी कार्यक्रम ल्याएर युगोदेखि शोषितको जीवन बिताउन बाध्य जनताको सामुने आफूलाई एउटा असल समाजबादी राजा देखाउने कोसिस गरेका थिए । यहाँ प्रशन उठ्छ के राजा साँचैको समाजबादी हुन सक्छ त ! कहिं पनि उसको उदाहरण भेट्दैन । राजा महेन्द्रले यस्ता आकर्षक कार्यक्रमबाट बहुदलीय प्रणालीलाई कमजोर बनाइ आफू सतामा टिकी रहने षड्यन्त्र बाहेक केही थिएन । २०३६ साल ताका नेपाली शाही शासकीय व्यवस्थामाथि चौतफी प्रश्न उठेको देख्दा जनमत संग्रहको धोषणा मार्फत पुनः निर्दलीय व्यवस्थालाई धरातलमा टिकाइ राख्न निर्वाचन गराएका थिए । यसबाट सुधारिएको पंचायती निर्दलीय व्यवस्थालाई पक्षमा वडो षड्यन्त्रपूर्वक जिताइयो । यस उप्रान्त देशमा यी समाजबादी पार्टीहरू लड्दै–झगर्दै २०४६/०४७ मा संयुक्त संघर्षबाट पुनः बहुदलीय प्रजातांत्रिक प्रणाली पुर्नबहाली गराए । यहाँ कम्युनिष्टहरू बिभिन्न चिरामा बिभक्त थिए । माओबादीहरू भुमिगत भएर सशस्त्र संघर्षमा ओर्लिएका थिए । बिस्तारै नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमंत्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा गणतंत्र स्वीकार्ने गरी चुनावमा भाग लिन आए । सबै प्रजातांत्रिक र बामपंथी पार्टीहरू मिलेर राजाको बिरूद्धमा आन्दोलित भए । संसदबाट जनताको संबिधान निर्माण गर्ने काम भयो । तर अहिले पनि यस संविधानलाई केही पार्टीले आंशिक रूपले मात्र समर्थन गरेका छन् ।

कतिपय बाम पार्टीहरूले यस प्रणालीलाई पूँजी बादी व्यवस्था भनेर बिरोधमा उतरेका छन् । यिनीहरूका भनाई अनुसार यस्तो व्यवस्थाबाट कहिले पनि समाजबाद आउन सक्दैन । उता राष्ट्रिय प्रजातंत्रपार्टी राजासहितका हिन्दू राज्य कायम गर्न उद्दत देखिएको छ । जे होस अहिले सबैले समाजबादी शब्दलाई भजाउन चाहेका छन् । नेपाली काँगे्रसदेखि कम्युनिष्टसम्म सबैले समाजबादी व्यवस्थाको वकालत गरेपनि समाजबाद के हो ! कुन समाजबाद ल्याउन खोजेको हो ! प्रष्ट पार्न सकेका छैनन् । अहिले देशमा कम्युनिष्ट सरकार छ । यसले पनि समाजबादी लाइन छाडेकाले लगभग दुई तिहाइ सम्मको बहुमत हुँदा–हुँदै अल्पमतको नेतृत्वमा आइपुगेको छ । जनताले यी पार्टीहरूसँग प्रश्न सोध्न चाहन्छ कि तपाइहरू सबै आफूलाई समाजबादी भने पनि सत्ता प्राप्त गर्दा व्यवहारमा उतारेको देखिएन । यदि समाजबादी प्रणाली राम्रो प्रणाली हो भने सबै पार्टी मिलेर उद्देश्य प्राप्ति गर्नेतिर किन लाग्दैनन् । नेपालका कतिपय नेताहरू यसै बादको बकालत गर्दा–गर्दै संसार छाडेर गएपनि उनको विचार जीवितै छ नि । प्रधानमंत्री ओलीले पनि समाजवाद उन्मुख प्रजातंत्रको विचार प्रचार प्रसार गरेपनि व्यवहारमा त्यस्तो देखिएन । शेरवहादुर देउवा, माधव कुमार नेपाल, झलनाथ खनाल, पुस्पकमल दहाल, बाबुराम भट्टराई, उपेन्द्र यादव जस्ता बर्तमानका नेताहरूले समाजवादका कुरा गरेकै छन् तर कस्तो समाजवाद ल्याउने भने कुरामा तिनीहरू प्रष्ट देखिएनन् । मान्छे अनुसार समाजवादको परिभाषा हुँदो रहेछ । नेपाल पनि त्यसबाट अछुतो रहेन ।

यी सबै पार्टीहरू एकै पथका पथिक रहेका हुनाले सबै मिलेर एउटा ठोस समाजवादको रूपरेखा तयार गरेर अगाडी बढ्नु पर्ने देखिन्छ । आफू सफा भए अर्कातिर औंला फर्काउनु उचित मानिन्छ । नेताहरू सत्तालाई मात्र केन्द्रमा राखेर साना कुरामा पनि विवाद गरी देश विकास तिरको ध्यानलाई अन्यत्रै तानेर देशको विकासलाई पनि पछाडीधकेल्ने काम गरेको देखिन्छ । जनताको सामुने बोल्ने कुरालाई जनतासम्म जाँदाजाँदै विर्सन जान्छन् । समाजको सम्पतिमा सबैले अधिकार पाउन चाहन्छन् । शोषक र शोषित जस्ता वर्ग बिभेदलाई अन्त गर्न चाहन्छन् । विदेश पलायनलाई रोक्न चाहन्छन् । आफ्नै खेत वारीमा काम गरेर देशलाई सम्पन्न बनाउन चाहन्छन् देश सबैको साझा हो । कोही ठूलो सम्पत्तिको मालिक रहेका छन् भने कोही एकदाना अन्नका लागि त्राही त्राही हुने जस्ता विभेद अन्त हुनै पर्दछ । विश्वमा रहेका यस्ता विभेदलाई अन्त गर्न विभिन्न सिद्धान्त प्रतिपादन भएकै छन् । त्यस मध्येका समाजवाद एउटा यस्तो ठूलो अस्त्र हो जसले सबैलाई समानतामा ल्याउने गर्दछ र एउटा वर्गविहीन समाजको परिकल्पनालाई साकाररूप प्रदान गर्दछ । नेपाली कम्युनिष्टहरूकालागि एउटा ठूलो अवसर आएपनि पुनः गुम्ने अवस्थामा आइसकेका छन् । मुलुकको शासक हुँदा ख्यालै नगरि पछि पश्चाताप गरेर केही हुने वाला छैन । अस्तु । लेखक जनसंख्या तथा समाजशास्त्रविद हुनुहुन्छ ।

Comment

Related News