२०७८ असार २८, सोमबार ०७:२८

गरुडा । रौतहटको विभिन्न चार दलको गठबन्धले गौर चन्द्रनिगाहपुर सडकखण्डमा आइतबार चक्काजाम गरिएको छ ।

गरुडा नगरपालिका कार्यालयको भवन गरुडा बजारमा बनाउनुपर्ने लगायतका तीन बुंदे माग राख्दै विभिन्न चार दलको संयुक्त गठबन्धनले आन्दोलित भएका छन् । गरुडा नगरपालिका कार्यालयको भवन गरुडा तरकारी बजारभन्दा पुर्व बनाउनुपर्ने, गरुडा नगरपालिका वडा नं २ र वडा नं ७ को वडा समितिको निर्णय कार्यान्वयन गर्नुपर्ने र आर्थिक वर्ष २०७७÷७८ को आय व्यय सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलनकारीहरुले गरुडास्थित मुलबाटोमै धर्ना बसेर चक्काजाम गरेका थिए । गरुडा नगरपालिकाविरुद्ध नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका स्थानीय नेता कार्यकर्ताहरुले गौर चन्द्रपुर राजमार्गलाई २ घण्टा अवरोध गरी विरोध प्रदर्शन गरेका छन् । एमालेका स्थानीय नेता महम्मद कलिमुल्ला अंसारीको नेतृत्वमा गौर चन्द्रनिगाहपुर सडकखण्डको गरुडामा दिउँसो १ बजेदेखि ३ बजेसम्म २ घण्टा चक्काजाम गरी विरोध प्रदर्शन गरिएको छ । चक्काजामका कारण गाडीहरु ठप्प हुँदा केहीबेर गौर–चन्द्रनिगाहपुर सडकखण्ड अस्तव्यस्त बनेको थियो भने यात्रुहरुलाई समयमा गन्तव्यसम्म पुग्न समस्या भएको थियो । गरुडा तरकारी बजारभन्दा करिव सय मिटर पुर्वमा रहेको १७ कठ्ठा सोएल जाँच भएको जग्गामा गरुडा नगरपालिका कार्यालयको भवन निर्माण गर्नुपर्ने आफुहरुको माग छ । तर गरुडा नगर प्रमुख इनु राय यादवले आफुहरुको कुरालाई कुनै वास्ता नै नगरी आफुखुसी झाँझपुलस्थित भवन बनाउन खोज्दा विरोध स्वरुप आन्दोलनमा उत्रिनुपरेको गठबन्धको तर्फबाट आन्दोलनको नेतृत्व गरेको एमाले नेता कलिमुल्ला अंसारीले बताए ।

त्यस्तै केहि दिन अघि मात्र कोरोना भाइरस संक्रमणका कारण गरुडा नगरपालिका वडा नं २ गेडहीगुठ्ठिका वडा अध्यक्ष विशुनदेव सहनीको मृत्यु भएको थियो । यस्तै वडा नं ७ पिपरीयाका वडाध्यक्ष रामेश्वर राय यादवको पनि आफनै कालगतिले मृत्यु भइसकेको छ । दुवै जना वडाध्यक्षको मृत्यु भएपछि वडा नं २ मा वडा सदस्य शैलेन्द्र यादव र वडा नं ७ मा वडा सदस्य सुन्दर पटेललाई तत्कालको लागि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिनुपर्ने गठबन्धनको माग छ । यादव र पटेललाई कार्यवाहक वडाध्यक्ष तोक्न दुवै वडाको वडा समितिले निर्णय समेत गरिसकेको छ । आफुहरुले कार्यवाहक वडाध्यक्ष तोक्न दुवै वडा समितिले गरेको निर्णय कार्यान्वयन गर्न आग्रह गर्दा पनि नगर प्रमुख यादवले उक्त निर्णय कार्यान्वयन गर्न नचाहेको आन्दोलनको नेतृत्वकर्ता कलिमुल्लाले बताए । यस्तै आफुहरु आर्थिक वर्ष २०७७÷७८ को आय व्यय सहितको विवरण उपलब्ध गराउन माग गरेपनि नगर प्रमुख यादवले सो विवरण समेत उपलब्ध गराउन नमानेको उनले बताए । पहिलो दिन आइतबार २ घण्टा चक्काजाम गरिएको छ भने सोमबारदेखि चक्काजामको समय एक एक घण्टा बढाउँदै जाने गठबन्धको योजना छ । चक्काजामले पनि आफना मागहरुको सुनुवाई नभए नगरपालिका विरुद्ध यो भन्दा पनि कडा आन्दोलन गर्ने गठबन्धनले चेतावनी दिएको छ । नगर प्रमुख इनु राय यादवले नगरपालिकाको भवन बनाउनुपर्ने जग्गा नगरपालिकाको स्वामित्वमा हुनुपर्ने बताए । गठबन्धनले भवन बनाउन खोजेको उक्त जग्गा नगरपालिकाको स्वामित्वमा नरहेको र नगरपालिकाको स्वामित्वमा नै नरहेको जग्गामा भवन बनाउन नमिल्ने नगर प्रमुख यादवले बताए ।

त्यस्तै अहिले असार मसान्त भएकोले कामको चाप बढेका कारण वडा समितिको निर्णय कार्यान्वयन गर्ने र आय व्यय सहितको विवरण उपलब्ध गराउने स्थिती नरहेको उनले बताए । असार मसान्त सकिने वित्तिकै आन्दोलनकारीहरुको माग पुरा गर्ने उनले बताए ।

Comment

Related News

Latest News

Trending News