२०७८ श्रावण ६, बुधबार ०७:१२

कतिपय मानिसले समाजका विकास नभएको गुनासो गरिरहेका छन् । अझ कतिपयले त विकास र परिवर्तनमा भिन्नता नबुझेर पनि निराशा प्रकट गरिरहेका हुन्छन् । विकास र परिवर्तन एक अर्कामा निर्भर रहन्छन् तर एकै भने होइनन् । जसरी समयलाई सबैले परिवर्तनशील मान्दछन् त्यसरी नै समाज पनि परिवर्तनशील हुन्छ । समय र समाजको परिवर्तनलाई रोक्न सकिँदैन । समाजमा कतिपय अवस्थामा अत्यन्त सुस्त गतिमा परिवर्तन भइरहेको हुन्छ भने कतिपय अवस्थामा यो गति निकै तीव्र हुन्छ । समाजमा आएको परिवर्तनलाई सामान्यतया पचास वर्षभन्दा बढी उमेर पुगेका र अझ धेरै उमेर पुगेका मानिसहरुको कुरालाई सुन्नु पर्दछ । जीवन र समाजको हरेक क्षेत्रमा पचास वर्ष वा साठी वर्ष वा सत्तरी वर्ष पहिले कस्तो अवस्था थियो र अहिले कस्तो अवस्था रहेको छ भन्ने विषयमा तुलना गरेर हेर्ने, बुझ्ने हो भने परिवर्तनको अवस्था थाहा हुन्छ । समाजमा एकाध वर्षमा मात्र बुझिने गरी परिवर्तन नदेखिन सक्छ । हाम्रो समाजमा प्रचलनमा रहेका विभिन्न संस्कृति र सांस्कृतिक उत्सवहरुको पनि अध्ययन गर्ने हो भने समाजको भएको परिवर्तनको एक अंगलाई धेरै हदसम्म पहिचान गर्न सजिलो हुन्छ ।

हो, यस क्षेत्रमा भएको परिवर्तनलाई कतिपयले सकारात्मक मानेका छन् भने कतिपयले नकारात्मक मानेका छन् । अझ कतिपय संस्कृति तथा सांस्कृतिक सम्पदा नै लोप हुन लागेको वा कतिपय चाहिँ हराइसकेको बताउने गरिन्छ । यसै गरी कतिपय नयाँ संस्कृति पनि थपिएको वा पहिले ज्यादै अल्परुपमा मनाइने संस्कृतिले अहिले विस्तार रुप लिएको पनि भनिन थालिएको छ । छ सात दशक उमेर पुगेको समाजका सदस्यहरुले समाजमा आएको धेरै परिवर्तनलाई निकै नजिकबाट देखे र भोगेका हुनाले सामाजिक परिवर्तनका बारेमा सोध्दा हुन्छ कि समाजमा कति धेरै परिवर्तन भएको छ भनेर । वास्तवमा समाजका भएको परिवर्तन मानिसले गर्दा हो र मानिसमा नै अनेक किसिमको परिवर्तन आइसकेको छ । समय परिवर्तनशील भएकोले मानिसले परिवर्तनशील समयलाई आत्मसात गर्नु स्वाभाविक रहेको भन्न सकिन्छ । जति धेरै छिटो समाजमा परिवर्तन आएको छ, उति धेरै गतिमा मानिसका चाहना पनि बढेको छ । अझ समाजमा देखिएको परिवर्तनको तुलनामा विकास र परिवर्तनप्रतिको अपेक्षाको गति तीव्र रहेको देखिएको छ । के साँच्चै परिवर्तन हुँदै नभएको हो त ? कुनै पनि क्षेत्रको तथ्यांकलाई केही दशक पहिलेसित तुलना गर्ने हो भने वास्तवमा धेरै नै अन्तर पाएको देख्न सक्दछौँ । मुख्य गरी सामाजिक सञ्जाल र सञ्चार माध्यमको विकासले विश्वको कुना कुनामा भइरहेको वा भइसकेको विकाससित परिचित हुन पाएका छन् । विश्वमा भइरहेको विभिन्न घटना तथा वैचारिक परिवर्तनसित पनि रुचिअनुसार परिचित हुन पाइरहेका छन् ।

एकैपटक विश्वका ती प्रमुख शक्तिशाली देशहरुसित तुलना गरेर हेर्ने र आर्थिक विकासको दृष्टिकोणले एकैचोटि हामी विश्वको निकै पछाडि रहेको अवस्था पनि विद्यमान रहेको हुनाले दुईमा सन्तुलन गरेर दृष्टिकोण बनाउनु पर्ने हुन्छ । नेपालबाट विश्वका विभिन्न कुनामा गएर स्थायी वा अस्थायी बसोबास गरी गुजारा चलाइरहेका मानिसहरुमध्ये अधिकांश चाहिँ शिक्षित वा उच्च शिक्षित रहेका छन् र ती शिक्षित मानिसहरुले देखे र भोगेका कुरा यहाँ आफ्नो पैतृक गाउँमा रहेका बुबा आमा वा आफन्तलाई बताएर यहाँको अपेक्षामा वृद्धि गरेका हुन् कि भन्ने पनि देखिन आउँछ । यसै गरी सामान्य कामदारहरु विश्वका विभिन्न देशमा जाने र त्यहाँबाट फर्केर आएपछि यहाँको विकास तथा समाजको अवस्था हेरेर अलिकति असन्तुष्टि सञ्चार गर्ने गरेका छन् कि ? यसरी विश्वका विभिन्न देशको हावापानीबाट प्रभावित भई देशको विकास तथा परिवर्तनप्रति सकारात्मक चासो र चिन्ता देखाउनुलाई जायज पनि मान्न सकिन्छ किनभने यस्तोमा देशको विकासको गति अझ तीव्र हुनुपर्ने चाहना लुकेको छ भन्ने स्पष्ट हुन्छ तर देशमा विकास हुँदै भएन वा समाजमा कुनै परिवर्तन हुँदै भएन भन्नु चाहिँ त्यत्ति उचित नहोला कि ? सामाजिक परिवर्तनमा व्यक्तिको भूमिका पनि महत्वपूर्ण हुन्छ । आफ्नो समयलाई आर्थिक वा सिर्जनात्मक काममा उपयोग गर्ने हो भने त्यसले समाजमा परिवर्तन ल्याइरहेको हुन्छ वा सकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

यसै गरी आफ्नो समयलाई यदि त्यत्तिकै खर्च गरेर वा अनावश्यक काममा लगाएर खर्च गर्ने हो भने त्यसको अनुकरण अरुले गर्ने हुन्छ र त्यसले समाजको सकारात्मक परिवर्तनमा केही अवरोध सिर्जन ागर्न सक्दछ वा सकारात्मक परिवर्तन हुने समयलाई केही लम्ब्याउन पनि सक्तछ । कहिलेकाहीँ नकारात्मक परिवर्तनको अवस्थालाई अझ बढी विस्तार गर्दछ । हुन त सकारात्मक वा नकारात्मक परिवर्तन पनि समाजको स्वरुप तथा समाजको प्रकृतिमा निर्भर रहन्छ । एकै किसिमको परिवर्तन कतै सकारात्मक हुन सक्छ भने कतै नकारात्मक पनि हुन्छ । उदाहरणको लागि अत्यधिक जनसंख्या वृद्धि भइरहेको समाजलाई जनसंख्या नियन्त्रण सकारात्मक मान्नु पर्दछ भने जनसंख्या निरन्तर कम हुँदै गइरहेको समाजलाई जनसंख्या वृद्धि हुनुलाई सकारात्मक मान्नु पर्दछ । यहाँ जनसंख्याको आकारलाई मात्र हेरिएको छ । जनसंख्याका वृद्धि तथा नियन्त्रण दुवै सकारात्मक वा नकारात्मक हुने कुरा पनि समाजको अवस्थामा निर्भर रहने कुरा हो, देशको अवस्थामा निर्भर रहने कुरा हो । कतिसम्मको जनसंख्यालाई आदर्श जनसंख्या मान्ने भन्ने कुरो पनि आफैमा विचारणीय पक्ष हो । समाजमा विकास भइरहेको छ र निरन्तर विकास भइरहेको छ ।

अहिलेसम्मको विकासको गतिलाई विचार गर्दा समाजमा धेरै विकास भइसकेको छ । यो पूरा भइसकेको छ भन्ने होइन । अझै पनि कतिपय परिवर्तन गर्नुपर्ने कुराहरु रहेका छन् र कालान्तरमा परिवर्तन हुँदै जाने छन् । यद्यपि एक दुई शताब्दी पहिलेको समाजसित अहिलेको समाजलाई तुलना गरेर हेर्दा त अहिलेको समाज कति विकसित भएजस्तो लाग्दछ । यही मान्यताको आधारमा आगामी एक दुई शताब्दीमा झन् कति परिवर्तन होला भन्ने अनुमान लगाउन सक्छौँ तर यो क्षेत्रमा यस्तो परिवर्तन होला भन्ने ठोकुवा गर्न सक्दैनौँ । यति अवश्य भन्न सक्दछौँ कि विगत एक शताब्दीमा यस प्रकारको परिवर्तन आएको छ भने आउँदो एक शताब्दीमा यसै क्षेत्रमा यस प्रकारको परिवर्तन आउन सक्ला । अहिलेको अवस्थामा कतिपय सकारात्मक विचार ठानिएका विचारहरु हुन सक्छ कालान्तरमा नकारात्मकमा परिणत होला र अहिले रहेको वैचारिक दृष्टिकोणमा कालान्तरमा नवीनता आउला । नयाँ दृष्टिकोणले मानिसहरुले विचार गर्न थाल्लान् । राजनैतिक क्षेत्रबाट सबैभन्दा बढी समाज प्रभावित हुन्छ । राजनैतिक क्षेत्रको कुरो हेर्ने हो भने विगतको एक शताब्दीमा नेपालमा राजनीतिको अवस्था कस्तो उतारचढावपूर्ण रहेको छ । आगामी दिनमा कस्तो रहला भनेर केवल अनुमान मात्र गर्न सक्छौँ । यस्तो होला भनेर कदापि निश्चय भन्न सक्दैनौँ । हाम्रो देशको राजनीति जे जस्तो अस्थिर रहेको भए पनि राजनीतिको प्रभाव समाजमा त पर्दछ नि ?

परेको छ नि ? राणाकालको समाज, पञ्चायतकालको समाज र गणतान्त्रिक व्यवस्थाको समाजको बारेमा यदि गहिरो गरी अध्ययन गर्ने हो भने समाजमा धेरै परिवर्तन भएको पाउन सक्दछौँ । हो समाजमा भएको परिवर्तनलाई हामीले राजनीतिको कारणले भएको परिवर्तनको दृष्टिकोणले अध्ययन गर्नु आवश्यक हुन्छ । छुवाछुत, सतीप्रथा जस्ता सामाजिक कलकहरुलाई मुख्य गरी कानुन बनाएर नै हटाइएको हो । बोक्सी प्रथालाई पनि हटाउन कानुनले कम्ती कोसिस गरिरहेको छैन । अब बोक्सी प्रथा कतै अवशेषको रुपमा मात्र रहेको छ भन्न सकिन्छ । यस प्रकारका अनेक सामाजिक कलंकहरु अहिले हराइरहेका छन् र आगामी दिनमा पनि कतिपय विकृतिहरु विस्तार हराउने कुरामा अलिकति पनि शंका गर्नु हुँदैन । हो, भौतिक परिवर्तन अपेक्षाकृत कम भएको छ । यस कुरालाई स्वीकार गर्नु पर्दछ तर पछिल्लो दशकमा देशको भौतिक विकासको क्षेत्रमा भएको कामलाई भने नजरअन्दाज गर्न सकिँदैन । भौतिक विकासको क्षेत्रमा देशले गरेको प्रगतिले पनि समाजमा परिवर्तनको अपेक्षामा वृद्धि गरेको हो । यो हुन सक्छ कि कतिपय अवस्थामा अरुको सहभागिता वा सहयोगमा हुने विकासप्रति आफ्नो अपेक्षा अत्यन्त बढी छ र आफ्नो सहभागिता र सहयोगमा हुन सकिने परिवर्तनको क्षेत्रमा भने समाजले अपेक्षा गरेको जस्तो प्रगति गर्न नसकिएको हुन सक्छ ।

यसरी अर्काबाट अपेक्षा बढी राख्ने र आफूबाट प्रतिफल कम आउने अवस्थाका कारण पनि अपेक्षा बढी भएको र अपेक्षाको तुलनामा विकास वा परिवर्तन हुन नसकेको हो कि ? विकास र परिवर्तनमा सबैले आफ् नो भूमिका र सहभागिताको पनि मात्रालाई खोज्ने हो भने अलिकति बढी सकारात्मक प्रतिक्रिया पाउन सक्दछौँ । अर्को कुरा आलोचनात्मक वा नकारात्मक दृष्टिकोण राखेर कुनै कुराको मूल्यांकन गर्ने हो भने जतिसुकै राम्रो काममा पनि सन्तुष्टि पाउन सकिँदैन । समाजको विकास र परिवर्तनको मापनमा अलिकति यो फ्याक्टरले पनि काम गरेको हो कि ?

सञ्जय मित्र

Comment

Related News