२०७८ भाद्र १७, बिहीबार ०६:५७

नेपाली काँग्रेसका धेरै केन्द्रीय नेताहरू नेपाललाई हिन्दू राज्य कायम गर्नु पर्छ भने पक्षमा आ–आफ्ना विचार पोखिराखेका छन् । नेपाली काँग्रेसको हालै हुने महाधिवेशनमा ती नेताहरू हिन्दू राष्ट्रको प्रस्ताबलाई उठाउँछन् त ! नेपाली काँग्रेस एउटा प्रजातान्त्रिक पार्टी भएको हुनाले प्रजातांत्रिक विधिबाट अगाडि बढाउन चाहन्छ । बैधताको सही बाटो महाधिवेशन हो । महाधिवेशनले हिन्दू राज्यको एजेण्डालाई पास गरियो भने भोली संसदमा आवाज उठाउन सजिलो देखिन्छ ।

हुन त नेपाली काँग्रेस एउटा यस्तो पार्टी हो जहाँ सबैले आ–आफ्ना विचार राख्न स्वतंत्र हुन्छन् । यस प्रस्तावमा बहुमत पुग्छ कि पुग्दैन त्यो त भोलीको महाधिवेशन नै देखाउँछ होला । जेभए पनि एक चोटी प्रस्तावमा आई सकेपछि भोली तिर पक्कै आउने आशा राख्न सकिन्छ । नेपाली कम्युनिष्ट पार्टीहरू मध्ये केही प्रमुख पार्टीहरू समेत हिन्दू राज्यको कुरा परोक्ष रूपमा उठाउन शुरू गरिसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका निवर्तमान प्रधानमंत्री केपीशर्मा ओलीले केही गरेका काम तथा देखाएका व्यवहारले यसलाई प्रमाणित गरेको भन्न सकिन्छ । उहाँले पशुपतिनाथ मंदिर लगायत विभिन्न मंदिरमा गएर गरेका पूजापाठबाट प्रष्ट रूपमा हिन्दू धर्म प्रतिको आस्थालाई इंगित गर्दछ । अर्कोतिर नयाँ नयाँ प्राचीन धार्मिक स्थलहरू खोज गर्नु राम्रो कुरा भए पनि एउटा प्रधानमंत्रीले आफ्नै सरकारी निवासमा राम, लक्ष्मण तथा सीताका मूर्ति राखेर चितवनको ठोरी (आधुनिक अयोध्या) मा गएर स्थापित गर्नुले समेत यसलाई प्रमाणित गरेको देखिन्छ । यस्तै अन्य बायपंथी नेताहरू जे जति धर्म निरपेक्षताका कुरा गरेपनि मठ मन्दिरमा गएर आफूलाई समर्पण गर्नुले पनि हिन्दू धार्मिक आस्थालाई उजागर गर्न खोजेको देखिन्छ । हिन्दू राज्यको इतिहास तिर जाँदा नेपाल प्राचीन काल देखिनै एउटा हिन्दू राज्य थियो भने प्रमाणित भएको छ । राजा पृथ्वीनारायण शाह एकीकरण गरेदेखि नै हिन्दू परम्पराकै आधारमा राज्य व्यवस्था संचालन गर्दै आएका थिए । त्यसबेला कुनै लिखित संविधान नभएको हुनाले यसलाई संविधानमा राख्ने कुरै भएन । उहाँले एक चोटी जनतालाई संबोधन गर्दा भनेका थिए कि नेपाल ‘चार वर्ण, छतीस जातका एउटा फुलवारी हो’ ।

यसबाट के देखिन्छ भने हिन्दू बाहेकका धर्मालम्बीहरूमा यस्ता चार वर्ण र छतीस जात हुँदै होइनन् । अर्कोतिर राजालाई हिन्दूहरूका सनातन धर्म अनुसार राजालाई विष्णुको अवतारको रूपमा लिने गरिन्छ । यसरी राजा र हिन्दू धर्मको गहिरो सम्बन्ध रहेको कुरा प्रष्ट रहेको देखिन्छ । राजाहरू एकबाट अर्कोमा राज्यको शासन व्यवस्था पुस्तातरण गर्दै आए पनि हिन्दू धर्मको प्रमुखतामा कुनै आवाज उठेको देखिएन । यहाँका अन्य धर्मलाम्बीहरू समेत धार्मिक द्वन्द्वमा कहिले पनि फस्न चाहेनन् र शान्तिसँग जीवन विताउँदै आएका छन् । नेपालमा लिखित संविधानको शुरूआत २००४ सालदेखि भएको छ । त्यस संविधानमा पनि हिन्दूराज्य शब्दको उल्लेख नभए पनि प्रस्तावमा संविधानको स्रोतको रूपमा श्री पशुपतिनाथद्वारा सुरक्षित एवं संरक्षित देशको रूपमा उल्लेख भएको हुनाले हिन्दू राज्य सरहकै मान्यताको रूपमा स्वीकार गर्न सकिन्छ । यस्तै नेपालको अन्तरिम शासन विधान २००७ र नेपाल अधिराज्यको संविधान २०१५ ले हिन्दू राज्यको निरन्तरतालाई देखाएका छन् । नेपालको संविधान २०१९ ले आफ्नो प्रस्तावनामा नेपाली सार्वमौमसत्ता सम्पन्न राजतन्त्रात्मक हिन्दू अधिराज्यको रूपमा स्थापित भने वाक्यांशले हिन्दू राज्यलाई स्पष्ट उल्लेख गरेको देखिन्छ । नेपाल अधिराज्यको संविधान २०४७ ले पनि आफ् नो विशेषतामा प्रष्ट रूपले उल्लेख गरे अनुसार नेपाललाई बहुजातीय, बहुभाषिक, प्रजातान्त्रिक, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न हिन्दू, सबैधानिक राजतंत्रात्मक राज्यको चिनारी भनेको छ । यसबाट समेत के बुझिन्छ भने नेपाल सबैधानिक रूपले एउटा हिन्दू राष्ट्र थियो । नेपालको अन्तरिम संविधान २०६३ ले आफ्नो बिशेषतामा हिन्दू शब्दलाई हटाइ यसरी उल्लेख गरेको छ । यस संविधान अनुसार धर्म निरपेक्षता, कानूनी शासन, स्वतंत्र न्यायपालिकाको व्यवस्था उल्लेख छ ।

यहीदेखि राजतंत्रको समेत अन्त भएको देखिन्छ । यस्तै नेपालको संविधान २०७२ ले आफ् नो मुख्य बिशेषतामा धर्म निरपेक्षता (धर्म निरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म संस्कृतिका संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतंत्रता भनी व्याख्या) को उल्लेख छ । यसले सनातनदेखि चलिआएका धर्म संस्कृतिका संरक्षणका कुरा समावेश गरेका छन् । यस संविधानले नेपालमा युगौंदेखि रहेका धार्मिक परम्परालाई पक्कै उखेलेको देखिन्छ । यसै निरपेक्षता शब्दको आडमा विभिन्न धर्मालम्बीहरू नेपालमा निकै चलखेल गर्न पाएका छन् । जुन धर्मालम्बीहरूको जनसंख्या प्रतिशत नगण्य थियो सो धर्मको बृद्धिले गर्दा के देखिन्छ भने भोलीको धार्मिक बनौटमा निकै ठूलो परिवर्तन हुनेमा कुनै शंका छैन । धर्म मानिसको संस्कारको एउटा आधार हो । धर्मले हाम्रो परिचय दिन्छ । नेपालको धार्मिक बनौटतिर हेर्दा हिन्दूको जनसंख्या प्रतिशतमा क्रमशः कमी आएको छ । नेपालको राष्ट्रिय जनगणना अनुसार सन् २०८० मा हिन्दूको संख्या १३,४४५,७८७ (८९.५०५) रहेको मा सन् २०११ मा सो संख्या २१,५५१,४९२ (८१.३४५) मा झरेको छ । यस डाटाबाट हिन्दूको जनसंख्या प्रतिशत ८.१६ ले कम भएको देखिन्छ । अन्य धार्मिक समूहहरूको जनसंख्या प्रतिशतमा बृद्धि भएको छ । यस्तै अनुपातमा बृद्धि हुँदै आयो भने भोलीका दिनमा धार्मिक संरचना पूरै परिवर्तित अवस्थामा हामी पाउने छौं । यसले देशको सबै अंगलाई अपरोक्ष तथा परोक्ष रूपले प्रभावित गर्न सक्ने कुरामा दुई मत हुन सक्दैन । विश्वका समृद्ध धार्मिक समूहहरू नेपालमा आएर हिन्दू धर्मलाई कसरी कमजोर बनाउने त्यतातिर लागी परेको देखिन्छ । यसैले होला विभिन्न पार्टीहरू आ–आफ्ना व्यवहारबाट पुनः हिन्दू राज्यलाई संवैधानिक रूपले नै लिपिबद्ध गरेर यसको संरक्षण गर्न चाहेका छन् । विगतमा राजा सत्ताच्यूत भएदेखि अर्थात २०६३ को अन्तरिम संविधान आए देखि नै राष्ट्रिय प्रजातंत्र पार्टी राजा र हिन्दू राज्यको पुनस्र्थापना गराउन जोरदार आवाज उठाउँदै आएको छ । तर राजा विरेन्द्रको देहावसान पश्चात राजाप्रतिको धारणामा जनता विपक्षमा देखिन्छ ।

अहिले राजाको कुरो नउठाए पनि हिन्दू राष्ट्रको कुरालाई धेरै पार्टीहरूले डाइरेक्ट रूपमै उठाउन थालेका छन् । अर्कोतिर छिमेकी राष्ट्र भारतमा अहिले हिन्दूवादी पार्टीको सरकार छ । उनीहरू लगायत भारतमा बसोवास गर्ने सम्पूर्ण हिन्दू समूहहरू नै नेपाललाई हिन्दू राष्ट्रको रूपमा हेर्न चाहन्छन् । भारतीय जनता पार्टीका नेताहरूको उद्घोषले समेत यस कुरालाई प्रमाणित गर्दछ । विश्वको सन्दर्भलाई हेर्ने हो भने जहाँ जहाँ जुन धर्मको बाहुलियता छ त्यस धर्मले राज्य सतामा उतिकै पकड राखेको देखिन्छ । मुस्लिम देशहरू त अझै आफ्ना कट्टरतामा सबैभन्दा अगाडि देखिन्छ । उनीहरू राज्य संचालनमा धर्मलाई प्रमुख स्थान दिएको देखिन्छ । अहिले अफगानिस्तानमा देखिएको कट्टरतालाई हेर्दा मुस्लिमहरू आफ्नो धर्म र संस्कृति प्रति कतिको सजग छन् विचारणीय देखिन्छ । नेपालमा लगभग ९० प्रतिशत हिन्दू हुँदा पनि कसको प्रभावमा धर्म निरपेक्षता लाद्न खोजेको हो बुझ्न सकिएन । यस्ता विवादित कुरालाई निराकरण गर्न कतिपय पार्टी तथा नेताहरू जनमत संग्रहको कुरा उठाइ रहेका छन् । जनमत संग्रहबाट यसको निराकरण गर्नु कुनै नराम्रो पक्ष त लाग्दैन । जनताको मत त प्रजातंत्रमा सर्बोपरि हुँदो रहेछ । नेपालमा अहिले पनि अधिकांश जनता धार्मिक निरपेक्षतालाई स्वीकार गर्न चाहिरहेका छैनन् । यहाँ पार्टीहरूले धार्मिक तथा जातीय कट्टरतालाई नियन्त्रण गर्न धर्म निरपेक्षता शब्द ल्याएका कुरा एकातिर राम्रो भएपनि अर्कोतिर यसको संरचनालाई खलल पार्ने कामलाई रोक्न सक्नु पर्दछ तर एउटा धर्मले अर्को धर्ममा हस्तक्षेप गर्दा, किनबेच गर्दा, प्रलोभनमा पारी धर्म परिवर्तन गराउँदा कही कतै यसको रेखदेख भएको देखिएन ।

यसले गर्दा परम्परादेखि चलिआएका रीतिरिवाज, धर्मकर्म, व्यवहार, विश्वास, चलनचल्ति आदि भताभुंग हुन थालेका हुन् । नेपाललाई संविधानमा कानूनी राज्य त लेख्यौं तर व्यवहारमा उतारेको देखिएन । अहिले पनि कतिपयले कानून भन्दा माथि उठी अवैधानिक काम गर्दा देशले कानूनी दायरामा ल्याउन सकेको छैन । हिन्दू राज्यलाई हटाएर धर्मनिरपेक्ष राज्य कायम गर्न कुनै पार्टी जनसमूह तथा नागरिक अगुवाहरूले विद्रोह गरेका थिएनन् । केही व्यक्ति र जातिको बहकाउमा आएर सोझै यत्रो निर्णय लिनु भनेको दूरगामी परिणामलाई ठाढै बेवास्ता गर्नु हो । अहिले समय परिवर्तन हुँदै छ । नेपाली कांग्रेस मात्र होइन अन्य पार्टीहरू समेत हिन्दू राज्यको पुनस्र्थापनातिर ढल्किन लागेको देख्दा भोलीका दिनमा नेपालमा हिन्दू राज्य पक्कै कायम हुन्छ भने विश्वास गर्न सकिन्छ । अस्तु । लेखक त्रिविका सेवानिबृत सह–प्राध्यापक हुनुहुन्छ ।

Comment

Related News

Latest News

Trending News