२०७८ भाद्र २२, मंगलवार ०७:०७

मानिसको ज्ञान र चेतनाको विस्तार उसको भौतिक सम्बन्ध र इतिहासको जानकारीको विस्तारमा निर्भर गर्छ । इतिहासबोध बिनाको ज्ञान अन्धविश्वास जस्तै हुन्छ । इतिहासबोध बिनाको ज्ञानलाई हामी मिथ भन्छौ । मिथ तथ्य होइन, तार्किक र निजी विश्वासमाथी आधारित हुने गर्छ । संक्षेपमा भन्नु पर्दा इतिहास प्रामाणिक हुन्छ, भने मिथ निजी विश्वासमा आधारित हुन्छ । इतिहासबोधले धेरै पुरानो घटना–परिघटनाबारे मानवीय ज्ञानलाई प्रभावित गर्छ, भन्ने पनि छैन ।

यसले हाम्रो ताजा इतिहासलाई समेत प्रभावित गर्छ । उदाहरणको रुपमा हामी धर्म, सम्प्रदाय, र हाम्रा पर्वतिहारको उत्पत्तिबारेको हाम्रो ज्ञानलाई लिनसक्छौँ । पुरातत्व र इतिहासको खोजीकर्ताहरु प्रमाणको खोजी गरेर वेद, पुराण, बाइबल र कुराण आदि धर्मग्रन्थहरुको सृजना कहिले भएको भन्ने जवाफ खोज्न सफल भएका छन् । यस आधारमा तत्कालीन पात्रहरु बारे निश्चितरुपमा भन्न नसकेपनि तत्कालीन समाजको चरित्र, मनोविज्ञान र सामाजिक संरचनाबारे हामीलाई यथेष्ट थाहा हुन्छ । ती ग्रन्थहरुमा वर्णित सामाजिकता तथा घटनाक्रमलाई खोजी भएको इतिहाससंग तुलनात्मक अध्ययन गरेर त्यसको रचनाकाल र ऐतिहासिकता बारे जानकारी पाइन्छ । यसबाट थाहा हुन्छ कि हजारौँवर्प पुरानो विश्वास गरिएका तथा अलौकिक भनिएका ग्रन्थहरु त दुईहजार वा हजार वा पाँचसय वर्ष पुराना मात्र छन् । तत्कालीन मानव समुदायबारे वैज्ञानिक र पुरातात्विक खोजको आधारमा नै आर्यहरुको सबैभन्दा प्राचीन ग्रन्थ मानिेएको ऋगवेदको रचनाकाल ४५सय देखि ४हजारवर्ष पुरानो भएको अनुमान गरिन्छ । तर धार्मिक ग्रन्थहरुलाई अपौरुषेय अथवा इतिहासको गणनाभन्दा बाहिर ठान्नेहरुले वेदादि ग्रन्थहरुलाई लाखौँवर्ष पुरानो ठान्छन् । इतिहासबोधको अभावकै कारण इसापूर्वको पहिलो शताब्दीदेखी इसा सम्बतको पहिलो शताब्दीको बीचमा रचिएको मनुस्मृति कयौँ हजारवर्ष पुरानो कृति भएको अन्धविश्वास पाइन्छ । यति मात्र कहाँ हो र ! हाम्रै पाला अथवा हामीले थाहा पाउने हाम्रो बाजेपालामा प्रचलित भएका पूजा र उत्सवहरु ऐतिहासिक जानकारीको अभावमा परापूर्वकाल देखिको महान पूजा र उत्सवहरुमा परिणत हुनजान्छ । सन्तोषीमाताको पूजाको उदाहरण लिउँ ।

यस्को कुनै पौराणिक आधार छैन । भारतको कुनै क्षेत्रमा लोकमान्यतामा पुजिने सन्तोषी देवीको कथाको आधारमा बिसौँ शताब्दीको आठौँ दशकमा एउटा हिन्दी सिनेमा बन्यो — जय सन्तोषी माता । कलात्मक र प्रभावशाली प्रस्तुतिको कारण यस फिल्म जबर्जस्त हिट भयो । सिनेमाहलहरुमा यस फिल्मले अकूत कमाई ग¥यो । संगसंगै चलाक पुरोहितहरुले यसलाई पौराणिक देवीको रुपमा स्थापित गरे र सन्तोषीमाताको पूजा धर्मभीडू हिन्दुसमुदायमा फैसन जस्तै लोकप्रिय भयो । अहिले सन्तोपीमाताको लहर अत्यन्त न्यून छ । यो पौराणिकता बारे इतिहासको तथ्यात्मक ज्ञानको अभाव नै थियो कि केही दशक पहिले व्यावसायिक उद्देश्यले जन्माइएकी सन्तोषीमाता अनन्तकाल पहिलेकी पौराणिक देवीमा स्थापित भइन । सन्तोषीमाताको कथामा उनलाई गणेशको छोरी भनिएको छ, तर पौराणिक ग्रन्थहरुमा यस्तो उल्लेख कतैपनि पाइँदैन । एउटा अर्को उदाहरण लिउँ । यसै हप्ता नेपाल र भारतका मैथिली र भोजपुरी समुदायले मिथिलाको विशिष्ट साँस्कृतिक लोकपर्वको रुपमा चौरचन (चौठचन्द्र) मनाउँछन् । सामान्यतः यसलाई चन्द्रदेवताको पूजा भनिन्छ। समयसंगै चौरचनका अनेक कथाहरु गढिएका छन् । यद्यपि चौरचनमा लोकविधिकै प्रचलन हुन्छ । विविध प्रकारका व्यञ्जनहरु, मिष्ठान्नहरु र फलहरु भाद्र शुक्ल चतुर्थीको साँझमा चन्द्रमा उदाएपछि उनलाई अघ्र्यको रुपमा अर्पण गरिन्छ ।इष्टमित्रलाई निम्तो गरिन्छ र परिवारका सदस्यहरु एकठाउँमा बसेर रमाउँदै खानपीन हुन्छ ।मिथिलाको विशिष्ट लोकपर्व भनिने यो पर्व मैथिली र भोजपुरी क्षेत्रमा र गंगा नदीको दक्षिणी किनारासंग जोडिएको मगघ(मगह) क्षेत्रमा समेत अभिजात्यदेखी श्रमजीवि सबै जातिमा प्रचलित लोकप्रिय पर्व हो । शास्त्रीय मान्यताको आधारमा भाद्र शुक्ल चतुर्थीको दिनलाई कलंकित मानिन्छ ।

यस दिन चन्द्रमालाई गुरुपत्नी फकाएर लगेको दोष लागेको थियो । धेरै ठाउँमा यस दिन चन्द्रमातिर ढुङ्गा फालेर आक्रोश प्रकट गर्ने चलनपनि छ । यसै दिन मिथिलामा कलंकित चन्द्रमालाई पूजा अर्चना किन गरिएको होला ? भन्ने तर्फ खोजी गर्ने हो भने रोचक ऐतिहासिक तथ्य फेला पर्छन् । समयसंगै यो लोकपर्वमा परिणत भएकोमा दुईमत छैन । तर ऐतिहासिक तथ्य के हो भने चौरचन सत्ताबाट जन्मेको पर्व हो, जो क्रमशः लोकप्रिय हुँदैगयो । वस्ततः यो भारतीय क्षेत्रको तिरहुत राज (हाल दरभङ्गा राजको रुपमा परिचित)को अन्तिम राजवंश खण्डवलावंशको सातौँ राजा राघव सिंह (इस्वी सन् १७००–१७३९)को पालामा शुरु भएको हो । कर नबुझाएको विवादमा तत्कालीन बङ्गाल– बिहारका नवाब अलीबर्दी खानले गिरफ्तार गरेर राजा राघवसिंहलाई सपरिवार पटना लगेका थिए । पछि राजाले वार्षिक तिर्नुपर्ने कर निर्धारण गरेर उनलाई भाद्र शुक्ल चतुर्थीको दिन मुक्त गरिएको थियो । यसै खुशीमा चौरचन वा चौठचन्द्र पर्व शुरु भएको हो । कामेश्वरसिंह विश्वविद्यालय, दरभङ्गाबाट प्रकाशित डा. रामप्रकाश शर्मा लिखित ‘मिथिलाक इतिहास’को अध्ययन गरे यसबारेमा विस्तृत जानकारी पाइन्छ । राजा राघवसिंहको जनकपुरको इतिहाससंग पनि सम्बन्ध छ । तत्कालीन तिरहुत राजसंग नेपालको मकवानपुरका सेन राजाहरुको सीमा विवाद थियो । त्यतिबेला जनकपुर मकवानपुरे शासन अन्तर्गत पँचमहाल परगनाभित्र थियो । यसै सीमा विवादको कारण यस क्षेत्रका स्थानिय शासक (भारतीय इतिहासमा पँचमहाल परगनाको राजा भनिएको छ)भूपसिंहसंग राजा राघवसिंहको युद्ध भएको थियो । यस युद्धमा भूपसिंह मारिए । यसैवर्ष अर्थात सन् १७३९मा राजा राघवसिंहको पनि मृत्यु भयो र छोरा विष्णु सिंह तिरहुत राजको राजा भए ।

त्यसको चारवर्षपछि अर्थात सन् १९४३मा उनि जनकपुरमा रामनवमी मेलामा सपरिवार भागलिन आएका थिए । यसै मौकापारी भूपसिंहका सन्तानहरुले राजा विष्णु सिंहको डफ्फामाथी आक्रमण गरे । राजा विष्णुसिंह जनकपुरमै मारिए । उनकी रानी केही गरी भाग्न सफल भइन, तर हाल भारतको मधुबनी जिल्लामा पर्ने कोइलख गाउँको मुर्कट्टी गाछीसम्म भूपसिंहका सन्तानहरुले रानीको डफ्फामाथी आक्रमण गरिरहे । महामहोपाध्याय पण्डित परमेश्वर झाले सन् १९२१मा लेखेको मिथिलातत्व विमर्शमा यस घटनाको विषद् चर्चा गरेका छन् । महामहोपाध्याय झाका अनुसार त्यसपछि त्यसवंशका राजाहरुको जनकपुरको रामनवमी मेलामा आउने क्रम रोकिएको थियो । विषयान्तर भयो । विषयमा फर्कौँ । मिथिलामा चौरचन मनाए जस्तै महाराष्ट्रमा भाद्र शुक्ल चतुर्थीकै दिन गणेशपूजा गर्ने लोकप्रिय चलन छ ।अहिले त गणेश चतुर्थीको रुपमा नेपाल भारत मात्र होइन, हिन्दु समुदाय बस्ने प्रायः सबै ठाउँमा गणेशको मूर्ति बनाएर पूजा गर्ने चलन लोकप्रिय छ । अब त यस पर्वको बारेमा पनि कल्पित पौराणिक पात्र र घटना रचेर यसलाई पनि परामूर्वकालकै पर्वको रुप दिएको छ । यसका पूजा विधि र महिमावर्णित कथाहरु पनि विकसित भएका छन् । तर यस पूजाको शुरुआतपनि धेरै पुरानो छैन । गणेशपूजाको शुरुआत महाराष्ट्रका पेशवाहरुले गरेका थिए । त्यतिबेला उनिहरुले आ–आफ्ना घरमा गणेश पूजा गर्थे । तर अहिले जसरी यो उत्सव सामाजिकस्तरमा लोकप्रिय देखिन्छ, त्यसको शुरुआत सन् १८८३मा भारतमा अँग्रेजविरोधी आन्दोलनमा गरमदलका एक नेता बालगंगाधर तिलकले आन्दोलनमा मानिसहरुलाई एकजूट गराउने उद्देश्यले मुम्बई (तत्कालीन बम्बई)मा गणेशको मूर्ति बनाएर सार्वजनिकपूजाको रुप दिए । वर्षेैपिच्छे बढदो जनसहभागिताले यस गणेशउत्सवलाई लोकप्रिय र व्यापक बनाउँदै लग्यो । तिलक जनताबीच लोकमान्यको रुपमा प्रसिद्ध थिए र श्रद्धावश उनलाई लोकमान्य तिलकको नामबाट बोलाइन्थ्यो ।

अँग्रेजविरोधी संघर्षमा मानिस जुटाउने यस विधिलाई अन्य प्रदेशमा पनि प्रयोग गरियो । केहीवर्ष पहिलेसम्म गणेशचतुर्थी शिक्षकलाई सम्मान गर्ने दिनको रुपमा पनि मनाइन्थो । यस दिन आफ्ना विद्याथीहरुलाई पछि लगाएर गुरु अभिभावकको घर पुग्थे । घरमा उनले छात्रको आँखामा पट्टी बाँध्थे, उनिसंग आएका अरु विद्यार्थीहरु भट्याउँथे — जय गणेश, जय गणेश, जय गणेश देवा, माता तोर पार्वती पिता महदेवा …आदि आदि । विद्यार्थीका माता पिताले अन्न, नगद, लुगा फाटो, छाता, जुत्ता आदि गच्छे अनुसार दिएर गुरुलाई सम्मान गरेर खुशी पार्थे र गुरुले विद्यार्थीको आँखाबाट पट्टी खोली दिन्थे । प्रत्यक्षमा त यो गुरु अभ्यर्थनाको अवसरपनि थियो, तर यसै निहुँमा अँग्रेज विरोधी भावना जनमानसमा प्रसार गर्ने कार्यपनि यी शिक्षकहरुले गर्ने गर्थे । भारत स्वतन्त्र भइसकेको कम्तीमा पचासवर्ष सम्म यो चलन कायम नै थियो । शिक्षापेशाको निम्ती नेपाल पसेका यी गैरसरकारी शिक्षकहरुसंगै यो चलन नेपालको तराई मधेशमा कम्तीमा तीसवर्ष पहिलासम्म प्रचलनमा थियो । देशमा सरकारी विद्यालयको स्थापना हुँदै गएपछि यो गुरु शिष्यको यो परम्परा क्रमशः हराउँदै गएको देखिन्छ । फेरी विषयान्तर भयो । तात्पर्य के हो हरेक घटना र परिघटनाको पछाडी ऐतिहासिकता लुकेको हुन्छ । हाम्रो चेतना र मनोजगत अतार्किक र अनैतिहासिक निजी अनुभूति र विश्वासमा निर्मित मिथ हुने हो वा ऐतिहासिक तथ्य र वैज्ञानिक विवेकमा आधारित हुने हो, यसै इतिहासबोधमा निर्भर गर्छ । वस्तुतः मानिसको मनोजगतको विस्तारको आधारपनि यो इतिहासबोधमा आधारित ज्ञान नै हो । इतिहास र विज्ञानले हाम्रो मनोजगतमा सत्यको खोजीको निम्ती तथ्यमा आधारित तर्कलाई हमेशा प्रेरित गर्छ । निजी अनुभूति र मिथमा आधारित मनोजगतले सत्यलाई अलौकिकतामा व्याख्या गर्छ र तर्क नगरी जे जस्तो छ, त्यसतै स्वीकार गर्न विवश गर्छ । हरेक उत्सव, पर्व, र साँस्कृतिकताका पछाडी यस्तै ऐतिहासिकता लुकेको हुन्छ ।

समयसंगै ती ऐतिहासिकता हराउनेगर्छ र एउटा रुढ मान्यता मात्र हामीसंग बाँकी रहन्छ । तर वर्तमान समुदायको संरचनाको एकताको सूत्र खोज्न हामीले हाम्रा खुशी, दुःख, वैषम्यता र समानताका इतिहास खोतल्नै पर्छ । अहिलेको समाज विविध कोणबाट विभाजित छ । राजनीति, सँस्कृति, धर्म, जाति, सम्प्रदायका छट्टूहरुले आफ्नो स्वार्थपूर्तिको निम्ती नक्कली इतिहास र तथ्यहरुको रचना गरेर विभाजनलाई बल पु¥याई रहेका छन् । यस्तोमा इतिहासबारे सही बोधले नै समुदायलाई एकीकृत गर्न सक्छ । सत्तानिर्मित इतिहास होइन, लोकनिर्मित इतिहासको खोजी गर्नु नै अहिलेको आवश्यकता हो ।

Comment

Related News

Latest News

Trending News