२०७८ भाद्र २३, बुधबार ०७:४९

अक्षरसित परिचित हुनु साक्षरताको पहिलो अर्थ हो । यसको अर्थ यो हो कि अक्षरलाई चिन्दछ । साक्षरताले अक्षरलाई चिन्नुसित मात्र सम्बन्ध भएर अर्थ प्रस्तुत गर्दैन । यसको अर्थ हुन्छ अक्षर लेख्न पनि सक्नु । अक्षर लेख्नु र पढ्नु भनेको सामान्यतया अक्षरसित परिचित हुनु हो । अक्षरले शब्द बन्ने र शब्दले अर्थ दिने हुन्छ । साक्षरतामा अक्षर देखिए पनि यहाँ अक्षरको अर्थ शब्दको तह हो भन्ने बुझ्नु आवश्यक हुन्छ । नत्र कुनै अक्षर चिनेर कोही साक्षर भइहाल्दैन । साक्षरताले अक्षरबाट बनेको शब्दको अर्थ बुझ्ने सन्दर्भ पनि राख्दछ । अक्षरसहित भन्नुको अर्थ हो अक्षरले दिने अर्थसहित । अक्षरले जे अर्थ दिन्छ वा अक्षरको संयोगले जे अर्थ दिएको हुन्छ, त्यसको भावलाई बुझ्नु पर्छ । अक्षरको भावलाई बुझ्नु भनेको शब्दार्थलाई मात्र बुझ्नु होइन । शब्दार्थ र भावार्थ फरक हुन सक्छन् । कुनै समयमा कुनै शब्दको अर्थ नै प्रधान हुन्छ भने कुनै समयमा कुनै शब्दले दिने अर्थभन्दा त्यसको भाव नै प्रमुख हुन्छ । उदाहरणको लागि कसैले मेरो घर मेनरोडमा छ भन्यो भने उसले मेनरोडको सडकलाई छेकेर घर बनाएको छ भन्ने अर्थ दिँदैन । सडकमा त कसैको घर हुँदैन । घर त सडकको छेउमा हुन्छ । यसैले यहाँ मेरो घर मेनरोडमा छ भन्नुको अर्थ भन्ने मानिसको घर मेनरोडको छेउमा छ भन्नु हो । यसै गरी कसैले भन्दछ कि तेरो अनुहारमा बाह्र बजेको छ । यहाँ अनुहारका घडी देखेर समय बताएको अर्थ छैन । अनुहार मलिन छ, अनुहार उज्यालो छैन, अनुहारले स्वाभाविक अभिव्यक्ति दिइरहेको छैन, अनुहारले उसको फरक अवस्थालाई बताइरहेको छ, जसको अनुहारको प्रसंग छ, ऊ परसान छ वा दुःखमा छ वा उसका केही समस्याहरु छन् भन्ने भावबोध हुन्छ ।

अनुहारले फरक अनुभूति दिलाएको कुरालाई अभिव्यक्त गर्न यस प्रकारको शब्दावली प्रयोग गरिएको हो । हो, यसरी हरेक अवस्थामा शब्दले दिने अर्थ र भाव एकै नहुन सक्छ, यी दुईमा फरक पनि भाव हुन सक्छ भन्ने देखिन्छ । एक साक्षरले शब्द मात्र बुझ्ने कि शब्दले दिने अर्थ पनि बुझ्ने र शब्दले दिने भाव पनि बुझ्ने भन्ने पक्ष महत्वपूर्ण हुन्छ । हो, कुनै जमाना थियो होला कि कुनै मानिसले जब शब्दलाई चिन्दथ्यो तब साक्षर कहलाउँथ्यो तर समय बदलिँदो छ । समय बदलिइसकेको छ र युग निकै अगाडि बढिइसेको छ । अहिलेको अवस्थामा अक्षरलाई चिनेर मात्र साक्षर हुन सकिन्न । समयर परिवेशसँगै जनजीवनमा रहेका अनेक उखान र तिनको अर्थगत सम्बन्धलाई पनि पढेर अर्थ बुझ्न सक्ने क्षमता हुनु साक्षर हुनु हो । वर्तमान परिवेशमा साक्षरले कम्तीमा कुनै कार्यालयको पत्रलाई पढेर बुझ्न सक्ने, कार्यालय तथा सडकको छेउछाउमा रहने बोर्ड, ब्यानर तथा पत्रपत्रिकालाई पढेर त्यसको अर्थ बुझ्न सक्ने र अर्थलाई अरुलाई बुझाउन सक्ने क्षमता राख्नु पर्दछ भन्ने बुझिन थालिएको छ । यसै अर्थमा कतिपयले साक्षरतालाई दुइ रुपमा अथ्र्याउन चाहन्छन् ः सार्थक साक्षरता र निरर्थक साक्षरता । सार्थक साक्षरता भनेको वर्तमान अवस्थामा युगअनुसार अक्षर र शब्दको अर्थ तथा भावलाई राम्ररी बुझेर अभिव्यक्ति दिन सक्ने क्षमतासमेतलाई समेटिएको पाइन्छ भने निरर्थक साक्षरतामा चाहिँ अक्षर चिन्ने वा मुस्किलले आफ्नो नाम लेख्ने गुण भएको मानिसलाई बुझाउँछ । अहिलेको समयमा कक्षा दशसम्म पढेको अर्थात पुरानो कोर्सको एसएलसीसम्म पढेको मानिसलाई साक्षर भन्नु उचित हुन्छ भन्न थालिएको छ । यो साक्षरको नयाँ परिभाषा भने होइन । एक अर्थमा हेर्ने हो भने जुन जमानामा सामान्य अक्षर चिन्ने र लेख्न सक्ने मानिसको जति उपयोगिता थियो, त्यत्ति उपयोगिता अहिलेको युगमा पुरानो कोर्सको एसएलसी शिक्षाको रहेको छ कि छैन ? यसले पनि केही हदसम्म साक्षरताको नवीन मान्यतालाई आत्मसात गर्ने देखिन्छ ।

अझै पनि कतिपय क्षेत्रमा सालेप. अर्थात साधारण लेखपढ भनेर कम्तीमा कक्षा आठ उत्तीर्णलाई मानिएको पाइन्छ । मानिसको आधारभूत आवश्यकताको रुपमा गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई मानिएको पाइन्छ । पछिल्लो समयमा केही संघसंस्थाले सुरक्षालाई छैटौँ आधारभूत आवश्यकताको रुपमा लिनुपर्ने कुरामा जोड दिइरहेका छन् । हुन त सुरक्षा मानिसको आवश्यकता होइन भन्ने होइन तर गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यमै सुरक्षा पनि अन्तर्निहित हुन्छ भन्ने तर्क पनि गरिएको पाइन्छ । सुरक्षालाई मानव अधिकारसित जोडेर हेर्ने गरिएको पनि पाइन्छ । यहाँ सुरक्षासम्बन्धी छलफलभन्दा मानिसको आधारभूत आवश्यकतामध्ये शिक्षालाई पनि पहिलेदेखि नै मानिएको हुनाले शिक्षा र साक्षरताको सम्बन्धलाई थोरै चर्चा गर्न खोजिएको हो । शिक्षा र साक्षरता एउटै होइनन् । एउटै नहुँदा पनि पूरै अलग भने होइन । शिक्षा वा साक्षरता दुवै समय र परिवेशमा पनि निर्भर हुने हुन्छ । कुनै एक ठाउँको शिक्षित अर्को ठाउँमा पुग्दा सामान्य साक्षरको जस्तो नहुन पनि सक्छन् । यस पंक्तिकारसित एउटा यस्तो अनुभूति रहेको छ । केही वर्ष पहिले हामी एउटा यात्रामा थियौँ । यात्रामा रहेका सात जनामध्ये पाँच जनाले अंग्रेजी राम्ररी बोल्ने मात्र नभएर सिकाउने पनि थिए । क्याम्पसमा अंग्रेजी पढाउनेहरुको बाहुल्य रहेको हाम्रो टोली एउटा यस्तो सहरमा पुगेको थियो जहाँ लज, विश्रामगृह आदि केही पनि नबुझ्ने थियो । त्यहाँको स्थानीय भाषाबाहेक अरु कुनै पनि भाषा नबुझ्ने सहरमा थियौँ । चार घन्टा खोज्दा पनि बडो मुस्किलले एक ठाउँमा देवनागरी लिपिमा सानो अक्षरमा लज लेखिएको भेटाएका थियौँ । हाम्रो टोलीमा सबै सदस्य स्नातकोत्तर थिए । स्नातकोत्तर भए पनि भाषा नै नबुझ्ने ठाउँमा पुगेपछि हामी निरक्षर बराबर थियौँ । सामान्यतया अंग्रेजी जानेपछि विश्वको जुनसुकै कुनामा पनि गाह्रो हुँदैन भन्ने त्यसभन्दा पहिलेको सोचाइ त्यहाँ पुगेपछि कमजोर बन्न पुगेको व्यावहारिक भोगाइबाट बुझ्यौँ । अनि साक्षरताको पनि परिवेश हुन्छ ।

जहाँ मानिसले आफ्नो जीवनको सबैभन्दा बढी समय व्यतीत गर्दछ । त्यस परिवेशमा साक्षर हुनु पर्दछ भनिएको हो । एक कुनाको साक्षर देशको वा परदेशको अर्को कुनामा पनि साक्षर हुन्छ भन्ने होइन तर आफूले काम गर्ने वा आफूले बसोबास गरेको ठाउँमा आफ्नो शिक्षा वा साक्षरताले व्यवहारमा काम गर्न पाउने भने हुनु पर्दछ । यसकारण नै हुनुपर्छ कतिपय शिक्षितहरुले सजिलै स्वीकार गर्ने गर्दछन् कि म आफ्नो विषय वा क्षेत्रमा पोख्त छु भन्ने लाग्छ तर अन्य विषयमा म सामान्य साक्षर पनि छैन । उदाहरणको लागि वर्तमान युगमा कम्प्युटर प्रविधिको प्रयोग अत्यन्त बढेको छ तर कतिपय शिक्षितहरुले कम्प्युटर राम्ररी चलाउन सक्दैनन् । उनीभन्दा कम उमेरका मानिसले निकै सजिलोसित गर्न सकिने काम शिक्षितले कम्प्युटरमा गराउनको लागि निकै संघर्ष गर्नु परिरहेको हुन्छ । यस अवस्थामा त्यस्ता शिक्षित मानिस चाहिँ कम्प्युटरका सामान्य साक्षर पनि हुन नसकेको भन्न खासै अप्ठ् यारो मान्नु पर्दैन किनभने कम्प्युटरको साक्षरता र अन्य सामान्य शिक्षाको साक्षरतामा धेरै भिन्नता रहेको छ । यस कुरालाई व्यवहारमा प्रायः हरेक शिक्षित नागरिकले बुझेका छन् । दैनिक जीवनमा सामान्य साक्षरताको महत्व मुख्य गरी शिक्षित हुन नसकेका लागि बढी हुन्छ । जसले उच्च शिक्षा हासिल गरेका छन्, तिनका लागि साक्षरताको खासै मूल्य नहोला तर अहिलेसम्म धेरै मानिस सामान्य साक्षर हुन नसकेको यथार्थ पनि रहेको छ । देशको राजधानी काठमाडौँ अहिलेसम्म छ् यानब्बे प्रतिशत साक्षर भएको तथ्यांक बाहिर आएको छ । देशको सबैभन्दा निरक्षर भनेको प्रदेश दुईको रौतहट हो भन्ने तथ्यांक रहेको छ । यसलाई नै आधार मानेर अहिलेसम्म हेर्नुपर्ने हुन्छ वा हेरिएको पाइन्छ । रौतहटमा शिक्षा कमजोर छ वा सबै अशिक्षित छन् भन्ने होइन । देशको विभिन्न क्षेत्रमा रौतहटले पनि ठूलो योगदान पु¥याइरहेको छ ।

तर पनि साक्षरतामा सबैभन्दा पछाडि रहेको छ । साक्षरताको मुख्य बाधा भनेकै गरिबी हो । यस दृष्टिकोणलाई देशको मानव विकास सूचकांकलाई हेदौ पनि बुझ्न सकिन्छ । रौतहट चाहिँ मानव विकास सूचकांकमा निकै पछि परेको जिल्ला हो । यसले यो पनि बुझ्न सहयोग गर्नुपर्ने हो कि प्रदेश दुई मानव विकास सूचकांकमा खासै अगाडि रहेको प्रदेश होइन । यहाँको साक्षरता वा शिक्षा धेरै उच्च छ भन्ने होइन । यसलाई अझ एउटा फरक तरिकाले समेत बुझ्न सकिन्छ । यस प्रदेशका बासिन्दा यस प्रदेशभन्दा बाहिर कति धेरै संख्यामा उपचार गराउन जान्छन् र अन्य प्रदेशबाट यस प्रदेशमा कति धेरै संख्यामा उपचार गराउन आउँछन् ? यस प्रदेशबाट अन्य प्रदेशमा पढ्न जाने विद्यार्थीको संख्या धेरै छ कि अन्य प्रदेशबाट यस प्रदेशमा शिक्षार्जन गर्न आउने विद्यार्थीको संख्या धेरै छ । वास्तवमा धेरै कुरामा यो प्रदेश अझै आत्मनिर्भर हुन बाँकी रहेको देखिन्छ । शिक्षा र गरिबीको सम्बन्ध रहेको हुन्छ । जब गरिबले उच्च शिक्षा हासिल गर्न संघर्ष गर्नुपर्दछ यसको अर्थ यो पनि हो कि सबैभन्दा बढी निरक्षर भनेकै विपन्न समुदाय हुने गर्दछ । विपन्न समुदायलाई साक्षर बनाउने अभियान नै संचालन गर्नु आवश्यक रहेको छ र यदि सबै नागरिक साक्षर हुन सके भने जीवनको अन्य क्षेत्रमा पनि यसले निरन्तर सकारात्मक प्रभाव पारिरहन सक्छ । जीवनको हरेक क्षेत्रमा सकारात्मक प्रभाव पर्नुको यो पनि अर्थ हुन्छ कि देश चाहिँ सकारात्मक दिशामा अगाडि बढ्न सहयोग पुग्दछ । साक्षरता दिवसको अवसरमा यस प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने तिथिमिति पनि घोषणा हुन सक्यो भने यस प्रदेश र देशका लागि निकै सुखद खबर हुनेछ ।

Comment

Related News

Latest News

Trending News