२०७८ भाद्र ३१, बिहीबार ०७:१४

गरुडा । जनता समाजवादी पार्टी, नेपालका नेता एवं प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न पार्टीका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

आउँदो चैतमा स्थानीय तहको निर्वाचन हुन लागेकोले अहिलेदेखि नै निर्वाचनको तयारीमा जुटन पार्टीबाट निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य एवं चुनाव लड्न चाहने नेता कार्यकर्तालाई राज्यमन्त्री यादवले निर्देशन दिएका हुन् । गृह जिल्ला रौतहटमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताए । जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ५ मिठुअवामा जनता समाजवादी पार्टी नेपालले संगठन सुदृढिकरण एवं जनजागरण (सुज) अभियान अन्तर्गत बुधवार आयोजना गरेको नगर स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले अगामी निर्वाचनमा चुनाव जित्ने र जिताउने गरी तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् । तराई मधेशमा जसपा प्रति आम जनताको विश्वास र भरोसा रहेकोले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीले धेरै स्थानीय तहमा जित्ने मन्त्री यादवले दावी गरे । जसपा देशको वैकल्पिक शक्तिको रुपमा उदय भएकोले पार्टीलाई अझै मजबुत बनाउन सबैलाई एक ढिका भएर लाग्न उनले आग्रह गरे । एक अर्को प्रसङ्गमा बोल्दै राज्यमन्त्री यादवले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं रौतहट क्षेत्र नं १ का सांसद अनिल झा क्षेत्रवासीलाई ठग्ने काम गरेको आरोप लगाए । रौतहट क्षेत्र नं १ मा जम्मा ४१ वटा वडा रहेको छ ।

४१ वटा वडाको विकासका लागि आउने संसदीय कोषको करोडौ करोड रकम सांसद झाले कुनै पनि वडाको विकासमा खर्च नगरी आफना निजी कम्पनीमा लगाउने गरेको दावी गरे । सांसद झाले जयनगरस्थित अस्पताल सञ्चालन गर्न भनी आफु र आफना श्रीमतीको नाममा अनिल एण्ड डिम्पल फाउण्डेशन प्राइभेट लिमिटेड नामक निजी कम्पनी दर्ता गराएको उनले बताए । प्रतिनिधिसभा सदस्य झाले दर्ता गराएको आफना निजी कम्पनीमा नै सांसद विकास कोषको सबै रकम लगानी गरी जनताको विकासभन्दा बढी आफनै विकास गर्न लागेको उनले आरोप लगाए । सांसद विकास कोषको करोडौ रकम क्षेत्रको विकास गर्नका लागि सरकारले दिने गरेको भएपनि सांसद झाले क्षेत्रको कुनै पनि गाउँमा विकास नै नगरी आफना निजी कम्पनीमा लगानी गरी जनतालाई धोका दिने र ठग्ने काम गर्दै आएको उनले थपे । क्षेत्रको विकासका लागि सरकारले प्रत्येक सांसदलाई ६/६ करोड बजेट दिने गरेको छ तर सांसद झाले सांसदमा निर्वाचित भएदेखि नै संसदीय विकास कोषको रकम अन्य कतै खर्च नगरी आफना निजी कम्पनीमा मात्र लगानी गर्दै आएको उनले बताए । जनताको विकास बजेट दुरुपयोग गरी आफना कम्पनीको विकास गर्ने सांसद झालाई आउँदो निर्वाचनमा जनताले पनि राम्ररी सवक सिकाउनु पर्ने धारणा उनले राखे ।

सोही कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुलाई मन्त्री यादवले पार्टीको चुनाव चिन्ह् छाता र गम्छा ओढाएर सम्मान गरेका थिए । माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेता गजेन्द्र ठाकुर, विरेन्द्र यादव, विर्झन यादव, वडाध्यक्ष जितेन्द्र कुश्वाहा लगायत पार्टीका सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News