२०७८ आश्विन २६, मंगलवार ०६:५७

गरुडा । पूर्वमन्त्री प्रभु साहले सरकारको गलत नीतिका कारण सीमा क्षेत्रका नागरिक दुख भोग्न बाध्य रहेको बताएका छन् ।

हिन्दूहरुको महान पर्व बडादशैं, शुभदीपावली तथा छठको अवसरमा रौतहटको देवाही गोनाही नगरपालिकाको कर्कच, कटहरिया नगरपालिकाको पोखरिया, डुमरिया तथा हथियाहीमा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा नेता साहले तस्करीको मालसामान पक्राउ गरे वापत प्रहरीले पाउने पुरस्कारको व्यवस्था हटाउन माग गरे ।

हाल प्रहरीले मान्छे सहित तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार स्वरुप ३० देखि ४५ प्रतिशतसम्म कमिसन पाइरहेको बताउँदै नेता साहले प्रहरीले पाउने यस्तो किसिमको कमिसनको व्यवस्था नै हटाउनुपर्ने धारणा राखे । कमिसन पाउने लोभमा यहाँका प्रहरीले जबरजस्ती तस्करीको सामान भनी पक्राउ गरी गरिव नागरिकलाई दुःख दिने गरेको नेकपा नेता साहले बताए । आफना दैनिकी चलाउन भारतीय बजारबाट किराना, कपडा, मलखाद लगायतका सामान खरिद गरी ल्याउँदा बोर्डरमा नेपाली सुरक्षाकर्मीले अवैध सामान भनी पक्राउ गरी अनावश्यक दुख दिने गरेको काम स्वीकार्य नभएको उनले बताए ।

प्रहरीको काम शान्ति सुरक्षा गर्ने, सीमाको रक्षा गर्ने तर यहाँका प्रहरीले शान्ति सुरक्षा गर्नेभन्दा बढी कमिसनको लागि गरिव जनताको मालवस्तु तस्करीको भनी समातेर भन्सार कार्यालयमा बुझाउनमा केन्द्रित भएको उनले आरोप लगाए । कार्यक्रमको अन्त्यमा नेता साहले दशै तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत र कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कटहरिया नगरपालिकाका नगर प्रमुख सीयाराम कुश्वाहा, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना देवी साह लगायतको उपस्थिति रहेको थियो ।

Comment

Related News

Latest News

Trending News