२०७८ आश्विन २७, बुधबार ०६:४७

राष्ट्रिय राजनीतिमा अनेक विकृति देखिएको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दूहरुको महान चांड दशैंको मौकाछोपी मंगलवार जारी गरको शुभकामना सन्देशमा राजसंस्थाको अपरिहार्यता रहेको तर्क अघि सारेका छन् ।

‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने बोध हामीले गरेका छौं ’ दशैंको शुभकामना सन्देशमा शाहले भनेका छन्, प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास हामीले लिएका छौ । पूर्व राजा शाहले देशमा भ्रष्टाचार बढेको, विदेश नीति असन्तुलित भएको र न्यायिक क्षेत्रमा विचलन आएको ठहर गरेका छन् । पूर्व राजा शाहले देशको वर्तमान राजनीतिक अभ्यासप्रति तीव्र असन्तुष्टि जनाएका छन् । ‘कुनै पनि परिवर्तनको मर्म देशको अन्तर सम्बन्धित हुने गर्दछ । त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूति गर्न सक्नु पर्दछ ’ पूर्व राजाको सन्देशमा अगाडि भनिएको छ, ‘दुर्भाग्यवश शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पु¥याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबै तिर निरासाको बादल छाएको छ ।’ त्यसैगरी सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म, संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकोले हाम्रो मन पोलेको शुभकामना सन्देशमा उल्लेख छ । ‘हाम्रो समाज सनातनिक आदर्श र पुख्र्यौली पौरखबाट पृथक छैन तर, हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेन ’ शुभकामना सन्देशमा भनिएको छ , लोक कल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने हो । तर, राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ ।

‘अतीतका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमान नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै क्रियाशील शक्तिहरूबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ,’ शाहले भनेका छन् । हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार हुने भन्दै उनले राजसंस्थाले वैचारिक आस्थाका आधारमा विभेद नगर्ने बताएका छन् । पूर्व राजाले विगतमा गरेको गल्तीहरुलाई घुमाउरो ढंगले स्वीकारगर्दै राजसंस्थाले राजनीतिक दलहरुले गरे जस्तो विभेद, आग्रह, पूर्वाग्रह नराख्ने वाचापनि गरेका छन् । देशको बिभिन्न भागहरुमा पूर्व राजाको पक्षमा उठेको आवाजलाई उनले समान्य रुपमा नलिन चेतावनी समेत दिएका छन् । ‘शाहवंशीय राज पद्धतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि,’ शुभकामना सन्देशमा ज्ञानेन्द्रले भनेका छन्, ‘केही समययता जिम्मेवार एवं देशभक्त नागरिकहरूबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त विचारहरूलाई हामीले राष्ट्रिय अनुराग र निष्ठा मात्र प्रकट गरेको नभई आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चार समेत गराएको रुपमा बुझेका छौं ।’

Comment

Related News

Latest News

Trending News