२०७८ आश्विन २७, बुधबार ०७:३४

मानिसले जब सामाजिक, धार्मिक तथा सांस्कृतिक सीमालाई नाघेर समाजको विरूद्धमा विभिन्न क्रियाकलाप गर्न थाल्छन् जसबाट समाजका सबै सीमाहरू भत्किन जान्छ त्यसैलाई हामी दानवी प्रवृति भन्दछौं । समाज जसले रावण, कौरब, कंसका पदचिन्ह समातेर काम गर्न खोज्छन, त्यसैलाई हामी दानवी प्रवृतिको नामले बुझ्न सक्छौं । यस्ता प्रवृति पृथ्वीको आदिकालदेखि वर्तमानसम्म निरन्तर आइ रहेको छ । अहिले पनि समाजमा यस्तो दुई प्रवृति टड्कारो रूपमा हेर्न सकिन्छ । यस्ता प्रवृतिलाई निरूत्साहित गर्न सत्य, धर्म, तथा अहिंसाको बाटो नअपनाइ हुँदैन । यस्ता प्रवृति प्रत्येक मान्छेको मनमा हुन्छ । एउटाले भन्छ काटमार गर्नु राम्रो काम हो भने अर्को त्यसलाई नियन्त्रण गरेको हुन्छ । जब मनको असुरीय शक्ति बलियो हुन्छ त्यसबेला उ असामाजिक कामतिर बढेको हुन्छ । मानिस पृथ्वीमा रहेका सबै जीवजन्तु मध्ये सबै भन्दा बढी सजग प्राणी हुन् । यसले मानवीय जीवनलाई निरन्तरता दिन विभिन्न किसिमका सामाजिक तथा सांस्कृतिक कुराहरूलाई अपनाउनु पर्ने हुन्छ । यसको इतिहास तिर लाग्दा यस्ता निकै घतलाग्दा पर्व, व्यहोरा, उत्सव, धर्म कर्म रहेका छन् जसले हामीलाई असल मानवीय जीवन बिताउन सहयोग गरि रहेका छन् । यी पर्वहरूले दिएको उपदेश तथा अर्तीलाई मनन गरी अगाडि बढेमा यस्ता दाववी प्रवृतिलाई सजिलै परास्त गर्न सकिन्छ । यस्ता पर्वले हामीलाई गलत कामहरू गर्नबाट सचेत गराउँछ । दानवीय प्रवृति जति बलियो भएपनि कुनै कालमा सफल हुन सकेको छैन । त्रेतायुगमा रावण र द्वापरमा कौरब तथा कंस त्यस्तै प्रवृतिका थिए जो आफ्ना दानवी चरित्र टिकाउ राख्न सकेनन् । जसले असत्य, हिंसा तथा अधर्मको वाटो समात्छ त्यसको पनि त्यही गति हुनेछ ।

सत्य, अहिंसा तथा धर्मले मानवीय प्रवृतिलाई मार्गदर्शन गरेका छन् । प्रत्येक धर्मले हामीलाई सही बाटो हिड्न उपदेश दिँदा दिँदै पनि हामी कहिले काँही गलत बाटोतिर लाग्ने गर्छौ । हिन्दूहरूका परम्परा देखि बाह्रै महिना धेरै चाड बाडहरू रहेका छन् । यस्ता चाडहरू मध्ये एउटा महान चाड भनेको विजया दशमी हो । यस विजया दशमीलाई बडा तथा छोटा दशैं भनेर पनि बुझ्ने गर्छन । हिन्दूहरूका महान चाड विजया दशमी भएपनि प्रत्येक धर्मालम्बीहरूले सद्भावपूर्वक मिलेर नै यस पर्वलाई मनाउने गर्दछन् । पहिलो दशंै चैत्रको शुक्ल पक्षमा तथा दोस्रो दशैं अशोजको शुक्ल पक्षमा मनाउने गरिन्छ । चैते दशैंलाई छोटा दशैं तथा असोजे दशैंलाई बडा दशैं भने गरिन्छ । दशैंको अर्को नाम नवरात्रा पनि हो । नवरात्रामा प्रतिपदाका दिन शैलपुत्री द्वितीयामा ब्रह्मचारिणी, तृतीयामा चन्द्रघण्टा, चतुर्थीमा कृष्माण्डा, पंचमीमा स्कन्धमाता, षष्ठीमा कात्यानी, सप्तमीमा कालरात्री, अष्टमीमा महागौरी र नवमीमा सिद्धिदात्रीको पूजापाठ गरिन्छ । नवरात्रामा कुमारी कन्याहरूलाई स्नेहपूर्ण भोजन गराएर दान दक्षिणा दिने चलन छ । दशैं दिनमा घरको मूल ढोकामा र मूलथाममा साइतको टिका र जमरा टाँसेपछि मान्यजनबाट टिका जमरा र आशीर्वाद ग्रहण गर्ने काम कोजाग्रत पूर्णिमा सम्म चलि रहन्छ । धार्मिक विश्वास के छ भने देवीले दानवी शक्ति परास्त गरेर मानवीय शक्तिको उत्थान मात्र गरिनन् वरू सत्य तथा धर्म कहिले पनि झुक्दैनन, देखाउने काम समेत गरीन । यसैको स्मृतिमा हामीले प्रत्येक साल विजया दशमीको रूपमा यसलाई मनाउने गर्दर्छौ । अर्कोतिर धार्मिक रूपले यसलाई प्रमाणित गर्न पुरूषोत्तम रामचन्द्रले पत्नी सीतालाई हरण गरेर लै जाने दुष्ट रावणसँग युद्ध गर्न जानु भन्दा पहिलो नवरात्रभरि देवीको आराधनाबाट शक्ति प्राप्त गरी ठिक दशमीको दिनमा रावणलाई बध गरेका थिए । यसरी हेर्दा राक्षसी शक्तिलाई परास्त गरि असत्यमाथि सत्यको विजय भएको हुनाले स्मृतिको रूपमा सालै पिच्छे मनाउने गरिन्छ । अहिले दशैं मनाउने दुई प्रवृति देखिएका छन् । एउटा समूहले बलि प्रथाको पक्षमा छ भने अर्को समूह यसको विपक्षमा देखिन्छ । बलि प्रथाको विरोधमा उभिएका समूहरूका के भनाइ छ भने देवी दुर्गा कहिले पनि मांस, मदिरा भक्षण गर्दैनन् ।

मांस भक्षण गर्ने काम त राक्षसहरूले पो गर्छन । पहिलो समूह यसलाई मान्न विल्कुलै तयार छैनन् । यसरी दशैंमा मूल रूपले अष्टमी तथा नवमीका दिन खसी, बोका, परेवा, राङ्गा, हाँस, बत्तक आदि बलि दिने गर्दछन् । बली प्रथाको विरूद्धमा धेरै पहिलेदेखि एका–दुका आवाज उठाए पनि अहिले केही संघ संस्थाहरू समेत खुलेर आवाज उठाउन थालेको देखिन्छ । यो एउटा खुशीको पर्व हो । यसमा हत्या हिंसा हुनु हुँदैन । परिवारका सबै सदस्य जम्मा भएर मिठा मसिना खाने, राम्रो लाउने, गाउँ घर घुम्ने, भेटघाट गर्ने, मेला भर्ने गर्दछन् । मिथिला क्षेत्रमा दशैंको अझ बढी महत्त्व छ । त्यस बेला राजा महाराजादेखि सर्वसाधारण जनताहरू समेत यो पर्व मनाउने गर्दथे । अहिले पनि नेपालको गोरखाबाट फूलपातिको बढाइँ काठमाण्डौको हुनुमान ढोका दरवारमा भित्राउने चलन छँदै छ । फूलपातिका दिन टुँडीखेलमा नेपाली सैनिकद्वारा दशैंको बढाइँ दिने काम गरिन्छ जो निकै आकर्षक हुन्छ । दशैं एउटा सांस्कृतिक पर्व हो । जसले मानिसलाई नैतिकताको पाठ सिकाउने गर्दछ । संस्कृति भनेको संस्कार हो । संस्कारले हामीलाई शिष्ट हुन सिकाउँछ । यसबाट समाजमा सदाचार, अनुशासन र मर्यादा बढछ । नेपाल सरकार यसलाई राष्ट्रिय पर्वको रूपमा लिएको छ । दशैं अवधि भर विद्यालय, महाविद्यालय, न्यायालय लगायत अन्य केहि कार्यालयहरू समेत बन्द गरिन्छ । दशैंमा सप्तमी तिथिदेखि दशमीसम्म नेपालका सबै सरकारी कार्यालयहरूलाई दशैं मनाउन राष्ट्रिय विदा दिने गरिन्छ । यसमा एक आपसमा मिल्ने, खेल्ने, भोजभतेर गर्ने तथा खाने अवसर प्राप्त हुन्छ । यस पर्वमा पहाडदेखी तराईसम्म घर आँगन सफा सुग्धर गरी रंग रोगन लगाउने गर्दछन् । यसरी हेर्दा दशैं मान्छेलाई सर–सफाइसँग बस्ने पाठ समेत सिकाएको हुन्छ ।

राम्रो स्वास्थ्यको लागी सरसफाइ उत्तम मानिन्छ । तराईमा बढी जसो ठाउँमा मूर्ति पूजा भव्य रूपले गर्ने चलन छ । देवी दुर्गा, लक्ष्मी, सरस्वती, काली, पार्वती, कार्तिके, गणेश आदि देवी देवताका प्रतिमाहरू बनाएर पूजा–आर्चा गर्ने गरिन्छ । मानिसहरू यस्ता पूजा–आर्चा वडो निष्ठापूर्वक गरेका हुन्छ । नेपालको शक्ति पठिहरूमा जमरा राखी देवी दुर्गाको पूजा–आराधना गर्ने गरिन्छ । प्राकृतिक दृष्टिकोणले अशोज महिनामा बालीनाली लगाउने काम सकिएको हुनाले मानिसहरू अति प्रशन्नताका साथ यस पर्वलाई मनाउँछन् । यसमा केही वर्गका जीवन यापन गर्ने साधनको रूपमा पनि चित्रण गरिन्छ । मूर्ति बनाउने कलाकार, पूजा आर्चा गर्ने बाहुन बाजे, फूल दिने माली, पूजा पाठमा लाग्ने माटाका भाँडाकुँरा पु¥याइने कुम्हार, लत्ता कपडा बिक्री गर्ने साहु जस्ता मानिसहरू सोझै रोजगार पाएका हुन्छन् । यसको साथै मेला अवधिभर मीठाइ तथा कचरी मुढीको बिक्री बढी भएको देखिन्छ । यस बाहेक बच्चाका लागी विभिन्न खेलौना, श्रृंगारका समान, गरगहना, भाडा–वर्तन, फूल माला आदि व्यापारीरूका लागि एउटा कमाउने अवसर प्राप्त हुन्छ । अहिले विस्तारै मान्छेले भौतिक विकास तिरको ध्यान आकर्षणले नैतिकतामा ह्रास आएको देखिन्छ । गाउँ घरदेखि शहरसम्म लुटपाट, काटमार, हिंसा विभेद आदि बढेको देखिन्छ । सरकारी कार्यालयहरूमा भ्रष्टाचारका कुरा सुन्दा दिक्क लागि सकेको छ । पुरुषले महिलामाथि गरेको विभिन्न विभेद, अन्याय, अत्याचार, गर्न बिर्सेका छैनन् । चेली बेटीलाई हेप्ने, छोरा भन्दा, छोरीको महत्तव कम दिने, मार्ने पिट्ने आगोमा पालि दिने, घाँटी निमोठ्ने जस्ता अपराधिक घटनाहरू दिन दहाडै हुँदा कसैले बोलेको हुँदैन । यस्ता अनैतिक कामलाई नियन्त्रण गर्न यस्ता पर्वको महत्व निकै बढ्न जान्छ । यसबाट असत्य माथि सत्यको विजय, अन्याय माथि न्यायको जीत, पासविक प्रकृतिको नियन्त्रण जस्ता संदेश दिएका हुन्छन् । दशैंले धार्मिक सहिष्णुता, अन्तर जातीय सदभाव र राष्ट्रिय एकता पनि समेत बलियो बनाएको देखिन्छ । त्यसैले यो पर्व राष्ट्रिय मेल मिलाप तथा एकताको प्रतीक पनि बन्न गएको देखिन्छ । दशैंको अर्को पक्ष के रहेछ भने पुरूषले आफ्नो बाहुबलबाट महिषासुर जस्ता बलशाली राक्षसलाई परास्त गर्न नसकी अन्तमा यससँग भिड्ने जिम्मा महिलालाई सुम्पियो । पुरूषले गर्न नसक्ने काम महिलाले गर्न सक्छ भने कुरालाई उजागर गरेको छ । त्यसैले महिलालाई कमजोर बुझ्नु हुँदैन । उही महिला आमा, पत्नी, छोरी बुहारी भएर सेवा प्रदान गरेकी हुन्छन् ।

मानौ आज महिषासुर जस्ता बलशाली राक्षसलाई देवी दुर्गाले परास्त नगरेको भए विश्वनै राक्षसको हातमा हुने थिए होला । असत्य, अधर्म, हिंसा, दुराचार, अन्याय, अत्याचार जस्ता घटनालाई कसले रोक्थे होला । त्यसैले प्रत्येक महिला श्रद्धाकी पात्री हुन् । हामीले वहाँलाई उत्साहित गर्नुको बदला निरूत्साहित गरेका हुन्छौं । विचरी महिला, अवला नारी, एकल विधवा निःपुत्र, निसन्तान आदि भनेर हेपेका हुन्छन् र आफूलाई उच्च कोटीको छुँ भने आडम्बरी पदर्शन गर्नबाट पछि हत्दैन । यस्तो पबित्र पर्वलाई पाश्चात्य भौतिकवादी विचारको दुष्प्रभावले रूढिवाद र अन्य विश्वासमा आधारित भनेर दशैंको महत्ता कम गर्न खोजेका छन् । यस्तै धनीले बढी आडम्बरी काम गर्ने, गरीबले अधिक खर्च गर्ने, जुवातास खेल्ने, मद्यपान सेवन गरेर लडाइ, झगडा, मारकाट गर्ने, मेला आयोजना गरेर आयोजकबाट नै स्वीकृति प्रदान गरी जुवा खेल्न दिने, अश्लील नृत्य प्रदर्शन गर्ने, रक्सी खाएर गाली गलौज गर्ने जस्ता असामाजिक काम ठाउँ ठाउँमा भएको देखिन्छ । यस्ता कामलाई नियन्त्रण गर्न सरकार र जनता दुबैको परम कर्तव्य हो, होइन भने भोली हाम्रो संस्कृतिमा छाडापनको प्रवेशलाई कसैले रोक्न सक्दैन । अस्तु । लेखक जनसंख्या अध्ययन तथा समाजशास्त्रविज्ञ हुनुहुन्छ ।

Comment

Related News

Latest News

Trending News