२०७८ कार्तिक ७, आईतवार ०७:१७

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र विरोधी रहेको आरोप लगाएका छन् ।

उनले ओली संघीयता नचाहेको र संघीयतालाई समाप्त पार्न विभिन्न प्रपञ्च गरेको दावी गरे । रौतहट जिल्लाको यमुनामाइ गाउँपालिका– १ जेठरहियामा जसपा नेपाल जिल्ला समन्वय समितिले आयोजना गरेको पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष यादवले मधेश आन्दोलनको जगमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने योजना पूर्व प्रधानमन्त्री ओलीले गरेका कारण आन्दोलनको उपलव्धिलाई रक्षा गर्न जसपा संघर्षमा रहेको बताए । अध्यक्ष उपेन्द्र यादवले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपति प्रणाली हुनु पर्ने बताए । उनले मुलुकमा विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै अहिलेको आवश्यकता रहेकोमा जोड दिए । ग्रामीण भेगमा पशु मेला लाग्ने गरे झै सांसद खरीद बिक्री गर्ने मेला काठमाण्डुमा लाग्ने गरेको कटाक्ष समेत उनले गरे । निर्वाचन प्रणाली भद्रगोल भएकाले मुलुकमा समृद्धि ल्याउनको लागि निर्वाचन प्रणालीमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए । निर्वाचन प्रणालीमा सुधार नगरे सम्म मुलुकमा गरीब किसानको छोरो निर्वाचन लडन नसकिने भएकोले मत र सांसद खरीद बिक्री गर्ने प्रक्रियाले अराजकता फैलिएको प्रति चिन्ता व्यक्त गरे । उनले भने–‘प्रत्यक्ष निर्वाचित राष्ट्रति निर्वाचनमा गएपछि पाँच बर्ष सम्म स्थायी रुपमा सरकार चलाउन सक्छ जसले मुलुकको समृद्धिमा टेवा पुग्नेछ ।’ उनले सांसद खरीद बिक्री भएका कारण कुनै सरकार र पार्टी स्थायी रुपमा टिक्न नसकेको बताए । उनले मुलुकको समृद्धि हुन नसक्नुमा सांसद खरीद बिक्री प्रमुख कारक रहेको कारण यो प्रणाली विकास उन्मुख मुलुककालागि उपयुक्त नरहेको उनको भनाई थियो । विकास र समृद्धि ल्याउनको लागि आर्थिक क्रान्ति आवश्यक रहेको चर्चा गर्दौ उनले कृषि आधुनिकीकरण , भूमि औद्योगीकीकरण गरे मात्र समृद्धि आउने धारणा राखे ।

जनता समाजवादी पार्टी नेपाल बाट अलग भएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता प्रति लक्षित गर्दै अध्यक्ष यादवले भने–‘परिवर्तन विरोधीले ऐतिहासिक मधेश आन्दोलनबाट प्राप्त भएको उपलव्धिलाई समाप्त पार्न प्रतिगमनको साथ दिए ।’ प्रतिगमणकारी संग हातेमालो गर्नुले को संघीयताको पक्षधर र को विरोधी स्पष्ट भएको समेत उनले उल्लेख गरे । उनले सांसद विघटन गर्ने पूर्व प्रधानमन्त्री ओलीको विरुद्ध जनता समाजवादी पार्टीले मुलुकको नेतृत्व लिन तयार भएको अवस्थामा केही संघीयता विरोधीले धोखा दिएको घटना समेत उल्लेख गरे । महन्थ ठाकुर माथि लक्षित गर्दै अध्यक्ष यादवले भने–‘जसपाले प्रधानमन्त्री बनाउने खोजेको व्यक्ति ओलीको पिए निस्के ।’ संघीय सरकारका संघीय मामिला तथा स्थानीय विकास मन्त्री राजेन्द्र श्रेष्ठले नेकपा एमालेलाई समाप्त नगरे सम्म मुलुकमा शान्ति स्थापना हुन नसकिने दावी गरे । सांसदलाइ घेराबन्दी गर्ने नेकपा एमालेको कार्यले देशमा संकट उत्पन्न हुन् सक्ने अवस्था रहेकोले मुलुकको निकासको लागि प्रतिनिधि सभाको निर्वाचन एक मात्र विकल्प रहेको उनले बताए । मन्त्री श्रेष्ठले राजनीतिक रुपमा संघीयता विरोधी कार्य गर्ने नेकपा एमालेलाई नेपालबाट समाप्त गर्नु पर्ने जरुरी भएकोले आगामी निर्वाचनमा जनता समाजवादी पार्टी नेपाललाई बहुमतले निर्वाचित गर्न आग्रह गरे । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई बदनाम गराउने षडयन्त्र नेकपा एमाले र नेपाली कांग्रेसले गरि रहेको आरोप लगाए । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको मधेश आन्दोलनमा कुनै योगदान नरहेको जिकिर गर्दै मुख्यमन्त्री राउतले सत्ता लिप्सामा रहेकाहरु सरकारमा जान आतुर देखिएको आरोप लगाएका थिए ।

उनले सत्ता सुख भोगेकाहरुलाई जनताको पीडा, मर्मको कुनै महत्व नरहेको जिकिर गर्दै भ्रष्टाचार गर्ने र अरुमाथि आरोप लगाउने उनीहरुको पुरानो मानसिकता रहेको टिप्पणी गरेका थिए । प्रदेश सरकारले महिला ,दलित , मुस्लिम ,मधेशी, अपांगको हकहितमा काम गर्दै आएको देखेर खसवादी शासक वर्गलाई अपज भएको टिप्पणी गर्दै वर्षाका कारण प्रदेश २ मा भएको किसान हरुको क्षति प्रति प्रदेश सरकार गम्भीर रहेको बताए । किसानको पीडालाई प्रदेश सरकारले गम्भीरता पूर्वक लिएको भन्दै मुख्यमन्त्री राउतले पीडित किसान को घाउमा मलहम लगाउने प्रदेश सरकार तयार रहेको बताए ।

Comment

Related News