२०७८ कार्तिक ७, आईतवार ०७:२५

नेपालमा विभिन्न चिरामा रहेका बामपंथीहरूलाई दोस्रो प्रजातांत्रिक जनआन्दोलन ताका क. मनमोहन अधिकारी तथा मदन भण्डारी जस्ता बाम नेताहरूका अगुवाईमा आठ बाम एकै ठाम आएर आन्दोलनमा होमिए । २०४७ सालको दोस्रो प्रजातान्त्रिक जनआन्दोलनलाई प्रजातान्त्रिक समूह र बाम समूहले सयुक्त रूपमा हाँकेका थिए । राजा बाध्य भएर संसदबहाल गरी राजा सहितको प्रजातनत्र राख्ने सहमतिमा आन्दोलनलाई अन्त गरियो । यसै सन्दर्भमा २०४६ सालको जनआन्दोलन सम्पन्न भएपछि २०४७ साल चैत्र महिनामा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भएर नेकपा (माले) बनाइए । पार्टीको अध्यक्षमा क. मनमोहन अधिकारी र महासचिवमा मदनकुमार भण्डारी भए । २०५० जेठमा मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्यु भयो । मृत्यु पश्चात क. माधवकुमार नेपाल महासचिवमा आए । अध्यक्षको पद तत्कालका लागि हटाइए । नेकपा (एमाले) को नबौँ महाधिवेशन २०७१ साल माधव नेपाललाई पराजित गरी केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भए । पार्टी भित्र कम्युनिष्ट एकता गर्ने भने प्रस्तावलाई अगाडि बढाइए ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकीकृत रूपमा ल्याउन दुई अध्यक्ष रहने गरी विधानमा संशोधन समेत गरे । यस उप्रान्त नेकपा (एमाले) दुई अध्यक्षीय नेतृत्वको पार्टी बन्न पुग्यो । समान स्तरमा काम गर्ने गरी केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई पार्टीको अध्यक्ष बनाइए । २०७५ साल जेठमा एकीकृत भएका एमाले र माओवादी केन्द्र करिब तीन वर्ष पछि २०७७ साल फागुनमा दुबै पार्टी अलग अलग भए । पार्टी भित्रको तानाशाही र अवैधानिक काम देखेर माधवकुमार नेपाल तथा झलनाथ खनाल जस्ता पुराना कम्युनिष्ट नेताहरू पार्टीमा आवाज उठाउँदा ओलीको उल्टै आरोप के थियो भने मलाइ पार्टीमा काम गर्न दिएन । केही पछि पुष्पकमल दाहाल पनि माधव गु्रपमै आएर केपी ओलीका धँुवाधार विरोधमा उत्रिए । विरोधको सामना नगरी संसदलाई नै खाइ दिने सोच बनाएर संसद नै विघटन गर्न पुगे । संसद विघटन पूर्णरूपेण असंवैधानिक कदम थियो तर आफूले बोले र गरेका कामलाई संवैधानिक हो भने दलिल दिन थाले । पहिलो संसद विघटनलाई सर्वोच्च अदालतले पुनर्जिवित गरेपछि संसदलाई सुचारू रूपले काम गर्ने गराउने ठाउँमा पुनः दोस्रो पटक संसद विघटन गर्न पुगे । यतिकैमा विपक्षीमा रहेका सबै पार्टीहरू मिलेर विरोधमा उत्रिए । यता माधव समूह पनि यिनीहरूलाई साथ दिन पुगे । माधव समूह मिल्दा यिनीहरूको सरकार बनाउन बहुमत पुग्ने भएपछि सबै पार्टीहरू सरकार बनाउने छलफलमा जुटे । एमालेबाट माधव नेपालको नेतृत्वमा विद्रोह गरी २३ सांसदहरू हस्ताक्षर सहित विपक्षीहरूलाई बुझाए । यी सबै हस्ताक्षर सहित सर्वोच्च अदालतमा सशरीर उपस्थित भए । सर्वोच्च अदालतको परमादेशपछि शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भयो ।

उता ओलीले पार्टीको निर्णय विपरीत विपक्षीलाई सरकार बनाउन सहयोग गरेको कारण खुलाइ माधव नेपाल लगायत १४ जना सांसद माथि सांसद पद खोस्ने गरी कारवाईलाई अगाडि बढाए । तर विचैमा शेरबहादुर देउवाको मन्त्रीपरिषद्ले नयाँ अध्यादेश ल्याई २०५ सांसद वा पार्टी सदस्यका समर्थनबाट नयाँ पार्टी निर्माण गर्ने मौका पाए । त्यसै अनुरूप माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दर्ता भयो । नेकपा (एमाले) मा क. माधवकुमार नेपाल जस्ता नेताको निकै ठूलो लगानी थियो । त्यो पार्टी अरूले कब्जा गर्दा दुःख लाग्ने कुरो स्वभाविकै देखिन्छ । अब वहाँले सोच्नु पर्ने कुरो के छ भने यस पार्टीलाई भविष्यमा कसरी स्थापित गर्ने ? निर्वाचनको प्रतिस्पर्धामा कसरी भिड्ने ? रकम कहाँबाट जुटाउने ? कस्ता नेताहरूलाई सुहाउँदो ठाउँबाट लड्न टिकट दिने ? जस्ता प्रश्नहरू टड्कायो रूपमा सामुने रहेको देखिन्छ । यस्ता प्रश्न बारे समयमै सोचिएन भने भोलीको खतरासँग जुझ्नु अपठ्यारो छ । पार्टीको चिन्हबाट पनि जनताको केही मत तान्न सकिन्छ । ग्रामीण भेगका सर्बसाधारणको मनमस्तिष्कमा सूर्य चिन्ह अहिले पनि ताजै छ । ग्रामीण भेगका जनता मूलतः गाछी र सूर्यलाई बढी पत्याउँछन् । त्यसैले यस्ता समस्यालाई चिर्न एकीकृत समाजवादी पार्टीलाई वडो साबधानी साथ फुँकी–फुँकी अगाडि बढ्नु पर्ने देखिन्छ । भोलीका दिनमा सधैं छक्का पंजाको राजनीति टिक्ने छैन । यस्ता लप्पन–छप्पनका कुराहरू बढी दिन टिक्न सक्दैन । मानिसहरू विस्तारै यस्ता धुत्याईंलाई बुझ्न थालेका छन् । अहिलेको प्रजातांत्रिक युगमा सबैले आफ् नो प्रजातांत्रिक अधिकारलाई सही रूपले प्रयोग गर्न चाहन्छन् । हाँ मा हाँ मिलाउने जमाना गयो । राजाको दरवारमा हाँ मा हाँ मिलाउनेको बढी ठूलो स्थान थियो । यो गणतांत्रिक अवस्था हो । यस व्यवस्थामा जनताका छोरा राष्ट्रप्रमुख समेत बन्ने दावी राख्छन् ।

एमालेका लागि पुनः तुरून्तै सिंहदरबार पस्नु त्यति सजिलो छैन किन भने दुईटा पार्टी सीट बाँडफाँट गरेर लड् दा सामान्य बहमुत मात्र पु¥याएका थिए । नेकपा एमाले सबै भन्दा ठूलो पार्टी भएपनि सरकार बनाउने बहुमतको अभावै थियो । अहिले पार्टी फुटेको अवस्थामा पुनः भारी बहुमत पाउनु गाह्रै देखिन्छ । नेपालमा जनताले त कम्युनिष्टलाई पत्याए तर नेताहरूले जनतालाई विश्वस्त पार्न सकेन । आ–आफ्नै बीच लड्ने भीड्ने बानीलाई विर्सन सकेन । कम्युनिष्टहरूका यस्ता जुट फुटले राजनीतिबाट जनता आतिएका छन् । सरकारमा बस्दा एउटा कुरा र सरकारबाट खस्दा अर्को कुरा । सरकारमा बस्दा सही कार्यकर्तालाई सम्मान नगर्नु, सरकारको खाली ठाउँमा आसेपासेलाई मात्र ठाउँ दिनु, चैते कम्युनिष्टहरूलाई ठूला–ठूला संवैधानिक तथा राजनितिक नियुक्तीमा ठाउँ दिनु, स्वतंत्र तथा अन्य पार्टीका सांसदहरूलाई खोजी खोजी मंत्री पदमा बहाली गर्नु जस्ता कामले गर्दा खाँटी तथा पुराना कार्यकर्तालाई आशंकाको घेरामा राखि छाडेका छन् । राजनीतिमा लागेकाहरू राज्य सत्तामा काम अनुसारको भागबण्डा खोज्नु कुनै नराम्रो काम होइन । खोज्नु पर्छ र काम अनुसारको ठाउँ पनि पाउनै पर्छ । यदि त्यस्तो गरिएन भने त्यसै बेला देखि कुनै पार्टीमा पनि विद्रोहको बिउ उम्रिन थाल्छ र पछी पार्टीलाई समेत तहस नहस गर्नबाट पछि हट्दैन । पार्टी भित्र सबैले सम्मान र स्थान खोजेका हुन्छन् । कामको आधारमा सम्मान र स्थान भेटिन्छ भने त्यहाँ मनमा सन्तुष्टि आउँछ । होइन भने विद्रोहको भावना उत्पन्न हुन्छ । शायद माधव पक्षीय नेता, कार्यकर्ता तथा समर्थकहरूको यस्तै विद्रोही भावनाले पार्टी फोर्ने सम्मको आँट गर्न पुगे । नेकपा (एस) को पार्टी संगठन निर्माणको काम लगभग सकिसकेको छ ।

सचिवालय देखि केन्द्रीय समिति सम्मको संगठनात्मक काम सम्पन्न भै सकेको छ । यी नेताहरू सिंहदरवारको वरिपरि वा नेताहरूका चाकडी भन्दा गाउँ/गाउँ सम्म पुग्ने समय आएको छ । अहिले पनि पार्टी फुट्नुका कारणहरू धेरैलाई थाहा छैन । त्यस्ता सर्वसाधारण जनताको बीचमा पार्टी फुटने कारण बारे प्रष्ट पार्नु यहाँहरूको पहिलो काम हो । जनता कसैको होइन र सबैका छन् । कारण उही जनता कहिले कम्युनिष्ट त कहिले काँग्रेसका हुन जान्छन् त कहिले अन्य पार्टीलाई सिंहदरवारसम्म पु¥याएका छन् । जनतालाई केन्द्रमा राखी काम गर्नु पर्ने हुन्छ । सकभर अन्य बामपंथी पार्टीहरूसँग समेत हातेमालोगरी एउटै मंचबाट निर्वाचनमा जानु राम्रो हो होइन भने फुटेको फाइदा अर्काको पोल्टामा जान बेर लाग्दैन । अहिलेको सरकार गठबन्धनको सरकार हो । कुन बेला के होला ठेगान छैन । कुनै बेला पनि निर्वाचनमा होमिन सक्छ । निर्वाचन लर्नु मामुली कुरो होइन । नेपालमा निर्वाचनताका फोहरी खेल अझै बढ्न जान्छ । पैसा, सुरा, सुन्दरी त निर्वाचनका लागि सामान्य कुरो भै सकेको छ । मान्छेले सोचेका थिए कि गणतन्त्र आउँछ तब सही निर्वाचन हुन्छ, सही मान्छे सांसद बन्छ यहाँ त उल्टै हवा बग्न थाल्यो । अहिलेसम्म निर्वाचन कसरी स्वस्थ हुन्छ त्यतातिर पार्टीहरूको ध्यान कहिले पनि गएको देखिएन । जो सबै भन्दा बढी खर्च गर्छ उहीले सबभन्दा कम खर्चको हिसाव निर्वाचन आयोगमा बुझाउँछ ।

निर्वाचन ताका बामपंथी पार्टीहरूको बीचमा ध्रुवीकरण हुने सम्भावना समेत आंकलन गर्न सकिन्छ । निर्वाचनमा नेकपा (एमाले), प्रजातांत्रिक समाजवादी पार्टी, जनमत पार्टी तथा एकादूका साना कम्युनिष्ट पार्टीहरुलाई मिलाएर निर्वाचनमा जाने प्रबल सम्भावना छ भने नेकपा (माके), नेकपा (एस), जनमोर्चा नेपाल, राष्ट्रिय समाजवादी पार्टी नेपालहरू अर्कोतिर गठवन्धन गरेर निर्वाचनमा होमिने सम्भावना उतिकै प्रबल देखिन्छ । नेपाली कांग्रेस पार्टी लगभग कसैसँग गठवन्धन गरेर निर्वाचनमा जाने सम्मवना छैन । यसरी हेर्दा भोलीको निर्वाचनमा सरकार चलाउने सही बहुमत कुनै एक पार्टीलाई पुग्ने सम्भावना निकै दुर्बल रहेको देखिन्छ । अस्तु । लेखक समाजशास्त्रमा पीएच.डी. गर्नु भएकोछ ।

Comment

Related News

Latest News

Trending News