२०७८ कार्तिक ९, मंगलवार ०७:१८

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी स्थानीय निकायको निर्वाचनमा वर्चश्व कायम गर्न नसके जनता समाजवादी पार्टीको औचित्य नरह्ने बताएका छन् ।

दीपावली तथा छठ पर्वको अवसरमा जसपा जनकपुरधाम नगर समितिले सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ को अधिकांश स्थानीय तहमा जसपा निर्वाचित भए मात्र पार्टीको अस्तित्व कायम रह्ने बताए । यसको लागि संगठन बलियो बनाउनुपर्छ, उनले भने–‘संगठन सुदृढिकरणको कामना गर्दछु ।’ पार्टी भित्रका मनमुटाव बिर्सेर संगठन निर्माणलाई महत्व दिनुपर्ने धारणा उनले राखे । ‘एक अर्का बीच मनमुटाव हुनसक्छ, कमीकमजोरी हुनसक्छ । तर, संगठनमाथि आघात पुर्याउनु हुँदैन् । सुदृढ बनाउनुपर्छ उनले भने । कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादवले उत्पीडित, शोषितहरुको अधिकारको लागि जसपाको गठन भएको दावी गरे । जसपा प्रति देशभरका जनतामा नयाँ उत्साह थपिएकोले छाडेर गएकाहरुलाई पनि पार्टीमा फर्किन सुझाव दिए । मधेशी, दलित, जनजाति आदिवासी लगायत शोषित पीडितहरुलाई जसपाले संरक्षण दिएको मन्त्री यादवले उल्लेख गरे । सीके राउतप्रति इंगित गर्दै मन्त्री यादवले जसपामा आउन सुझाव दिए । एउटै एजेण्डा रहेकोले मिलेर सम्बोधन गराउनुपर्ने धारणा उनको थियो । कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले केही व्यक्तिले देशलाई नर्क बनाउन उद्धत देखिएको आरोप लगाए । आपूmलाई ठूलो साईन्टिस्ट(वैज्ञानिक) भनाउने व्यक्ति मधेश विरोधीहरुको दलाली गरिरहेको आरोप लगाए ।

सीके राउत प्रति लक्षित गर्दै मन्त्री साहले देशमा केपी ओलीको र विदेशमा अमेरिकाको दलाल रहेको बताए । सम्पूर्ण देशमा राजनीति अस्थिरता ल्याई मधेश मात्र नभई सम्पूर्ण देशलाई नै नर्क बनाउन तर्फ उद्धत भएको मन्त्री साहको आरोप थियो । जसपाका केन्द्रीय सदस्य समेत रहेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादव, राज्यमन्त्री योगेन्द्र यादव, केन्द्रीय सदस्यहरु हरिनारायण यादव , रामस्वारथ राय , अरुण सिंह मण्डल, श्रीचन मुखिया ,देवेन्द्र यादव, उर्मिला साह, रामगोविन्द यादव, बेचन मुखिया, ईजरायल रिजबी ,मोनिका सिंह,चमेली देवी दास, प्रदेश सांसदद्वय रामअशिष यादव, ज्ञानेन्द्र यादव, प्रदेश समिति सदस्य शेष नारायण यादव, विजय मण्डल, बजरंग यादव, साजिद हुसैन ,खडानन्द यादव ,देवकृष्ण मण्डल, सुमित साह, ममता मण्डल ,रामनरेश महतो सहितको सहभागिता रहेको थियो । जसपा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष पशुपति यादवले स्वागत मन्तव्य राखेको कार्यक्रममा गायक संजय कुमार यादवले मधेश समर्पित गीत गाएका थिए ।

Comment

Related News

Latest News

Trending News