२०७८ मंसिर ७, मंगलवार ०७:१५

स्थानिय निर्वाचन नजिकिँदै गएसंगै देशको राजनैतिक र सामाजिक सदभाव खलबलिँदै गएको देखिन्छ । निर्वाचन आयोगबाट प्राप्त वैधता कायम राख्न राजनीतिक पार्टीहरु माथीदेखी तलसम्म पार्टी पंक्ति सुदृढ गर्न सक्रिय हुनु स्वाभाविक नै हो । नेका, एमाले, माओवादीकेन्द्र र राप्रपा लगायतलाई महाधिवेशनको चटारो छ, भने एमालेबाट छुट्टिएर नवगठित एकीकृत समाजवादी तल्लो कमिटीसम्मको निर्माणमा व्यस्त देखिन्छ । अहिले प्रायः सबै पार्टीका शीर्ष नेताहरु हिमालदेखी तराईका गाउँ–घरमा मतदाता फकाउनमा व्यस्त देखिन्छन् । संसदिय प्रणालीमा निर्वाचन एउटा लोकतान्त्रिक पर्वको रुपमा परिभाषित गरिएपनि यथार्थमा यो आगामी पाँचवर्षको निम्ती सत्तामा वर्चस्व जमाउनका निम्ती पार्टीहरुले गर्ने प्रयासको अवसर हो । एमालेले अर्ली एलेक्सन अर्थात् निर्धारित समयभन्दा पहिले संसदिय निर्वाचन हुने हल्ला मच्चाउँदै छ । तर सरकारमा भएका गठबन्धन पार्टीहरु यस्तो सम्भावनालाई नकार्दै छन् । तरपनि यस वर्षको अन्त वा अर्कोवर्षको शुरुमै स्थानिय सरकारको निर्वाचन र अर्को वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित नै छ ।

त्यसैले अहिले देशमा देखिएको राजनीतिक सक्रियतामा स्थानिय निर्वाचनदेखी संसदिय निर्वाचनसम्मको संयुक्त अभिलाषा सामेल छ । स्थानीयदेखी संसदसम्मको निर्वाचन पहिलो नजरमा राजनीतिक वर्चस्व जस्तो देखिन्छ । तर यथार्थमा यस्ले देशको समग्र आयामहरुलाई प्रभावित गर्छ । निर्वाचनमा विजयी हुनेहरुले देशको राजनीतिमात्र होइन, आर्थिक, साँस्कृतिक र धार्मिक आयामहरुलाई समेतमा वर्चस्व जमाउँछन् । अहिले न्यायक्षेत्रमा विवाद देखिएको छ, तथा सर्वोच्च अदालतका न्यायाधीशहरु र सम्पूर्ण बार प्रधान न्यायाधीशको विपक्षमा आन्दोलनमा ओर्लिएपनि सत्ताधारी पार्टीहरुको तटस्थ मौनताको कारण प्रधान न्यायाधीश आफ्नो पदमा जसरी कायम देखिएका छन्, त्यसले स्वतन्त्र भनिने न्यायक्षेत्रपनि राजनैतिक वर्चस्वभन्दा बाहिर छैन भन्ने धारणालाई नै बल पु¥याउँछ । होइन भने प्रधान न्यायाधीशको विरोधी पक्षले जसरी उनीमाथी निजी स्वार्थपूर्तिको निम्ती अनैतिक कार्य गरेको आरोप लगाइरहेका छन्, त्यसले उनिमाथी महाअभियोग लगाउन अन्य प्रमाणको आवश्यकता नै पर्दैन । त्यसैले निर्वाचनमा आफ्नो सरोकारको पार्टी र उम्मेदवार जितोस भन्ने चाहना जोगीदेखी भोगी र इमान्दारदेखी बेइमानसम्मसबैमा हुन्छ, । यो फरक कुरो हो कि निर्वाचनले आम जनतालाईभन्दा कयौँ कर्याँगुणा बढी व्यापारी र धनिकवर्गलाई फाइदा पु¥याउँछ । त्यसैले निर्वाचनमा राजनीतिक पार्टीका अतिरिक्त ठेकेदारहरु, व्यापारीहरु, जातिय अगुआहरु, समाजमा धन र बल दुबै किसिमले प्रभावशाली व्यक्तिहरु, बेरोजगार तर विविध प्रभावको संरक्षणमा हप्कीदप्की वा अन्य कुनै गलत किसिमले आर्थिक जोहो गरेर आवश्यकता पूर्तिगर्ने युवा समुदायहरु,दबङ्ग र बाहुबलीहरु सबै सक्रिय हुन्छन् ।

कर्मचारीतन्त्र र सुरक्षातन्त्र सक्रिय हुनू त निर्वाचनको आवश्यकता नै हो । त्यसैले निर्वाचनमा देशको सबै आयाम सक्रिय हुनु स्वाभाविक हो । हुन त संसदिय प्रणालीमा निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठोस प्रमाणको रुपमा प्रस्तुत गरिन्छ । जनताले मतद्वारा आफ्नो प्रतिनिधि छनौट गर्ने विधिको रुपमा यसलाई व्याख्यायित गरिन्छ । तर निर्वाचनको सम्पूर्ण प्रक्रियाको समिक्षा गर्ने हो भने आम जनताको महत्व र सहभागिता, मत खसाल्ने बाहेक अरु केही हुँदैन । किनभने आमजनताको गोजीमा चुनाव लडने धन हुँदैन । हात र मुखको दूरी तय गर्न अर्थात गाँस, बास र कपासको जोहोमै जिन्दगीभरी व्यस्त रहने आम जनताले करोडौँ खर्च गरेर चुनाव लडने कल्पना नै गर्न सक्दैन । यस्तोमा निजी निकटता तथा विश्वासको कारण निर्वाचनमा भ्रमित आमजनताको सक्रियता ‘बेगानी शादीमे अब्दुल्ला दिवाना’ जस्तो मात्र हुन्छ । समग्रमा अहिलेको निर्वाचन जनताको नाममा गरिने करोडौँ लगानी गरिने अर्बौँ कमाउने व्यवसाय जस्तै भएको छ र आम जनता यस्मा उपभोग्य साधन जस्ता मात्र छन् । त्यसैले अहिलेको राजनीतिक पार्टीहरुमा धनिकवर्गको उपस्थिति र बर्चस्व बढदो छ । हिजोसम्म राजनीतिक पार्टीहरुलाई वैध अवैध चन्दा दिएर आफ्नो व्यापारिक स्वार्थ पुरा गराई रहेका पूँजीपतिहरुले अब आफै राजनीतिक पद कब्जा गरेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजे जस्तोपनि छ ।हो पनि, अरुलाई जिताउन खर्चा गर्नुभन्दा खर्चा गरेर आफै जित्नु बढी लाभदायक हुने हो । यस अतिरिक्त अनेक प्रलोभनमा राजनीतिक नेता र पार्टीहरुलाई प्रयोग गर्नु त छँदै छ । यो धनिकवर्ग प्रत्यक्षमा जतिसुकै प्रतिस्पर्धी देखिएपनि नाफा कमाउने प्रश्नमा एउटै कित्तामा हुनेगर्छ । त्यसरी नै राजनीतिक दलहरुपनि पार्टीको मञ्चमा एक अर्कालाई जतिसुकै गाली गरेपनि, र नेताहरुको उन्मादमा पार्टीका कार्यकर्ताहरु आपसमा जतिसुकै कुटाकूट र विवाद गरेपनि, पूँजीपतिहरुको सामू पार्टी नेताहरु एउटै कित्तामा हुनेगर्छन् ।

उदाहरणको रुपमा भारतीय उद्योगपति स्वामी रामदेवको काठमाँडौँ भ्रमणको बेला नेपाली नेताहरुको उपस्थितिलाई लिनसकिन्छ । भर्खरै पतञ्जली योगपीठका सञ्चालक तथा विश्वका धनाढ्यहरुको विवरण तयार पार्ने संगठन फोब्र्सको सुचिमा परेका भारतीय अर्बपति उद्योगपति आचार्य बालकृष्ण र स्वामी रामदेवले नेपालमा सञ्चालन गर्ने टेलीभिजनको उद्घाटन कार्यक्रममा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायत विभिन्न पार्टीका नेताहरु ती दुई उद्योगपतिबाबाजीहरुको महिमामण्डनमा तँछाड मछाड गर्नमा समान देखिए । वैचारिक र राजनैतिकरुपमा आपसमा प्रतिस्पर्धी देखिने देउवा नेकाका सभापति,, नेपाल नेकपा (एकीकृत समाजवादी) र प्रचण्ड नेकपा (माओवादी केन्द्र)का अध्यक्ष हुन भन्ने तथ्य भनिरहनु पर्दैन । ठिक्क निर्वाचनको बेला रामदेव र बालकृष्णको नेपाली राजनीतिक परिदृश्यमा अवतरण र उनिहरुको वरिपरी नेपाली राजनीतिका हर्ताकर्ताहरु झुम्मिनुले आर्थिकरुपमा भारतीय दलाल पूँजीपतिहरुको वर्चस्व वृद्धिको संकेत त दिन्छ नै, यस्ले नेपालको कूटनैतिक परिदृश्यमापनि भारतीय वर्चस्वको प्रभाव देखाउँछ । यस्तो किनभनियो भने रामदेव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकटतस्थ र रणनीतिक टीम मध्येका मानिन्छन् । रामदेव भारतीय राजनीतिमा मोदीका सबैभन्दा ठूलो प्रचारक मध्येका पनि छन् । भारतसंगको कूटनैतिक सम्बन्धमा लिम्पियाधूरा र कालापानी क्षेत्रमा भारतले गरेको कब्जा दुई देशबीचको कटुतम् स्थिति हो । तर भारतीय पूँजीपतिहरु र सरकारी प्रवक्ताहरुको स्वागतमा सत्ताधारी पार्टीका शीर्ष नेताहरु जसरी एकआपसमा ढलीमली गरिरहेका देखिए, त्यसले उनिहरुको देशहितप्रतिको कृत्रिम अडानलाई नङग्याउँछ ।

यसलाई यी दलाल पूँजीपतिको कृपाको आकांक्षा नै भन्नु पर्छ कि देशको वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुले आफ्नो हैसियत समेतको विचार गरेनन् र स्वामी रामदेवको सरकारी अनुमति नपाएका आस्था नेपाल र पतञ्जली नामक गैरकानूनी टलीभिजन च्यानलको उद्घाटनमा भाग लिन आए । लम्बे लम्बे वैचारिक, राष्ट्रवादी र नैतिक गफ दिने यी नेताहरुको यस गैरजिम्मेवार कार्यले नेपाली राजनीतिक पार्टीहरुको हैसियत,वैदेशिकपूँजी सामू चाकरभन्दा बढी नरहेको एकपटक फेरी उदाङ्गो पारी दिएको छ । यसले राजनीतिक परिदृश्यमा नेताहरुले भजन गर्ने जनपक्षधरताको कृत्रिमता तथा राजनीतिक परिवर्तनको अधूरोपना समेत देखाउँछ । भन्नु परेन, राजनीतिक पार्टीका नेताहरुले जानी जानी गर्ने यो राजनीतिक पाप चुनावमा जसरीपनि जित्न र सत्ता लालसाको निम्ती हो । यस सत्यबाट जति छिटो परिचित भइन्छ, जनताको हित त्यति छिटो हुनेछ । यहाँ प्रश्न स्वामी रामदेवको नेपाल आगमन र नेताहरुको ढलीमलीको होइन । बरु यसभन्दापनि खतरनाक के छ भने चुनावी जीतको अपेक्षामा नेपाली समाजमा नयाँ नयाँ रोगहरु देखिन थालेका छन्, र भन्नु पर्दैन यस्को मूख्य कारण वर्तमान व्यवस्थाका सञ्चालकहरुको नैतिक कमजोरी र स्वार्थ लिप्सा हो । विगत केही हप्तादेखी नेपाली जनसमुदायभित्र एकातर्फसाम्प्रदायिक तनाव बढदै गएको छ भनेअर्कोतर्फ प्रतिगामी र पुनरुत्थानवादी तत्वहरु सल्बलाईरहेका देखिन्छन् । केही दिन पहिले पूर्वराजा ज्ञानेन्द्रकी बुहारी हिमानी शाह छठमा भागलिने निहुँमा तराई मधेशमा देखिइन् । उनको आगमनलाई साँस्कृतिक र धार्मिक भनियो, तर यसै निहुँमा राजतन्त्रवादीहरुले पर्चा र पम्पलेट छरे र नारा लगाए । यतिमात्र होइन, नेताहरुको कमजोर नैतिकताकै कारण ज्ञानेन्द्रले पनि फुर्कने मौका पाए र उनले आफ्नो औचित्यता अझै रहेको धक्कु लगाउन पाए ।

यसभन्दापनि भयावह धार्मिक सहिष्णुता खलबलाएको देखियो । छिमेकी देश भारतमा मूलसंगठन रहेका धार्मिक राजनीतिक संगठनहरुले तराईमधेशमा धार्मिक उन्माद र विवाद सिर्जना गर्ने प्रयास गरेको पनि देखियो । नेपालमा पारम्परिक धर्मभीडू समाजमा धार्मिकता जीवनशैलीमा सामेल छ । विगतका वर्षहरुमा पनि दुई धार्मिक समुदायबीच कहिलेकाँही मनोमालिन्य र विवाद सिर्जना हुन्थ्यो । तर यी विवादहरु सामान्य सामाजिक विवाद जस्ता हुन्थे र दुईपक्षीय भद्रभलादमीहरुको समझदारीमा हल हुने गर्थे । तर केही वर्षदेखी विशिष्ट प्रकारका केही धार्मिक राजनीतिक संगठन देखिन थालेका छन् । यिनीहरुले यस्ता विवादमा आफूलाई धार्मिक समुदायको प्रतिनिधिको रुपमा जसरी उभ्याउन थालेका छन्, त्यसले समुदायका भद्रभलादमी तथा धार्मिक र साँस्कृतिक सहिष्णुताका पक्षधरहरुलाई उपेक्षा गर्दै लगिरहेको छ । हिन्दु होस वा मुस्लिम वा कुनै अन्य धार्मिक समुदाय, यी धार्मिक राजनीतिक संगठनहरु अब धार्मिक मोक्षभन्दा पनि राजनीतिक वर्चस्वको साधनको रुपमा बढी देखिएका छन् । यी संगठनहरुले समुदायमा साम्प्रदायिक सदभाव कायम गर्नुभन्दा बढी एक आपसमा विरोधी उन्माद, धार्मिक संकीर्णता तथा स्थायी विवादको स्थिति कायम राख्नमा बढी जोड दिन्छन् । हाम्रो साँस्कृतिक परम्परा हेर्ने हो भने हिन्दु होस वा मुस्लिम वा बौद्ध वा अन्य कुनै धार्मिक साँस्कृतिक समुदाय, लोकसंस्कृति र गीतहरुमा नङ्ग र मासू जस्तै गाँसिएका छन् । त्यसैले ताजिया (दाहा)मा हिन्दु श्रद्धालूहरुले पनि चढाबा चढाउँछन् भने मुस्लिमहरुले समेत छठ र फागू जस्तो हिन्दु साँस्कृतिक पर्वमा भागलिएको उदाहरण पाइन्छन् । सामाजिकस्तरमा एक आपसमा सुखदुःखमा आपसी सहयोग त पुस्तौँ पुस्ताको घनिष्ठता हो । तर केही वर्षदेखी प्रायः सबै धर्ममा जन्मेका आधुनिक धार्मिक संगठनहरु संकीर्णता र उन्माद बढाउँदैछन् ।

र प्रायः निर्वाचनको बेला यस्ता उन्मादहरुको पारा बढदो हुने गर्छ । हुन त हामीतिर यो छिमेकी देशको टाउको दुखाई सरेको हो, तर गहिरिएर हेर्ने हो भने यस संकीर्णता र साम्प्रदायिक विभाजनमा भोट बैंक निर्माणको जनविरोधी लिप्सापनि लुकेको हो । यसै कारण चुनावी राजनीतिक दलहरु खुलेर यस्ता संगठनहरुको विरोध गर्दैनन् । समग्र राजनीतिमा यो फासीवादको आधार तयार गर्नु हो र यो आम जनसमुदायको निम्ती भस्मासुरी खतरनाक प्रवृत्ति हो । यसबाट जोगिनका निम्ती पहिलो काम धार्मिक आस्थालाई व्यक्तिको निजी विषय बनाउनु पर्छ र धार्मिकताको आधारमा संगठन खोल्ने अनुमति दिनु हुँदैन । समाजसेवा र धार्मिकतालाई फरक दृष्टिले हेरिनु पर्छ । त्यसरी नै गणतन्त्रविरोधी तत्वलाई राजनैतिक र सामाजिकस्तरमा हतोत्साहित गरि नुपर्छ । तथा राजनीतिलाई आम जनताको पक्षमा अर्थात् जनपक्षधर बनाउन जनस्तरमा दबाब सृजना गर्न सक्नु पर्छ । सचेत हुने हो कि ?

Comment

Related News