२०७९ बैशाख ३१, शनिबार ०६:३०

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा उत्साहपूर्ण मतदान भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा ६५ प्रतिशत भन्दा बढी मत खसेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–२ बाहेक सबै ५ सय ३५ मतदान केन्द्रमा उत्साह र शान्तिपूर्ण ढंगले मतदान भएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जनाए । यद्यपि बीचबीचमा भएको वर्षाका कारण राजविराज र बोदेबरसाइन नगरपालिकामा केही मतदान केन्द्रमा केही बेरको लागि मतदान रोकिएको थियो । ९ वटा नगरपालिका र ९ वटा गाउँपालिकाका जनप्रतिनिधिका लागि भएको निर्वाचनमा ६५ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेका छन् । जिल्लामा ४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेका छन् । मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य अबेर राती सम्म जारी रहेको र तोकिएको केन्द्रमा मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत कार्यालयको तयारी रहेको जनाइएको छ । सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक गरी मतगणनाको समय निर्धारण गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीले बताए । डाक्नेश्वरी नगरपालिका–२ को मतदान केन्द्रमा मतदान चलिरहेका बेला एक उम्मेदवारका समर्थित व्यक्तिले मतपेटिका तोडफोड तथा मतदानमा खटिएका कर्मचारीमाथि हातपात गरेपछि निर्वाचन स्थगित गरिएको छ ।

मतदान गर्न गएका एक जना शारिरीक रुपले अशक्त वृद्ध मतदाताले इच्छाएको उम्मेदवार भन्दा अर्कै उम्मेदवारको चुनाव चिन्हमा मत संकेत गरि दिएको आरोप लगाएर होहल्ला गरेपछि मतपेटिका तोडफोड र मतदान अधिकृत विपिन यादवमाथि हातपात भएपछि निर्वाचन स्थगित गरिएको हो । स्थगित गरिएको निर्वाचन जेठ १ गते हुने तय गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

Comment

Related News