२०७९ बैशाख ३१, शनिबार ०६:५८

मधेश प्रदेशको विभिन्न जिल्लाका मतदान स्थलहरुमा झडप भएको छ । सो क्रममा सर्लाहीको धनकौल गाउँपालिका–२ र वडा नम्बर ४ को मतदान केन्द्रमा झडप भएको थियो । झडपकै कारण मतदान स्थगित भएको छ ।

दुई पक्षबीचको झडपका कारण उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । तनावपूर्ण स्थिति भए पछि दुबै केन्द्रमा मतदान रोकेको र घटनास्थलमा थप प्रहरी तथा सेना पठाएर स्थिति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । त्यस्तै, बाराको पचरौता नगरपालिका–२ र ४ मा पनि झडप भएको छ । यसै बीच बारा जिल्लाको पचरौता नगरपालिका–२ को बैरीया र बेलडारीका दुई दुईवटा मतदान रद्द भएको छ । बाराका डिएसपी राजेश थापाका अनुसार मतदान रद्द गरिएको हो । मतदानलाई लिएर जसपा र एमाले बीच मतदान हुँदाहुँदै बिहान झडप भएका कारण उक्त क्षेत्रमा दिन भरि मतदान हुन सकेन । एमालेबाट मेयरका उम्मेदवार जलन्धर सिंहले मतदानका क्रममा धाँधली भएको भन्दै मत बदरको माग गर्दै विज्ञप्ति समेत सार्वजनिक गरेका थिए । त्यस्तै गरी धनुषा जिल्लाको शहीद नगर नगरपालिकाको कुम्भकर्ण स्थित मतदान केन्द्रमा दुई पक्ष बीच झडप भएको छ । झडप भए पनि तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको थियो । त्यसै गरी सप्तरी जिल्लाको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हाराहारीमा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन दुई पक्षबीचको विवादका कारण स्थगित भएको छ । मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नाका साथै मतपेटिकासमेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

विवाद हुँदा ‘क’ केन्द्रमा १३६ मत र ‘ख’ केन्द्रमा १६० मत खसिसकेको थियो । विवाद भएपछि मतपेटिका फुटाएर छरिएको थियो।कुटपिटबाट घाइते मतदान अधिकृत यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै रौतहटको अधिकांश मतदान केन्द्रमा झडप भएको छ । जिल्लाको विभिन्न पालिकामा गरी ३ दर्जनभन्दा बढी मतदान केन्द्रहरुमा विवाद भएको छ । जिल्लाको प्रहरीको कमजोर सुरक्षा व्यवस्थापनका कारण मतदान केन्द्रहरुमा विवाद भएको र सो विवाद झडपमा परिणत हुँदा केही मतदान केन्द्रको मतदान स्थगित समेत भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिकाको शीतलपुर बैरगनिया मतदान केन्द्रमा झड्प भएको हो । मतदान गर्ने विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ । झड्पका कारण केहीबेर मतदान स्थगित भएको थियो । त्यस्तै गढिमाई नगरपालिका–३ लक्ष्मीपुर स्थित खरिदि प्राथमिक विद्यालय मतदान केन्द्रमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झड्प भएको छ । झड्पमा परी दुबै पक्षका १५ जना घाइते भएका छन् । झड्पका कारण खरिदि प्राथमिक विद्यालय लक्ष्मीपुर मतदान केन्द्रको मतदान रद्द गरिएको छ । त्यस्तै गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुर स्थित प्रावि मतदान केन्द्रमा पनि झड्प भएको छ ।

मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एसका कार्यकर्ताहरुबीच विवाद हुँदा १० जना घाइते भएका छन । कांग्रेसका कार्यकर्ताहरु धाँधली गरी एकलौटी रुपमा मत खसाल्न लगाएको भनी नेकपा एसका कार्यकर्ताहरुले अवरोध गर्न खोज्दा दुबै पक्षबीच झड्प भएको थियो । मतदानमा अवरोध गरेको भन्दै कांग्रेसका कार्यकर्ताहरुले नेकपा एसका वडा अध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी गरेको छ । आगजनीबाट उक्त मोटरसाइकल जलेर पुर्णरुपमा नष्ट भएको छ । झड्पकै कारण सो मतदान केन्द्रको मतदान पनि मतदान रद्द भएको छ । माधवनारायण नगरपालिकाको खेसरहीया, सखुअवा र रजवडा मतदान केन्द्रमा समेत विवाद भएको छ । सखुअवा सरस्वती मावि मतदान केन्द्रका मतदान अधिकृतले कांग्रेसको पक्षमा मत खसाल्ने भूमिका खेलेको भन्दै अन्य दलका कार्यकर्ताहरु विरोध गरेपछि झड्प भएको थियो ।

बौधीमाई नगरपालिका २ इनर्वा मतदान केन्द्रमा तोडफोड गरिएको छ भने गरुडा नगरपालिका वडा नं ७ को मतदान स्थलमा कांग्रेस र लोसपाका कार्यकर्ताबीच झड्प भएको छ । मतदानको विषयलाई लिएर भएको झड्पमा परी दर्जनौ व्यक्ति घाइते भएका छन् ।

Comment

Related News