२०७९ बैशाख ३१, शनिबार ०७:५०

स्थानीय तह सदस्य निर्वाचनका लागि शुक्रबार भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्काे दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो । यद्यपि समग्रमा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको नेपाल प्रहरीको निष्कर्ष छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट घटना देखिए पनि निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए ।

उनका अनुसार अपराह्न पाँच बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार शुक्रवार ३० भन्दा बढी जिल्लामा १ सय १० घटना भएको छ । प्राप्त विवरणअनुसार विवादका कारण अवरुद्ध भएका ४० वटा मतदानस्थलमा पुनःमतदान गरिएको थियो । उनले काभ्रे, सप्तरी, सर्लाहीलगायतका केही मनदानस्थलमा मतदान स्थगित भएको जानकारी आएको बताए । केही जिल्लामा वर्षासमेतले मतदान प्रभावित बनाएको थियो । केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए । हुम्लाको एक ठाउँमा भने अश्रुग्यास नै प्रहार भएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न शुक्रवार निर्वाचन भएको हो । शुक्रबार बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । निर्वाचनकै इतिहासमा पहिलो पटक मतदाताका रूपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले समेत मतदान गर्न पाएको दिन थियो । प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो । कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने, मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्छ । निर्वाचन आयोगले सुरक्षित तवरबाट मतपेटिकाको ढुवानीको आवश्यक प्रबन्ध मिलाएको र सबै मतपेटिका सङ्कलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

स्थानीय तहको निर्वाचन पहिलोपटक एकै चरणमा गरिएको हो । नेपालमा संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । त्यो बेला वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । त्यसअघि विसं २०५४ मा स्थानीय तहको निर्वाचन जेठ ४ र १३ गते गरिएको थियो । एकैपटक देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ०७ बजेदेखि मतदान प्रारम्भ भएको थियो । यसपटक ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक÷एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्षलगायत पदमा जनप्रतिनिधि निर्वाचित हुने छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार ६४ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबार विहान ७ बजेदेखि बेलुकासम्म ६४ प्रतिशत मतदान भएको जानकारी दिए । स्थानीय तह सदस्य निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । कूल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा रहेका थिए । त्यसमध्य ३९० जना यसअघि नै निर्विरोध भइसकेका छन् । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए । निर्वाचनमा एक लाख नौ हजार ८८ कर्मचारी खटिइएका थिए । ६५ हजार ८६५ स्वयंसेवक र पाँच हजार पर्यवेक्षक तथा दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालित थिए । नेपालको संविधान २०७२ को अनुसूचीमा स्थानीय तहलाई महत्वपूर्ण अधिकार दिइएको छ ।

त्यही अधिकार प्राप्त भएका कारण गाउँठाउँको विकासका लागि सङ्घको मुख ताकिरहनु पर्दैन । त्यसैले पनि २०७२ अघिको स्थानीय निकायको तुलनामा अहिलेको स्थानीय तहको जिम्मेवारी ठूलो छ । गाउँको विकासमा स्थानीय तहले आफैँ निर्णय गरेर कार्यान्वयन गर्न सक्नेछ । स्थानीय तह आफैँमा सरकार र संसद् पनि हो । परिचित जनप्रतिनिधि हुने भएकाले पनि समुदायले निर्धक्कसँग कुरा राख्न सक्ने हुँदा पनि नागरिक निर्वाचनमा विभिन्न समस्याका बाबजुद सहभागी भएका थिए । कोही लौरे टोकेर त कोही बच्चा काखी च्यापेर मतदानमा सहभागी थिए । कसैले ह्वील चेयरमा बसेर पनि मत खसाले भने पाका उमेरकाले पनि मताधिकार प्रयोग गरेका दृश्य देखिएको थियो । सोमबार मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिए पनि पाँच बजे मतदानस्थलभित्र प्रवेश गरेकाले मत खसाल्न पाउने हुँदा केही ठाउँको मतदान ढिलो सम्म चलेको थियो ।

स्थगित निर्वाचन आइतबार हुने
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको छ । डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितिमा मतदानस्थलमै शुक्रबार बसेको बैठकले स्थगित भएको मतदान आइतबार बिहान ७ बजेदेखि गर्ने निर्णय गरेको हो । ‘क’ केन्द्रका मतदान अधिकृत विपिन यादवमाथि स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका तोडफोड गरेपछि कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, निर्वाचन अधिकृत मगर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले, सशस्त्र प्रहरी नायब उपरीक्षक श्यामशर्मा पौडेल घटनास्थल पुगेका थिए । मतदानस्थलमा उनीहरुको उपस्थितिमा बसेको सर्वदलीय बैठकले उत्पन्न कुटपिट र तोडफोडपछि स्थगित भएको मतदान कार्य आइतबार गर्ने निर्णय भएको हो । अशक्त महिला मतदाताले इच्छाएको जसपाको चुनाव चिह्नमा छाप लगाउनुपर्नेमा मतदान अधिकृत यादवले कांग्रेसको चुनाव चिह्नमा छाप लगाएको भन्दै स्थानीयवासीले यादवलाई कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको थियो । मतदान अधिकृतलाई प्रहरीले जोगाउन खोज्दा स्थानीयवासीले मतपेटिका तोडफोड गर्दै मतपत्र च्यातेर छरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । घटनाका बेला ‘क’ केन्द्रमा १३६ मत र ‘ख’ केन्द्रमा १६० मत खसेको थियो । आइतबार पुनःनिर्वाचन गर्ने निर्णयमा निर्वाचनमा सहभागी राजनीतिक दल, जिल्ला निर्वाचन कार्यालयका कुलानन्द बिराजी, मतदान केन्द्र ‘ख’का मतदान अधिकृत मुसहरु साह, सहायक मतदान अधिकृत जाकिर हुसेन, मतदान केन्द्र ‘क’का सहायक मतदान अधिकृत सुरेन्द्रकुमार यादवसमेतको उपस्थिति रहेको छ । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत मतदान अधिकृत यादवले दलका प्रतिनिधिको निर्णयअनुसार आफूले अशक्त महिलाले औँलाले देखाएकै रुख चिह्नमा छाप लगाएको बताए ।

Comment

Related News