२०७९ असार ७, मंगलवार ०९:०६

ेल्तेयरले धर्म बारे भनेका थिए ः ‘धर्म बग्दो नदी हो, यसमा छेकवार न लगाउ, फोहोर जम्छ’ । भोल्तेयरले छेकवार भन्नुको तात्पर्य चर्च, मठ–मन्दिर र मस्जिद थियो । उनले चर्चहरुमा रहेका पोप र पादरी जस्ता धर्माधिकारीहरुको चर्तीकला तथा चर्चहरुमा हुने भ्रष्टाचार र अमानवीयतालाई नजिकबाट देखेका थिए । उनले त भ्रष्ट चर्चहरुलाई नष्ट गर्नुपर्ने सल्लाह समेत दिएका थिए । केही दिन पहिले जानकीमन्दिरको महन्थले मन्दिरको सौन्दर्यीकरणमा करोडौँको भ्रष्टाचार भएकोमा आक्रोश पोखेका थिए । जानकीमन्दिरको बाहिरी प्राङ्गणमा लगाएको मार्बल केही वर्षमै फुटी सकेको छ । स्वयं जानकीमन्दिरको भित्री तथा बाहिरी पर्खालमा कयौँ ठाउँमा चर्की सकेको छ, तर यस प्रति कसैको ध्यान छैन ।(यद्यपि जानकी मन्दिरको महानताको गुणगान, प्रसिद्धि र यसलाई विश्व सम्पदामा सामेल गराउने स्वर उठाउने तथा जस लिनको निम्ती तछाडमछाड गर्नेको कमी छैन । विवाहपञ्चमी र रामनवमी लगायतका धार्मिक उत्सवमा जानकीमन्दिरभित्र हुने समारोहमा माला पहिरिन गर्धन थापेर टलिभिजनको क्यामरामा देखिनेको कमी हुने गरेको छैन ।)यति मात्र कहाँ हो र, जानकीमन्दिरले लामो समयदेखी विद्युत महसुल समेत न तिरेर बक्यौता ७८ लाख रुपैया पुगेपछि विद्युत प्राधिकरणले लाइन काटिदिने चेतावनी दिएपछि मात्र मन्दिरले किस्तामा तिर्ने कबोल गरेको हो । जानकी मन्दिर महन्थको आक्रोशपनि यही नै हो जस्तो छ । महसुल तिरिदिन उनले अनेकौँ ठाउँमा भनेपछि, गुहार र ताकेदा समेत गरेपछि पनि कसैले ध्यान नदिएपछि उनले आफै तिर्न तयार हुनू परेको हो । भन्नु परेन जानकीमन्दिरमा बढदो विद्युत खपतको एउटा कारण विद्युत सौन्दर्यीकरण पनि हो ।

जानकीमन्दिरमा हरेक दिन संघ, प्रदेश वा स्थानिय सरकारका कुनै मन्त्री वा माननीय अथवा उच्चाधिकारीहरु वा कुनै न कुनै ठुला हाकिमहरु दर्शन गर्न आएकै हुन्छन् । जानकी मन्दिरको यो हरिविजोग प्रति कसैको नजर गएन ? हरेक दिन जानकीमन्दिरमा लाखौँको चढावा चढने गर्छ । मन्दिरसंगै जोडिएको विवाह मण्डप हेर्न आउने दर्शनार्थीहरु संग शुल्क असूल्न हरेक वर्ष लाखौँको ठेक्का लाग्ने गर्छ । प्रदेश सरकार गठन भएपछि हरेक वर्ष मन्दिरको विकास तथा सौन्दर्यीकरणको निम्ती बजेट छुट्याउने गरिन्छ । यस अतिरिक्त विविध धार्मिक उत्सवमा समेत सरकारी आर्थिक सहयोग तथा श्रद्धालु भक्तजनहरुको मोटो आर्थिक र बहुमूल्य भौतिक दान मन्दिरमा आम्दानी हुने गर्छ । जानकी मन्दिरमा हुने आम्दानीको अनुमान गर्ने हो भने र यसले आफ्नो र आफ्नो वरीपरीको समाजको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर यति हुँदाहुँदै पनि विद्युतको महसुल तिर्न महन्थले अरुको मुख ताक्ने बाध्यता विचित्रको छ । प्रश्न उठ्छ जानकी मन्दिरको आम्दानी कहाँ जान्छ ? के हुन्छ ? जानकी मन्दिरको आम्दानी र खर्चको कुनै हिसाब छ वा छैन ? यो किन सार्वजनिक हुँदैन ? यहाँ प्रष्ट हुनू पर्ने आवश्यकता के छ भने मन्दिर अथवा अन्य कुनै धर्मस्थल कसैको व्यक्तिगत सम्पत्ति होइन । यो समाजको सम्पत्ति हो र यस्मा समाजको लगानी भएको हुन्छ । त्यसैले अन्य सामाजिक संस्था जस्तै धर्मस्थलको स्थितिपनि समाज सामू प्रष्ट हुनु जरुरी छ । जतिबेला मन्दिरको सौन्दर्यीकरण भै रहेको थियो, त्यतिबेला कम गुणस्तरको सामग्री प्रयोग भैरहेको तथा व्यापकरुपमा भ्रष्टाचार भै रहेको आवाज जनस्तरबाट उठेको थियो । केही उत्साही युवाहरुले विरोधपनि गरेका थिए । तर त्यतिबेला मन्दिर व्यवस्थापन मौन थियो । अहिले भ्रष्टाचार नाङ्गिएपछि तथा विद्युत महसुल न तिरिदिएपछि महन्थको विरोधी स्वर सुनिएको हो ।

तर यति हुँदाहुँदै पनि सरकार र भ्रष्टाचार विरोधी सरकारी, गैरसरकारी निकायहरु,सबै मौन छन् । अर्कोतर्फ मन्दिरको भौतिक अवस्थाप्रति समाजमा एक खालको उदासीनता देखिन्छ । यसका कयौँ व्याख्या हुनसक्छन् । तर एउटा महत्वपूर्ण व्याख्या के हो भने धर्मभीडू समुदायले पूजा पाठ गर्ने जस्ता आध्यात्मिक भावलाई छाडिदिने हो भने अब मन्दिरको सामाजिक उपयोगिता सकिएको छ । यो जानकी मन्दिरमात्र होइन, देशका प्रायः सबै मन्दिर, मस्जिद र गुम्बाहरुको अवस्था यही छ । जानकी मन्दिर देश भित्र र बाहिरका धार्मिक पर्यटकसंग बढी जोडिएका धर्मस्थल भएको हुनाले नै चर्चामा आएको हो । होइन भने अचेल धर्मस्थलका आयस्ता र सम्पतिहरु चुस्त चलाख व्यक्ति र समूहको गोरखधन्दामा परेर क्रमशः व्यक्तिको स्वामित्वमा जाँदैछन् । जनकपुरमै हेर्दाहेर्दै मन्दिरका सम्पत्तिमाथी व्यक्तिले अनियमित कब्जा गरेका छन् । कयौँ मन्दिरको अस्तित्व समाप्त भएको छ, र त्यहाँ ठूला महलहरु ठढिएका छन् । यस्तो गर्नेहरुमा कयौँ प्रतिष्ठित नेता, हाकिम, व्यवसायी र आफूलाई निष्ठावान प्रस्तुत गर्ने बौद्धिक व्यक्तित्वहरु छन् । सार्वजनिक सम्पत्तिमाथीको यो लूट कुनै एउटा मन्दिरमा मात्र होइन, देशैभरी चलिरहेको छ । जानकी मन्दिरको प्रसङ्ग तात्कालिक र प्रतिनिधिमूलक मात्र हो । प्रश्न उठ्छ, वर्तमानमा मन्दिर र मस्जिद लगायत धर्मस्थली को सामाजिक उपयोगिता के हो ? धार्मिक उपासनास्थल तथा श्रद्धालू भक्तजनको पर्यटकीय उद्देश्य हटाई दिने हो भने अचेल मन्दिरको सामाजिक उपयोगिता शून्य छ, र यो अधिकतम् मन्दिरको महन्थ, पुजारी, कारिन्दाहरु तथा भ्रष्टाचारीको निजी उपयोगिताको साधन मात्र बनेको देखिन्छ । पारम्परिक रुपमा राज्यसत्ताले देशभरीका मन्दिर हरुको देखरेख र व्यवस्थापनको निम्ती गुठी संस्थानलाई निरन्तरता दिएको छ । पुरानो व्यवस्थामा जानकी मन्दिर ‘छुट गुठी’ थियो । यस्को अर्थ जानकीमन्दिर राज्यको मातहत थिएन र यसको सम्पूर्ण व्यवस्थापन र नियन्त्रणको अधिकार महन्थको जिम्मा थियो ।

तर ०४७ सालको बहुदलियकाल देखिनै छुट गुठीहरु पनि गुठी संस्थान अन्तर्गत भए । यद्यपि व्यवहारमा मन्दिरहरुमाथी राज्यको नियन्त्रण अहिलेपनि लचिलो नै छ, उनिहरु अहिलेपनि अर्धस्वायत्त जस्ता छन् । यसको मूख्य कारक लचिलो व्यवस्थापन अन्तर्गत मन्दिरहरुको मातहत भएको भूमि, भौतिक सम्पत्ति तथा आर्थिक आम्दानीहरु हो, जस्को परम्परागत रुपमै भ्रष्टाचारको निम्ती उपयोग हुँदै आएको छ । यो अहिलेपनि जारी नै छ । मन्दिरहरुमा आफ्नो गच्छे अनुसार सबैले गर्ने आर्थिक गडबडी खुला सत्य हो । एउटा महत्वको प्रश्न छ । के मन्दिर र मस्जिद जस्तो धर्मस्थल आवश्यक छ ? भौतिकवादीहरुको निम्ती यो आवश्यक छैन । बरु यस्को सट्टा स्कूल, अस्पताल तथा असहाय गरिब गुरुबाहरुको निम्ती सार्वजनिक आश्रयस्थल बनाउनु उचित हुनेछ । तर समाजमा धार्मिक समुदायहरु पनि बस्छन् । उनिहरुको दृष्टिले हेर्ने हो भने धर्मस्थल ईश्वरको उपासना (पूजापाठ)को निम्ती आवश्यक छ । तर उपासनाको निम्ती नै हो भने महन्थ, पुजारी र अनावश्यक कारिन्दाहरुको आवश्यकता देखिँदैन । व्यक्तिले आफै उपासना गर्न सक्छ । पहिले साधुहरुले बस्न र उपासनाका निम्ती कुटीहरु बनाउँथे । राज्यले जनसमुदाय बीच आफ्नो भूमिमाथीको स्वामित्व र नियन्त्रणको निम्ती मठहरुको निर्माण ग¥यो । राज्यले केही विशिष्ट कुटीहरुलाई पनि मन्दिर र मठमा परिणत ग¥यो । केही महत्वाकांक्षी साधुहरु तथा कहीँ कहीँ आफ्नो पहलमा समेत साधुहरुलाई जग्गा दान तथा कर असूल्ने अधिकार दिएर राज्यको भूमि प्रतिनिधिको अधिकार दियो । एउटा खास चरणमा यी मन्दिर र धर्मस्थलीहरु मानव सेवा र सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए । मन्दिरले असहाय र दुःखी दीनहरुको निम्ती चलाएका सदावर्तहरु, पानी पिउनलाई ठाउँ ठाउँमा खनाएका पोखरी र इनारहरु, अनिकाल जस्ता आपदको बेला धर्मभकारीबाट गरिबहरुको निम्ती दिइने अन्न आदि सहयोग यस्का उदाहरणहरु हुन् । मन्दिरका महन्थहरुले धनाढ्य साहु महाजन र राज्य प्रतिनिधिहरु समेतलाई जनताको दुःख र कठिनाईहरु बारे जानकारी गराउने, समस्या समाधानको निम्ती आग्रह गर्ने, दबाब दिने तथा धनाढ्य साहु महाजनहरुलाई गरिबहरुको निम्ती आर्थिक र भौतिक दान दिन प्रेरित गर्ने गरेको उदाहरणपनि इतिहासमा पाइन्छ ।

महोत्तरी जिल्लाको मठिहानीमा रहेको देशको सबैभन्दा पुरानो पाठशाला तस्मैयाबाबा नामक साधुको प्रेरणा र मठिहानी स्थानको सक्रियतामा नै शुरु भएको हो । त्यसरी नै जानकीमन्दिरका वर्तमान महन्थका प्रपितामह गुरु रामकृष्ण दास तथा पितामह गुरु नवलकिशोर दास जनकपुरमा लोकप्रिय महन्थ मानिन्छन् । आधुनिक जनकपुरमा बस्ती विकास सबैभन्दा बढी यिनीहरुकै पालोमा भएको थियो । नवलकिशोर दासले त आफ्नै पहलमा समेत मानिसहरुलाई बोलाएर जग्गा दिएर बसाल्न लगाएका कुरा बुढापाकाहरुले सुनाउँछन् । तात्पर्य के हो भने, कुनै बेला राज्यको भुमि कर प्रतिनिधिको रुपमा मन्दिर र महन्थहरु एकातिर कृषक र कृषक श्रमिकहरुको निम्ती पीडक भएपनि अर्कोतर्फ धर्मार्थ भनेरै भएपनिसामाजिक विकासमा पनि उनिहरुले भुमिका खेल्ने गरेका थिए । तर अहिले मन्दिर लगायत धर्मस्थलहरु एकाकी हुँदैगएका छन् । धर्मस्थल र धर्मसंस्थाहरुमा सहजतापूर्वक हुने भ्रष्टाचारको प्रमुख कारणहरु मध्ये एक यो सामाजिक एकाकीपना पनि हो । मन्दिरहरुलाई पूर्ण भावको अनुभूति हुने गरी उपासनास्थली बनाउन तथा पर्यटकहरुको आकर्षणको निम्ती आध्यात्मिक भाव सौन्दर्यको वातावरण निर्माण गर्नु पर्छ । अभ्यासहरुले के देखाएको छ भने जानकी मन्दिरको गरिमा, ओज तथा सौन्दर्य बचाउन गुठी, सरकार र जानकी मन्दिरको आफ्नो व्यवस्थापन असफल देखिन्छ । यस्तोमा स्थानीय समुदायको वर्चस्व रहने गरी समुदाय, मन्दिर, गुठी र सरकारी प्रतिनिधिहरु समेतको निश्चित दायित्व र अधिकार सहितको एउटा व्यवस्थापकीय समितिको जिम्मामा जानकी मन्दिरको व्यवस्थापन दिनु उचित देखिन्छ । अझ जब स्वयं महन्थ नै मन्दिरमा भ्रष्टाचार भयो भने बिलौना गर्छन्, भने अरु भन्नु नै के छ र ? यो विकल्प जानकी मन्दिर मात्र होइन, अन्य मन्दिर र धर्मसंस्थाहरुमा समेत उचित देखिन्छ ।

मेरो विचारमा त राज्यले गुठी, मन्दिर र भूमि बीचको सम्बन्ध बारेपनि नयाँ किसिमले सोच्नु आवश्यक छ । अहिले गुठी आफै भूमि भ्रष्टाचारको सबैभन्दा ठूलो केन्द्रको रुपमा विकसित भएको छ । त्यसतै मन्दिर लगायत धर्मस्थलहरुलाई भ्रष्टाचार मुक्त गर्न यसलाई भूमिबाट अलग गर्नु पर्छ । मन्दिर र गुठी मातहतको भूमिको व्यवस्थापन र नियन्त्रण राज्यले पूर्णरुपमा आफ्नो जिम्मा लिनु पर्छ । त्यसरी नै मन्दिर लगायतका धर्मस्थलहरुलाई आर्थिक उपार्जनको लोभयुक्त वातावरणबाट मुक्त गराउनको निम्ती यसलाई स्थानिय समुदायको जिम्मा दिनु पर्छ तथा मन्दिरमा चढाइने दान दातव्यबाट सामुदायिक स्कूल, अस्पताल, सार्वजनिक आश्रयस्थल, अनाथालय, वृद्धाश्रम जस्ता सामाजिक संस्थाहरु सञ्चालन गरिनु पर्छ । तर यस परिवर्तनको निम्ती धर्म, धर्मस्थल र राज्यको भूमिका बारे नयाँ ढंगले सोँच्नु आवश्यक छ । र, यस्को निम्ती राज्य र समाज दुबैको सक्रियता र सहकार्य आवश्यक छ ।

Comment

Related News