२०७९ असार ८, बुधबार ०७:०४

जनकपुरधाम ।मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएको वर्ष दिन नबित्दै सरकारले स्थायी संरचना निर्माणका लागि जग्गाको छनौट गरेको छ । प्रदेश सरकारको प्रशासनिक भवन, मन्त्रालयहरु , मुख्यमन्त्री, मन्त्रीहरुको आवासका लागि स्थायी भौतिक संरचना मधेश भवन परिसर (जचुकालि) भित्रै निर्माण गर्ने उच्च स्तरीय समितिले प्रतिवेदन तयार गरेको छ ।

जनकपुरधामको मध्यमा नै ३५ बिघा जग्गा जचुकालिले चर्चेको छ ।मधेश प्रदेश सरकारका प्रशासनिक भवन, विभिन्न मन्त्रालयहरुको भवन, मुख्यमन्त्री निवास, सचिवालय, मन्त्रीहरुको निवास निर्माण गर्न सकिने गरी समितिले प्रतिवेदन बनाएको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको संयोजकत्वमा जग्गा चयनका लागि सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले प्रदेश सरकारको विभिन्न स्थायी भौतिक संरचना निर्माणका लागि प्रदेशको राजधानी क्षेत्रमा पर्ने विभिन्न सार्वजनिक जग्गाहरुको तथ्याङक धनुषा र महोत्तरीका मालपोत र नापी कार्यालयसँग लिएर जग्गाको अवस्था वारे अध्ययन गरेको थियो । ती जग्गाहरु मध्ये प्रदेश सरकारको प्रशासनिक तथा मन्त्रालयहरुको भवनको निर्माणको वातावरण तथा विभिन्न सुविधाको दृष्टिकोणले हाल रहेको जनकपुर चुरोट कारखनाको जग्गा उपयुक्त रहेकोले ती जग्गा नैे सिफारिस गरिएको समितिका संयोजक रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले बताए । जचुकालि परिसरलाई मधेश प्रदेश सरकारले ‘मधेश भवन’ घोषणा गरिसकेको छ ।हाल त्यस भित्र प्रदेश प्रमुखको आवास र कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाहेकका सबै मन्त्रालय, मन्त्रीहरुको आवास, मुख्यमन्त्रीको आवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सचिवहरुको आवास, अधिकृतहरुको आवास लगायत रहेका छन् ।

संघीय सरकारको उद्योग मन्त्रीहरुले पटक–पटक जचुकालिलाई सञ्चालन गर्ने बताए पनि त्यो अब संभव रहेको छैन् ।जीर्ण भइसकेको मेसिन र भवनलाई हटाएर प्रदेश सरकारको सम्पूर्ण भौतिक संरचना निर्माण त्यसमा हुने सुझाव समितिले दिएको छ । मन्त्री यादवका अनुसार प्रदेश सभा सचिवालयका लागि हाल रहेको प्रदेश सभा भवनको छेउमै रहेको गुठीको जग्गामा नयाँ भवन तथा संसदीय दलहरुको भवन निर्माण गर्न सकिने गरी समितिले प्रतिवेदन तयार गरेको छ । त्यसैगरी, प्रदेश सरकारका कर्मचारी, प्रदेश सांसदहरुका लागि आवासको व्यवस्थापन गर्न राइजोवियम तथा चरण परीक्षणको भोगमारहेको २२ विघा जग्गा उपयुक्त रहेको समितिले सुझाव दिएको छ । राइजोवियमको भोगमा रहेको जग्गामा हाल नेपाली सेनाको क्याम्प रहेको छ ।सेनाले त्यहाँ ब्यारेक बनाउने तयारी गरेको थियो ।तर सेनालाई सहरको मध्यमा राख्न नहुने भन्दै विरोध हुन थालेपछि हाल त्यसको चर्चा सेलाएको छ ।तर सेनाको क्याम्प त्यसमा रहिरहेको छ । प्रदेश सरकारको अन्य भौतिक संरचना जनकपुर विमास्थलभन्दा दक्षिण सिक्स लाईन सडकको छेउमा गुठी संस्थानको स्वामित्वमा रहेको ६ विघा जमिन उपयुक्त रहेको समितिको प्रतिवेदनमा उल्लेख रहेको छ । त्यसैगरी, प्रतिवेदनमा आगामी आर्थिक वर्षदेखि मधेश भवन परिसरमा ४ वटा मल्टिस्टोरेज भवनको डिपिआर समेत तयार गरी समावेश गरिएको छ । ती भवनलाई वहुवर्षिय योजनामा राखेर निर्माण गर्ने हामीले प्रतिवेदनमा सुझाव दिएका छौ, मन्त्री यादवले भने,‘ त्यसकालागि पहिलो वर्षमा ५ करोड रकम विनियोजन समेत गरिएको छ ।’ प्रतिवेदन तयार भइसकेको छ, मन्त्री यादवले भने,‘ अव ती प्रतिवेदन प्रदेश मन्त्रिपरिषद्को बैठकमा पेश गर्छाै, त्यसपछि मात्रै त्यहाँबाट कुनै ठोस निर्णय हुन्छ ।’

प्रदेश सभाले प्रदेशको नामकरण र स्थायी राजधानीको टुंगो लगाएपछि स्थायी संरचना निर्माणका लागि सुझाव दिन उच्चस्तरीय समिति गठन गरिएको थियो ।एकीकृत रुपमा स्थायी संरचना निर्माण गरी काम गर्दा सर्वसधारणलाई सेवा लिन सहज हुने मन्त्री यादवले बताए । प्रदेशको राजधानीको क्षेत्र धनुषा र महोत्तरी जिल्लालाई कायम गरिए पनि प्रदेश सरकारको प्रादेशिक सचिवालय निर्माणका लागि जचुकालि परिसर भन्दा उपयुक्त स्थल नभएको उनले बताए ।‘हाल रहेको भौतिक संरचनालाई मर्मत संभार गरी समेत प्रयोगमा ल्याउन सकिनेछ’ उनले भने, घेरबेर समेत भएको र खाली जमिन पर्याप्त रहेकाले भौतिक संरचना निर्माणमा सहुलियत हुनेछ ।

Please subscribe our official youtube channel and support us.

Comment

Related News