२०७९ असार ८, बुधबार ०७:३१

एक जना साधारण किसान भन्दै थिए – मैले खेत जोत्न लगाएको, आधा घन्टाको नौ सय रुपैया लियो । अहिलेसम्म एक हजार आठ सय रुपैयाको दरले एउटा ट्रयाक्टरले खेत जोत्दथ्यो, अब एकैचोटि फेरि भाउ बढ्ने डिजलको । अब सायद एक घन्टाको पचीस सय रुपैया गर्ला । अब खेती गर्न नसक्ने भएको छ । मलको भाउ बढेको छ, बिउको भाउ बढेको छ । यसै गरी खेतीमा लाग्ने मजदुरको ज्याला पनि बढेको छ । सबैभन्दा बढी त सिंचाइमा लाग्ने खर्च पनि बढेको छ । पहिले पाँच सय रुपैयाको एक घन्टा पम्पसेट चल्दथ्यो र अहिले पछिल्लो समय डिजलको भाउमा वृद्धि हुँदा छ सय रुपैयाको एकघन्टा चलाउन पनि आनाकानी गरिरहेका छन् । किसानका लागि हुने समस्यालाई बाहिरबाट हेर्दा र भित्रबाट हेर्दाको अवस्थामा फरक हुन्छ । अहिले केही हप्ता खडेरी परेको समयमा किसान निकै छटपटिएका थिए । धेरैले सुविधा हुँदा पनि पैसा धेरै लाग्छ भनेर धानको ब्याडमा पानी पटाएनन् । धानको ब्याडमा समयमा पानी नपटाउँदा ब्याडको बेर्ना त्यत्ति राम्रो हुन सकेको छैन जति राम्रो पानी पटाउनेको भएको छ । नजिकमा बोरिङको सुविधा हुँदा पनि किसानले महँगीको कारणले उपयोग गर्न सकेका छैनन् । यसरी साधारण किसानले महँगीको कारणले सुविधाको उपयोग नगरेको हुन् कि अन्य कारण छ ? वास्तवमा अन्तर्यमा हेर्ने हो भने प्राप्त हुने प्रतिफल नै हो बुझ्न सकिन्छ ।

ब्याडको बेर्नाले नै रोपनीको समयमा काम दिने हो । बेर्नालाई नै बलियो बनाउन किसान हिच्किचाउनु भनेको अझै पनि उत्पादनबाट नाफा हुन्छ भन्ने कुरामा विश्वास नभएर लगानी गर्न नखोज्नु पनि हो । यदि धानको रोपनीको बेलामा पनि आकाशले पानी दिएन भने रोपनीमा पनि असर पर्ने कुरालाई यसैबाट अनुमान लगाउन सकिन्छ । यद्यपि यस वर्ष पानी राम्रो पर्ने सम्भावना रहेको विभिन्न मिडियाहरुमा बारम्बार आइरहँदा किसानहरुले यो कुरो सुनिसकेका छन् । यसै कुरामाथि विश्वास गरेर पनि कतिपय किसानले अहिले धेरै खर्च गरेर ब्याडमा पानी पटायो र आजभोलिमै पानी परिदियो भने पटाएको पानीको पैसा खेर जाने हुन्छ भनिरहेका छन् । किसानको हातमा नगद नपर्दा सबैभन्दा बढी समस्या त्यही खर्च गर्नलाई हुन्छ । अहिले मलको अभाव होला कि भन्ने आशंकामा किसान रहेका छन् । किसानलाई मलको अभाव होला र मल धेरै महँगोमा पाइएला भन्ने चिन्ता रहेको छ । यसै कारण कतिपय किसानले रासायनिक मलको जोहो गर्न थालिसकेका छन् । आफूलाई चाहिने मल घरमा ल्याएर राख्न थालेका छन् । खेतीको तालमा चाहिने मल यदि पाइएन भने पनि चाहिएको जस्तो बालीको उत्पादन नहुन सक्छ । साधारण किसानहरुले पनि दोकानबाट मल किन्नुभन्दा बलेकियाहरुबाट मल किन्न थालिरहेका छन् । बलेकियाहरुले मल गाउँमा र अझ घरसम्मै पु¥याइरहेका छन् जुन बजारको पसलमा भन्दा दुई पैसा सस्तो पनि छ । सस्तो हुने र घरमै उपलब्ध हुने हुनाले किसानले मलको जोहो गर्न थालेका छन् र बलेकिया गर्नेहरुले पनि राम्रो कमाइ गरिहरेका छन् । यसैले गर्दा कतिपयले के विश्वास गरेका छन् भने मलको अभाव त होला तर हाहाकार नहोला । धेरै किसानले जसलाई बढी मल चाहिएको हुन्छ, ले मलको जोहो गर्न थालिसकेका छन् । मलको जोहो गर्न थालेका किसानलाई एकैपटक धेरै मलको आवश्यकता पर्दैन । अनौपचारिक स्रोतबाट किसानले मल पाइरहँदा खेतीमा मलकै कारण समस्या नहोला तर अहिलेकै अवस्था पछिसम्म पनि रहन्छ भन्ने निश्चित हुँदैन ।

यसकारण मलको अभाव हुने डर भने किसानको मनमा रहेकै छ र यही डरकै कारण जोहो गरेका पनि हुन् । धानखेती पूर्व नै धानखेतीको लागि लगानी गरेका हुन्, सचेत भएका हुन् वा अविश्वासमाथि विजय प्राप्त गरी आफूलाई विश्वस्त बनाएका हुन् । यस प्रकारको सचेतनाले थोरै भए पनि किसानहरुल बिस्तारै जीवनयापनको लागि गम्भीर हुन थालेको पनि संकेत गरेका छन् । एकजना किसानको भनाइ यस्तो छ – धानमा पानी पुगेन भने मलको पनि काम छैन र किसानले डिजलबाट चल्ने बोरिङबाट पानी पटाएर धान खेती गर्ने उपाय गर्न अहिले झन् असमर्थ बनेका छन् । उसो भए बिजुलीबाट सिंचाइ गर्न सजिलो छैन त ? कृषिमा बिजुली घरायसी प्रयोजनको बिजुलीभन्दा निकै सस्तो छ । कृषि कार्यमा प्रयोग गरिने बिजुलीमा सरकारले धेरै लगानी गरेको छ । कतिपय पालिका सरकार त कृषिको सम्पूर्ण बिजुली नै निशुल्क गरिदिएको छ किसानको लागि । भन्नुको अर्थ सिंचाइमा जति बिजुली लागे पनि सम्बन्धित पालिकाले तिरिदिने गरेको छ । कृषि उत्पादन बढाउन तथा कृषिमा किसानको लागत कम गर्न यो निकै सजिलो र भरपर्दो उपाय पनि हो । केन्द्र सरकारले दिएको सहुलियत त सबै किसानका लागि हो तर स्थानीय सरकारले दिएको सहुलियत सम्बन्धित पालिकाका किसानले मात्र उपभोग गर्न पाउँछन् । यसले केही पालिकाका किसानको सिंचाइ समस्या समाधान गर्न सजिलो त हुन्छ तर यो ज्यादै सीमित क्षेत्रमा सीमित हुन्छ । मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्षदेखि कृषि बिजुलीको पचहत्तर प्रतिशत लागत बेहोरिदिने भएको छ । केन्द्र सरकारले धेरै छुट दिएको र बाँकी रकममा पनि पचहत्तर प्रतिशत प्रदेश सरकारले तिरिदिने भन्ने खबरले किसानलाई धेरै राहत पु¥याएको छ तर यस प्रकारको सिंचाइ निकै कम जमिनमा पुग्न सकेको छ । अझ मुख्य गरी यस प्रकारको सुविधाको उपयोग माछापालक किसानले बढी गरिरहेका छन् । साँच्चै खेतीकिसानी हुने खेतसम्म अझै पनि बिजुली पुग्न बाँकी छ । कतिपय पालिका सरकारले बिजुली पु¥याउने प्रयास निरन्तर गरिरहेको छ । खेतखेतमा बिजुली पु¥याउनु अहिलेको आवश्यकता देखिएको छ । अनि मात्र एउटा पक्षमा किसानले लागत कम हुने अवस्था आउँछ । हो, किसानले आफूले गर्ने परिश्रमबाहेक पहिलो खर्च जोताइमा, दोस्रो खर्च मल र बिउमा तथा तेस्रो खर्च सिंचाइमा गर्दछन् ।

मल, बिउको भाउ त बढेको बढ्यै छ । जोताइको भाउले आकाश छुन थालिसक्यो, सिंचाइको क्षेत्रमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारले ध्यान दिएको देखिन्छ तर अझै पनि किसानको पहुँचमा खेतमा बिजुली पुग्न सकेको देखिएको छैन । किसानले बिजुली पाउने अवस्थामा पनि एउटा डर हुन्छ – कतै करेन्ट लागिहाल्छ कि ? हुन पनि हो, करेन्ट लागेको खबर कहिलेकाहीँ आइरहन्छ । जहाँ सिंचाइको काम भइरहेको छ र जहाँ सिँचाइको लागि विद्युतीकरण भइरहेको छ, त्यहाँका किसानलाई खेतीमा बिजुलीको सजिलो र सुरक्षित उपयोग कसरी गर्ने ? कसरी बिजुलीको करेन्टबाट सावधान रहन सकिन्छ ? के कस्ता सावधानी अपनाउनै पर्ने हुन्छ ? विद्युतीय सिंचाइको उपयोगको सही तरिका के हो । यस विषयमा पनि व्यापक सचेतना जरुरी छ । विद्युत मिटरको जडानका पूर्वशर्तहरु के कस्ता छन् ? कुन अवस्थामा कृषि मिटर दिन सकिन्छ ? कृषि मिटर जडान गर्दा पनि कहाँ र कसरी जडान गर्दा बढी सुरक्षित हुन्छ ? कुन अवस्थामा करेन्ट लाग्ने डर हुन्छ ? कुन अवस्थामा किसान बढी सुरक्षित हुन्छन् ? कसरी किसानलाई बढी सुरक्षा प्रदान गर्न सकिन्छ ? वास्तवमा किसानको मनमा भएको डरलाई व्यावहारिक र वैज्ञानिक किसिमले हटाउन सकिन्छ र अझ यसभन्दा अगाडि बढेर कृषि सिंचाइलाई पूर्णतया सुरक्षित कसरी बनाउन सकिन्छ ? यस विषयमा गम्भीर हुनु परेको छ । यस विषयमा किसानलाई तालिम वा प्रशिक्षणको आवश्यकता पनि पर्न सक्छ । सरकारले अलिकति लगानी पनि गर्नुपर्ने हुन सक्छ तर अहिलेको अवस्थामा जुन किसिमले तिन तहको सरकारले बिजुलीको उपयोग कृषिमा गर्ने नीति लिएको छ, त्यो सराहनीय हुँदाहुँदै पनि निरक्षर किसानका लागि डर लाग्ने किसिमको रहेको छ । साधारण किसानले सोचेको भन्दा बढी परिवर्तन कृषि र कृषि प्रविधिमा भइहरेको छ । विश्व नै डरलाग्दो महँगीतिर धकेलिइरहेको अवस्थामा कृषिको लागत झन् बढ्दैछ । यसले कृषि उपज पनि महँगो हुने सम्भावनालाई बताइरहेको छ ।

कृषि उपज महँगो हुँदा किनेर खाने वर्गलाई झन् भार पर्न थाल्छ । वा कृषिमा प्रयोग गरिने साधन र स्रोत धेरै महँगो हुँदा किसानले जब नसक्ने अवस्था आउँछ तब पनि कृषि उपज महँगो हुने देखिन्छ । कृषि उपज महँगो हुनुको मार हरेकलाई पर्न सक्छ । यस अर्थमा कृषिकर्मलाई अझ सहज बनाउनु आवश्यक छ । कृषि कामको लागि प्रयोग हुने डिजलको मूल्यमा पनि केही सहुलियत दिनु आवश्यक छ । यदि कृषि कार्यमा प्रयोग हुने डिजलको मूल्यमा केही सहुलियत प्राप्त हुन्छ भने किसानले खेतमा गर्ने सिंचाइ र खेतको जोताइमा सकारात्मक प्रभाव पर्दछ । यसरी किसानलाई सिंचाइ र जोताइ सस्तो भए पनि मल र बिउमा किसानले कम्प्रोमाइज गर्नुपर्ने हुन्छ । मल त नकिनी हुँदैन तर बिउ त धेरै किसानले एक वर्ष किनेपछि अर्को वर्ष त्यसैलाई नै प्रयोग गर्दछन् । जसले गर्दा बिउमा धेरै लगानी गरे पनि किसानलाई दुख्दैन । यसर्थ देशलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि बिजुलीको कृषिमा उपयोगको सहज वातावरण बनाउनुका साथै जोताइको सुविधा मिलाउनतिर ध्यान दिनु आवश्यक भइसकेको छ ।

Comment

Related News