२०७९ असार ९, बिहीबार ०६:४८

जनकपुरधाम ।नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने रामायण सर्किटमा घुम्ने रेल विहीबार जनकपुरधाम आउन लागेको छ । ‘भारत गौरव पर्यटक रेल’ रामायण यात्राको क्रममा जनकपुरधाम आउन लागेको छ ।भारतको नयाँदिल्लीबाट पर्यटन र रेल मन्त्रीले संयुक्त रुपमा विदा गरेको रेल जनकपुरधाममा विहीबार दिउँसो पौने २ बजे आईपुग्ने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जनाए । ‘रेलमा ४ सय ९९ जना श्रद्धालुहरु सवार रहेका छन्’ झाले भने, उनीहरुलाई जनकपुरधाममा ओरालेर रेल फिर्ता जाने छ ।

तीर्थयात्रीहरु रात्रिवास बसेर शुक्रवार बसबाट भारतको सीतामढी जाने उनले बताए । रामायणमा वर्णन गरिएका सीतारामसित जोडिएको पवित्र स्थलहरुको दर्शन भारत गौरव पर्यटक रेलले गराउने छ । पहिलो पटक सो रेल जनकपुरधाममा आइपुग्दा भव्य स्वागतको तयारी गरिएको छ ।मधेश प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले यात्रुहरुको स्वागतका लागि विशेष तयारी गरेको छ ।यात्रुहरुलाई स्वागत गर्न रेलवे स्टेशनमा प्रदेश सरकारका मन्त्री लगायत कर्मचारी, नगरवासी लगायतको उपस्थिति रहने मन्त्री शत्रुधन महतोले जनाए । ‘जनकपुरधामको पर्यटकीय विकासका लागि रामायण यात्रा कोसेढुंगा सावित हुनेछ’ उनले भने, यसले नेपाल र भारतबीचको सम्बन्धलाई समेत सुमधुर बनाउने छ । तीर्थयात्रुहरुलाई जानकी मन्दिर समेत यहाँका तलाउ, सरोवर, मठमन्दिर, धनुषाधाम लगायत रामायणकालीन स्थलहरुको दर्शन गराइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाए । नेपालको एकमात्र जयनगर– जनकपुरधाम–कुर्था ३५ किलोमिटरको रेलसेवासुरु भएको तीन महिना भित्र नै भारतको अत्यन्त महत्वाकांक्षी पर्यटक रेल आउन लागेको छ ।नेपालमा एकसाथ पाँच सय बढी पर्यटक ल्याउने ‘भारत गौरव पर्यटक रेल’ पहिलो र एकमात्र सवारीसाधन बनेको छ । भारत सरकारको विशेष पहलमा सञ्चालनमा आएको सो पर्यटक रेलको प्रचारमा भारत–नेपालको रामायणकालीन स्थलहरुको उल्लेख गरिएको छ । ८ हजार किलोमिटर लामो यात्रा गर्न १८ दिनको समय निर्धारण गरिएको छ ।भारतको राजधानी नयाँदिल्लीबाट प्रस्थान हुने ‘भारत गौरव पर्यटक रेल’ तेस्रो दिन जनकपुरधाम आइपुग्ने छन् ।

रेलको सर्वाधिक महत्वपूर्ण तीर्थस्थल जनकपुरधाम र अयोध्या रहेको छ ।सीता र रामको जन्मस्थललाई जोड्दै रामायणकालीन सीताराम सम्बद्ध प्रसिद्ध स्थलहरुको दर्शन तीर्थयात्रुहरुलेगर्न पाउने छन् । रेलका यात्रुहरुले सीतामढी, वाराणसी, नासिक, रामेश्वरम्को दर्शन गरी पूनःभारतको राजधानी नयाँ दिल्ली फर्कने छन् । नयाँदिल्लीबाट छुटेको रेलको पहिलो हल्ट अयोध्या रहेको छ ।अयोध्यामा राम जन्मभूमि मन्दिर, हनुमान मन्दिर, भरत मन्दिर, नन्दीग्राम लगायतको स्थानको दर्शन यात्रुहरुले गर्नेछन् ।त्यहाँबाट छुटेपछि बिहारको बक्सरमा रेलको दोस्रो हल्ट रहेको छ ।त्यहाँ विश्वामित्र ऋषिको विश्रामस्थल लगायतका दर्शन, त्यसपछि गंगाको रामरेखा घाट यात्रुहरुले हेर्न पाउने छन् । रेलका अधिकारीहरुका अनुसार त्यहाँबाट रेल सोझै भारतको जयनगर स्टेशन हुँदै जनकपुरधाम आइपुग्ने छ । जनकपुरधाममा यात्रुहरुको होटेलमा विश्रामको व्यवस्था मिलाइएको छ । जनकपुरधामबाट भोलिपल्ट यात्रुहरु बस चढेर भारतको सीतामढी जाने छन् । त्यहाँबाट तीर्थयात्रीहरु ‘भारत गौरव पर्यटक रेल’बाट वराणसीका लागि प्रस्थान गर्ने छन् । वराणसीमा सीता समाहित भएको स्थलको दर्शन गरी तीर्थयात्रीहरुलाई प्रयागराज, श्रीगंवरपुर र चित्रकुटको दर्शन सडक मार्गबाट गराइने बताइएको छ । त्यसपछि पूनः‘भारत गौरव पर्यटक रेल’ बाट नासिक, त्रयंम्बकेश्वर मन्दिर र पञ्चवटीको दर्शन यात्रुहरुले गर्नेछन् । नासिकपछिको यात्रा किष्किन्धा हुनेछ । हम्पीमा रात्रि विश्रामपछि यात्रुहरुले भगवान हनुमानको जन्मस्थल अन्जनेय पर्वत लगायतका पवित्रस्थलहरुको दर्शन गर्ने छन् ।त्यसपछि रामेश्वरम्मा रामनाथास्वामी मन्दिर, धनुषकोडीमा तीर्थयात्रीहरु पुग्ने छन् ।रात्रि विश्रामपछि यात्रीहरु काञ्चिपुरम्मा शिव काँची, विष्णु काँची र कामाक्षी मन्दिरको दर्शन गर्ने बताइएको छ ।

तीर्थयात्रीहरुको अन्तिम दर्शनीय स्थल तेलांगाना राज्यको भद्राचलम हुनेछ ।त्यहाँबाट अयोध्या फिर्ता हुने र दिल्ली पुगेर १८ दिने ८ हजार किलोमिटर लामो तीर्थयात्रा पूरा हुने अधिकारीहरुले जनाएका छन् । ११ वटा ‘थ्री टायर एसी’ बोगी रहेको ‘भारत गौरव पर्यटक रेल’मा ६ सय तीर्थयात्रुहरुले यात्रा गर्न सक्छन् ।सरसमान र भान्साका लागि दुईवटा अतिरिक्त बोगी रहेको सो रेलमा शुद्ध र ताजा शाकाहारी भोजन यात्रुहरुलाई उपलब्ध गराइनेछ । रेलमा एकजना यात्रुको भाडा भारतीय रुपैया ६२ हजार ३ सय ७० (नेपाली रु ९९,७९२) रहेको रेलवे अधिकारीहरुले जनाएका छन् ।त्यसमा रेलको भाडा, बस यात्रा, भोजन, रात्रि विश्राम स्थलमा आवास, वीमा लगायतका सुविधाहरु उपलब्ध रहेको बताइएको छ । रेलवेले पहिलो बुक गर्ने पचास प्रतिशत यात्रीलाई टिकटमा ५ प्रतिशत छुटको प्रबन्ध गरेको छ ।

please subscribe our official youtube channel and support us.

Comment

Related News