अपडेट 
२०७९ आश्विन ११, मंगलवार ०८:१९

स्कृतिले हाम्रो सामाजिक जीवनलाई हमेशा प्रभावित गर्छ । समाज, देश र राजनीति एक अर्कासंग अन्योन्याश्रित छन् । राजनीतिले समाज र देशलाई प्रभावित गर्छ, त्यसैले यसले सँस्कृतिलाईपनि प्रभावित गर्छ । व्यक्ति र समाजको मनोविज्ञानको निर्माणमा संस्कृतिकोपनि प्रभाव हुन्छ, त्यसैले सँस्कृतिले राजनीतिलाई पनि प्रभावित गर्छ । मानिस, समाज र सँस्कृतिको विकासको अध्ययन गर्दा राजनीतिक परिवर्तनहरुले साँस्कृतिक परम्पराहरु तथा मानवीय मनोविज्ञानलाई समेत परिवर्तित गरेको इतिहास पाइन्छ । यद्यपि राजनीतिक परिवर्तनको तुलनामा साँस्कृतिक परिवर्तनले धेरै लामो अवधि लिँदो रहेछ । वैदिक, बौद्ध, जैन, भागवत र लोकायत (भौतिकवादी प्रवृत्ति) संस्कृति आदिको उद्भव, विकास र विस्थापन यस्का उदाहरण हुन् ।

सामान्यतः संस्कृतिलाई हामी गीत, संगीत, नृत्य र साहित्य कलाको अर्थमा बुझेर यसलाई सांस्कृतिक आयोजन, समारोह, उत्सव आदिको अर्थमा बुझ्छौँ । तर यिनीहरु संस्कृतिका आङ्गिक अभिव्यक्ति मात्र हुन् । व्यापक अर्थमा संस्कृति भनेको मानिसको बहुआयामिक मनोविज्ञान, क्रियाशीलता र कार्यव्यापारको समुच्च्य हो, जो साझा भूगोल, इतिहास, अर्थव्यवहार र मनोविज्ञानबाट जन्मन्छ । यो स्थिर वा सनातन भने होइन, यो विविध कारणवश ऐतिहासिक प्रक्रियामा परिवर्तित भइरहन्छ । तराई मधेश होस वा पहाड वा हिमाल, नेपालमा विगत सत्तरीवर्षमा राजनैतिक परिवर्तनहरु भएपनि यस अनुपातमा जनताको सांस्कृतिक चेतनामा अग्रगामी परिवर्तन देखिएको छैन । बरु समयसंगै उसको समग्र सांस्कृतिक चेतनामा सामुहिकपना क्रमशः घटदै गएको छ, एकल समृद्धि र प्रतिष्ठाको आकर्षणमा वृद्धि हुँदै गएको देखिन्छ । विगत पचासवर्षमा धर्म, बजार र राजनीतिको गठबन्धनले नेपाली समाजको सामुहिकपना, मानवीयता र देशहितका आधारहरु कमजोर गर्दै गएको छ । तुलनात्मक रुपमा सांस्कृतिक उत्सवहरुमा आडम्बर, खर्चिलोपना तथा संकीर्ण आक्रामकता बढदै गएको देखिन्छ । यसको मूख्य कारण धर्म, बजार तथा राजनीतिको गठजोड नै हो । धर्म र संस्कृतिको सम्बन्ध पुरानो हो । धार्मिक विद्वानहरुले व्याख्या गरेझैँ धर्म आफैमा संस्कृति होइन, तर ऐतिहासिक क्रममा भने धर्मले संस्कृतिलाई अधिकतम प्रभावित गर्दै आएको हो । तथापि विगत एकहजार वर्षभित्र जसरी दक्षिण एसियाली समाज एक आपससंग अन्तर्विरोध, संघर्ष, अन्तर्सम्बन्धको अनेक चरणहरुबाट गुज्रेको छ, त्यसले विगत दुईसय वर्षमा धार्मिक सहिष्णुता अर्थात धार्मिक उदारता प्रायः सबै धर्ममा देखिन थालेको थियो । यसो हुनुको पछाडी मानवीयता, समानता तथा शान्तिको आधुनिक वैश्विक चेतनाको प्रसारको प्रभाव हो । तर समयसंगै धर्ममा मौद्रिक आडम्बर आक्रामक रुपमा बढदै गएको छ ।यो नकारात्मक कल्चरल सिफ्ट (सांस्कृतिक परिवर्तन) हो । संस्कृतिको निम्ती अँग्रजीमा ‘कल्चर’ शब्द प्रयोग गरिन्छ ।

कृषिको निम्ती अँग्रेजीमा ‘एग्रिकल्चर’ र ‘कल्टिभेसन’ दुईवटा शब्दहरु प्रयोग हुन्छन् । हाम्रा सांस्कृतिक उत्सव तथा पर्वहरुमा कृषिजन्य उत्पादनहरुको बहुलता तथा कृषि अुनकुलको अवसर यसैमा आधारित हुने गरेको छ । यसैकारण लोक संस्कृति र जन संस्कृतिको तात्पर्यपनि अधिकांशतः कृषक र श्रमिक समुदायगत प्रवृत्तिप्रति नै लक्षित हुन्छ । सामाजिक जीवनमा कृषिमा संकट बढदै गएपछि किसानहरुपनि संकटग्रस्त हुँदैगए संगै लोकसंस्कृति र जन संस्कृति दुबै संकटग्रस्त हुँदैगएको छ । संस्कृतिभित्रको धार्मिक जड प्रभावको कारण सांस्कृतिक उत्सवहरु, उल्लास र आनन्दभन्दा पनि बाध्यात्मक धार्मिक कर्म काण्डमा परिणत भयो । अर्कोतिर बजार समाजको मूख्य आपूर्तिकर्ताको रुपमा उपस्थित भयो । यस्तो बजार जस्ले धार्मिकरुपमा बाध्यकारी उत्सवहरुलाई आडम्बरयुक्त नबनाएसम्म प्रतिष्ठित र सुन्दर नै नदेखिने विकृत सौन्दर्य बोध सिर्जना ग¥यो । विगतमा हुने गरेको स्थानीय स्रोतबाट सजिएको दशैँ दिपावली र छठ लगायतका सांस्कृतिक उत्सवहरुसंग तपाँई, अहिलेको उत्सवहरुमा करोडौँको खर्च लाग्ने तोरणद्वार, झिलीमिली, व्यावसायिक सांस्कृतिक कार्यक्रम, अबौँको भजन क्यासेट तथा एल्बमको कारोबार, डिजे स्पीकरको मुटु हल्लाउने हल्ला तथा भव्यता र भीडको तुलना गर्नसक्नु हुन्छ । विगतमा दशैँ, दिपावली र छठ लगायतका सांस्कृतिक उत्सवहरु सामाजिक थिए । त्यसैले यी उत्सवहरुको आयोजन स्थानियस्तरमा हुने गथ्र्यो । त्यसपछि समाजमा सामाजिक संगठनको ठाउँमा आधुनिक प्रकृतिका सांस्कृतिक क्लबहरु देखिए । सामाजिक काममा यिनको सक्रियताले समाजमा प्रभाव उत्पन्न गर्ने हुनाले यसप्रति बजार र राजनीतिक दल र नेताहरुको पनि ध्यान गयो । पहिलो चरणमा बजारले आफ्नो उत्पादनको प्रचारको उद्देश्यले यी क्लबहरुलाई आर्थिक सहयोग ग¥यो ।

त्यसरी नै राजनीतिक नेताहरुले क्लबहरु भित्र आफ्नो प्रभूत्व बढाउँदै लग्यो । वर्तमान संसदिय र सत्ता राजनीतिको भित्री कथा धार्मिक र जातियतापनि हो ।समयसंगै जातिय र धार्मिक आधारहरुमा पनि क्लबहरु गठित भयो । सामुहिक र मानवीय संस्कृतिको निम्ती यो घातक थियो, किनभने यस्ले सांस्कृतिकताभित्र संकीर्ण साम्प्रदायिक र धार्मिक प्रतिस्पद्र्धा जन्माउँथ्यो । तर बजार र राजनीति दुबैलाई यससंग मतलब थियो । उनिहरुको मतलब नाफा र चुनावी सफलतासंग मात्र थियो । दुबैले यसलाई मलजल नै गरे । यसकारण समयसंगै दशैँ, दिपावली तथा छठ जस्ता आयोजनहरुमा समुदायभन्दापनि क्लब अथवा युवा समितीहरुको भूमिका बढी हुने गरेको छ । देवी दुर्गा वा अन्य देउताका गहबर, थान वा मन्दिर, वा छठ पूजाको निम्ती घाट बनाउने नदी र पोखरीका डीलहरुमा सजावटको नाममा क्लब वा यस्तै युवासमूहहरुले कब्जा गर्छन् । सांस्कृतिक उत्सवहरुको आयोजनमा भव्यताको नाममा क्लबहरु वा युवा समितीहरुको उपस्थिति तराई मधेशमा प्रायः सबै शहर र गाउँहरुमा अपसंस्कृति जस्तै फैलिएको छ ।कल्बहरुले उत्सवको नाममा सरकार, व्यापारी र जनताबाट चन्दा असूल्छन् र भव्यतापूर्वक झिलीमिली उत्सवको आयोजन गर्छन् । यी आयोजनहरुमा कति चन्दा उठछ, कति खर्च हुन्छ, कति बचत हुन्छ, बचत कहाँ जान्छ, कतैबाट कुनै जानकारी सार्वजनिक गरिँदैन । अब त यस्मा गाउँपालिकाहरुपनि थपिएका छन् । दशैँको बेला प्रायः सबै गाउँहरुमा गाउँपालिका र वडाकमिटीहरुको सहभागितामा कलस यात्रा आयोजित हुने गर्छ । दशैँको बेलामा गाउँघरतिर गाडी लिएर यात्रामा हुनुहुन्छ भने टाउकामा ‘जय माता दी’ लेखिएको पट्टी बाँधेका सयौँ युवा युवती तथा प्रोढहरुको कलस यात्रा भनिने जुलूसले घन्टौँसम्म तपाँईको बाटो अवरुद्ध गर्नसक्छ । यो गाउँपिच्छे पटक पटक दोहोरिनपनि सक्छ । रोचक के छ भने शहरमा मात्र होइन, गाउँहरुमा पनि यस्ता सांस्कृतिक आयोजनहरुमा बजार र विलासी उत्पादनहरुको प्रचारको उपस्थिति रहने गर्छ ।

बजार विश्वव्यापी हो । यो अव एक्लै छैन । यस्ले आफूसंग विदेशी पूँजी, उत्पाद र पूँजीपतिपनि बोकेर आउँछ । बजारको मुख्य चासोको विषय नाफा हो । त्यसैकारण सांस्कृतिक उत्सवहरुमा बजारले पूँजी निवेशसंगै पूँजीवादी संस्कृतिपनि निवेश गरिरहेको हुन्छ । हाम्रो सांस्कृतिक उत्सवहरुको अर्थराजनैतिक चरित्र सामन्ती प्रकृतिको हो । अन्धविश्वास, जड धार्मिकता, वर्णभेद, नारीप्रतिको संकीर्ण चेतना सामन्ती अभिजात्यीय अहंकारी प्रतिष्ठा तथा किसान र श्रमजीवि समुदायमाथीको शासन, सामन्तवादको मूख्य चरित्र हो । आधुनिक राजनीतिक आन्दोलनहरुले सामन्तवादलाई राजनीतिकरुपमा पराजित गरेपनि सामाजिकस्तरमा सामन्तवादका अधिकांश चरित्रहरु जीवित नै छन् । यस्मा पूँजीवादीतत्वहरु मिसिएर एउटा नयाँ खालको सांस्कृतिक प्रदूषण जन्मिएको छ । यस सांस्कृतिक प्रदूषणले ‘ अर्थ’लाई सामाजिक प्रतिष्ठाको सर्वोच्च शीखरमा बसालीदिएको छ । धेरै धन हुने, धेरै खर्च गर्ने, आवश्यकता नभएपनि जस्ले विलासी वस्तुहरुमा धेरै खर्च गर्न सक्ने, प्रतिष्ठित हुन् । अब सांस्कृतिक उत्सवहरुमा स्थानीय श्रमबाट उत्पादित वस्तुहरुले भव्यता उत्पन्न हुँदैन । अब भव्यताको निम्ती कारखानामा उत्पादित तैयारी सजावट र झिलीमिली नै चाहिन्छ । तर यी समग्र आयोजनको उपयोगिता के ? के यस्ले कुनै समाज वा देशलाई समृद्ध र विकसित बनाउन सक्छ ? जवाफ दिन कोही तयार छैन । कसैले मतलबपनि गरेको छैन । समाजको एउटा सानो आलोचनात्मक हिस्साले गरेका आलोचनाहरु भीडमा हराए जस्तै हुन्छन् ।

तात्पर्य के हो भने यी सांस्कृतिक प्रदूषणहरुले सामाजिक चेतनालाई नै प्रदूषित गरिसकेको छ । यसैकारण यो धर्म, अन्धविश्वास तथा जड चेतनाको धन्दा निर्बाध चलिरहेको छ । बजारले आफूलाई सबैभन्दा आधुनिक भन्छ, त्यसैले उसले नाफामुखी सांस्कृतिकताको विरोधलाई समुदायको खुशीको विरोधको रुपमा परिभाषित गर्न खोज्छ तथा आलोचकहरुलाई समुदायविरोधी साबित गर्न चाहन्छ । यस सांस्कृतिक व्यापारमा बजारले उत्पादन गर्ने नाफाबाट हिस्साको आशा गरिरहेको धर्म र चतुर राजनीतिलेपनि बजारकै स्वरमा स्वर मिलाउँछ । सांस्कृतिक उत्सवहरुको यसै खर्चिलोपनाको कारण गरिब समुदायको निम्ती यी उत्सवहरु उल्लास र आनन्दभन्दा बढी दुःखदायी हुन्छन् । दशैँबारे नेपालीमा एउटा उखान छ ः ‘आयो दशैँ बजा बजाउँदै, गयो दशै दशा लगाउँदै’ । पहाडीया समुदायमा ऋण काढेर होस वा चोरेर होस, मासु च्युरा खानै पर्ने, नयाँ लुगा लाउनै पर्ने । अझ टीका लाउँदा नयाँ रुपिया दिनुपर्ने । नेपालमा बैंकहरुले पनि दशैँमा नयाँ रुपिया जारी गर्ने गर्छन् । अब यस्तोमा गरिबहरुको निम्ती दशैँ के को खुशी ? दशै त लगाउने हो । यसरी नै तराई मधेशमा छठ आदि उत्सवहरु गरिबहरुको लागी दुःख निम्ताउने गर्छ । ऋण काढेर भएपनि छठ मनाउनै पर्ने । छठ परमेसरीले बिगार गर्ने डर ! समाजले हेय दृष्टिले हेर्नेपनि डर ! यस्को कारण के होला ? भन्नु परेन आर्थिक निर्धनता तथा बजारले सिर्जेको उल्लास र खुशीको परिभाषा नै यसको कारण हो । दिक्दार त के छ भने जुन युवाहरु सांस्कृतिक उत्सवहरुमा निहित प्रदूषणहरुको विरुद्ध हुनुपर्ने तथा उत्सवहरुलाई मानवीय, आत्मीय तथा वास्तविक अर्थमा सबैको निम्ती उल्लासमय र आनन्दमय बनाउन प्रयत्नशील हुनुपर्नेमाउनिहरु नै यी सांस्कृतिक प्रदूषणका वाहक बनेका हुन्छन् । नेपाल जस्तो गरिब देशमा सांस्कृतिक आयोजनमा अर्बौँको खर्चलाई उचित ठहर गर्न सकिँदैन ।

समाजलाई अग्रगामी तथा समृद्धिको दिशामा लग्ने हो भने यी कृत्रिमताबाट बच्न तथा संकीर्ण धार्मिकता तथा पुरातनमुखी होइन, व्यापक मानवीयता र उदात्त चेतनाको विकास गर्नु आवश्यक छ । वस्तुतः हामीले हाम्रा राजनैतिक र सांस्कृतिक परिवर्तनलाई आत्मसात् गर्दै युग सापेक्ष नयाँ जनसंस्कृतिको नयाँ उत्सवहरुको विकास गराउनु आवश्यक छ । यस्ता उत्सवहरु जस्ले हामीलाई अग्रगामी, वैज्ञानिक तथा सामाजिक विकास र समृद्धिको निम्ती प्रेरित गर्न सकोस । नयाँ पुस्ता भन्नुको सार्थकतापनि यसैमा छ ।

Comment

Related News