अपडेट 
२०७९ आश्विन १२, बुधबार १०:११

धनुषाको मिथिला नगरपालिकाले नयाँ जनप्रतिनिधिहरु पाए लगत्तै करारका कर्मचारीलाई लिएर सुरु भएको विवाद अहिलेसम्म साम्य हुन सकेको छैन । करारका कर्मचारी हटाइएको विषयमा सुरु भएको विवादकै कारण नगरपालिकाको कार्यपालिका बैठक प्रभावित हुँदै आइरहेको छ ।
करारका कर्मचारी हटाइएपछि पालिकाका प्रमुख र उपप्रमुखबीच विवाद श्रृजना भएको थियो । प्रमुख तथा उपप्रमुखबीचकै विवादका कारण कार्यपालिकाको बैठक बस्न नसक्दा नगरपालिकाको सम्पूणर् काम प्रभावित भएको छ ।

बैठक नबस्दा चालु आर्थिक वर्षमा पालिकाको कुनै पनि योजना संचालन हुन सकेको छैन, नगरपालिकाका प्रशासकीय अधिकृत रचिन्द्र डंगोलले भने ‘३ महिनादेखि कुनै पनि कर्मचारीले तलब पनि पाउन सकेका छैनन् ।’ प्रमुख र उपप्रमुखको विवादका कारण यहाँका जनता त सेवा लिनबाट बञ्चित त भएकै छन्, त्यसमाथि हामी कर्मचारीहरुले काम गर्ने वातावरण समेत छैन।

यता नगर उपप्रमुख सुनितासिंह बुढाथोकीले हटाइएका करारका कर्मचारीहरुलाई पुनः नराखेसम्म बैठक संचालन हुन नदिने अडान राख्दै आइरहेकी छन् । उनको यो अडानमा नेकपा एमाले तथा नेकपा एकीकृत समाजवादीका वडाध्यक्षहरु समेत समर्थन जनाइ रहेका छन् ।
मिथिला नगरपालिका वडा नम्बर २का वडाध्यक्ष विहारी महतो र वडा नम्बर ९का वडाध्यक्ष दीपक थापाले उपप्रमुखलाई यो कुरा उचाल्न दवाब दिदै आइरहेको कांग्रेसबाट मिथिला नगरपालिका वडा नम्बर १ मा जितेका वडाध्यक्ष जोगी महतोले दाबी गरे । तर राजनीतिक आस्थालाई आधार बनाएर ती करारका कर्मचारीहरुलाई हटाइएको उपप्रमुख बुढाथोकीको भनाइ छ ।
नगर प्रमुख महेन्द्र महतोले काम गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त पैसा लिदै आइरहेको जनगुनासो आउन थालेपछि त्यस्ता करारका कर्मचारीहरुलाई मात्रै हटाइएको प्रष्ट गरे ।

त्यस्ता कर्मचारीहरुको करार अवधि कुनै पनि हालतमा नथपिने नगरप्रमुख महतोले अडान दोहराए । नगरको काम संचालन गर्नुका साथै यो समस्या समाधानका लागि गत शुक्रबार मात्रै कार्यपालिकाको बैठक डाकेका थियौँ, नगरप्रमुख महतोले भने ‘तर उपप्रमुख र एमालेका वडाध्यक्षहरुले फेरि त्यही मुद्दा उचालेपछि बैठक संचालन हुन सकेन ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करारमा कर्मचारी नियुक्त नगर्न भनेकाले आफूमाथि त्यस्ता कर्मचारीहरुको करार अवधि नबढाउने दबाब रहेको उनले बताए ।

आवश्यक नै परे सबै प्रक्रिया पूरा गरेर मात्रै खुला प्रतिस्पर्धाको आधारमा कर्मचारी नियुक्त गर्न गरेको परिपत्रकै आधारमा त्यस्तो गरिने महतोको भनाइ छ ।
बहुमतको दम्भमा उनीहरुको यही अडानका कारण पालिकाको कुनै पनि काम संचालनमा ल्याउन नसकेकोमा नगरप्रमुख महतो दुखेसो पोखे ।
प्रमुख महतो कांग्रेस र उपप्रमुख बुढाथोकी एमालेबाट निर्वाचित भएका हुन ।

कार्यपालिकामा एमालेको १०, नेकपा एकीकृत समाजवादी पार्टीको ६ र कांग्रेसको ५ जना कार्यपालिका सदस्य छन् । बाहिर एमालेलाई बिरोध गर्दै आइरहेको नेकपा एकीकृत समाजवादी पार्टीका वडाध्यक्षहरुले भने कार्यपालिकामा एमालेलाई नै साथ दिदै आइरहेका छन् ।पालिकामा २ सय २० जना कर्मचारी करारमा कार्यरत थिए । जसमध्ये ९ जनाको करार अवधि नथपिएपछि विवाद सुरु भएको थियो । अवधि नथपिएकामा इन्जिनियरदेखि कार्यालय सहायक पदसम्मका कर्मचारी छन् । गत असार मसान्तदेखि उनीहरूको करार अवधि सकिएको थियो ।

Please subscribe our official youtube channel below and support us.

Comment

Related News